१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

धान नहुँदा मिल बन्द

कमल पन्थी

बर्दिया — लक्ष्यअनुसार धान खरिद नहुँदा खाद्य संस्थानअन्तर्गत, राजापुरस्थित आधुनिक धान चामल कारकाखाना -मिल) बन्द भएको छ । चालु आर्थिक वर्षका लागि ३० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य थियो । उक्त अवधिमा ३ सय ३० क्विन्टल मात्र खरिद भएको हो । त्यसपछि कारखाना सञ्चालन नभएको हो ।

धान नहुँदा मिल बन्द

कारखानाका मेसिन चलाउन धानको आवश्यकता हुन्छ । यसपाली अपुग भएकाले मेसिन थन्किएका छन् । आवश्यकताअनुसार सञ्चालन नभएपछि इन्जन बिग्रने जोखिम बढेको छ । हरेक वर्ष कारखाना सञ्चालन गर्न ५ हजार क्विन्टल धान आवश्यकता पर्छ । सञ्चालन नभए इन्जिन बिग्रने खतर हुने कारखानाका प्रमुख अनिल श्रेष्ठले बताए । कारखाना जोखिममा पर्ने भएकाले बाहिरबाट भए पनि धान खरिद गरी सञ्चालन गर्ने तयारीमा संस्थान लागेको छ । यसका लागि केन्द्रले स्वीकृत दिनुपर्छ ।

राजापुर क्षेत्रमा बढी उत्पादन हुने मकवानपुर जातको धान खरिद नगर्दा लक्ष्य नभेटिएको हो । करिब ६ महिनाअघि खाद्य संस्थानअन्तर्गत आधुनिक धान चामल कारखानाले मोटो धान खरिद गर्न समर्थन मूल्य कायम गरेको थियो । मोटो धान खरिद भएन । त्यसपछि संस्थानले कैलालीको टीकापुरबाट धान खरिद गरेको थियो । खरिद न्यून भएकाले कारखाना बन्द भएको प्रमुख श्रेष्ठले बताए । राजापुरमा ८० प्रतिशत बढी मकवानपुर धानको उत्पादन हुने गर्छ । सरकारले मोटो धान खरिद गर्न समर्थन मूल्य कायम गरेका कारण यस्तो अवस्था आएको संस्थानका कर्मचारी बताउँछन् ।

संस्थानको लापरबाहीले धान खरिद नभएको राजापुर ३ का किसान लहानु थारूले बताए । हरेक वर्ष मकवानपुर धान खरिद गर्दे आएको संस्थानले दुई वर्ष देखि मोटो धानको समर्थन मूल्य कायम गर्दै आएको छ । उद्योग वाणिज्य संघ राजापुरका पूर्वअध्यक्ष रामकुमार वैश्यले संस्थानको हेलचेक्रयाइँले किसानले बढी उत्पादन गरिने मकवानपुर धान सस्तो मूल्यमा व्यवसायीसँग धान बेच्न बाध्य भएको आरोप लगाए ।

राजापुर क्षेत्रका किसानका धान खरिद गर्ने उद्देश्यले ०४४ मा जापान सरकारको सहयोगमा खाद्य संस्थानले आधुनिक धान चामल कारखाना निर्माण गरेको थियो । पौने २ लाख जनसंख्या भएका राजापुर क्षेत्रमा करिब १५ हजार सिँचाइ हुने खेतमा धान उत्पादन हुने गर्छ । यस वर्ष लक्ष्य पूरा गर्न संस्थानले छिमेकी जिल्ला कैलालीबाट धान खरिद गर्ने प्रयास पनि असफल भएको छ ।

करिब ३ लाख क्विन्टल क्षमता भएको उक्त कारखाना दिवंगत राजा वीरेन्द्र शाहले उद्घाटन गरेका थिए । तत्कालीन माओवादीले बम विस्फोट गराई कारखानामा क्षति पुर्‍याएका थिए । शान्ति स्थापनापछि ०६४ मा कारखाना मर्मत गरी सञ्चालनमा ल्याइएको हो ।

प्रकाशित : वैशाख २१, २०७६ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?