१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

डाँडाकाँडा घुम्दै पर्यटक

गर्मी छल्न सुपादेउराली, मालारानी मन्दिर, नरसिंहस्थान, राँगामारे, छत्रेश्वर, अर्घा र खाँची दरबारसहित चुत्राबेंसीमा सर्वसाधारणको घुइँचो
वीरेन्द्र केसी

अर्घाखाँची — अहिले घुम्ने बेला हो । जिल्लाका डाँडाकाँडामा रमाउने र शक्तिपीठ दर्शन गर्ने आन्तरिक पर्यटकको भीड लाग्न थालेको छ । तराईबाट गर्मी छल्न पहाड उक्लिने बढेका हुन् । सुपादेउराली, मालारानी मन्दिर, नरसिंहस्थान, राँगामारे, छत्रेश्वर, अर्घा र खाँची दरबारसहित चुत्राबेंसीको सिद्धेश्वर शिवालय मन्दिरमा घुँइचो लाग्छ ।

डाँडाकाँडा घुम्दै पर्यटक

सुरुमा सुपादेउरालीको दर्शन गरेपछि नरपानीमा आएर चिसोको आनन्द लिन्छन् । केही पर्यटक जिल्लाका अन्य शक्तिपीठ र डाँडाकाँडा पुग्छन् ।


नरपानीमा धेरै चहलपहल छ । अग्लो पहाड, चारैतिर जंगल र हरियाली छ । त्यहाँ केही घण्टा बस्छन् । नरपानी रिसोर्टबाटे जिल्लाको सबै भूगोल देखिन्छ । नरपानीमा चिसो हुन्छ । बुटवलबाट साढे २ घण्टामा पुगिन्छ । रूपन्देही, पोखरा, बुटवल, दाङ, कपिलवस्तु, चितवन, काठमाडाैं, नेपालगन्ज र भारतको लखनऊ, दिल्लीबाट पर्यटक आइरहेको नरपानी रिसोर्टका सञ्चालक पदम केसीले बताए ।


'पर्यटक आउँछन्, एक रात बस्छन्,' उनले भने, 'डाँडाकाँडा हेर्छन्, फोटो खिच्छन्, चिसोमा रमाउँछन् । अलि पर खाँचीकोट दरबार जान्छन्, त्यहाँबाट सदरमुकाम सन्धिखर्क हेर्छन्, तस्बिर खिच्छन् र र्फकन्छन् ।' नरपानी आएकामध्ये ७० प्रतिशत पर्यटक फर्किन्छन् । केही पाणिनि ऋषिले शान्तिका लागि तपस्या गरेको ठाउँ पाणिनि तपोभूमि जान्छन् । नरपानीबाट पूर्वपट्टी एक घण्टामा पुगिन्छ । सन्धिखर्क हुँदै अर्घा दरबार, जंगबहादुर जन्मेको मथुराबेंसी, हुर्केको बल्कोट दरबार, छत्रेश्वर मन्दिर हुँदै गुल्मी जान्छन् । केही पर्यटक अर्घा दरबार, मालारानी मन्दिर, नरसिंहस्थान हुँदै प्यूठानको स्वर्गद्वारीतिर यात्रा तय गरेर जाने केसीले बताए ।


रूपन्देहीबाट आफ्नो वंशावली खोज्दै ८० जनाको समूह मालारानीको खन पुगे । मालारानी मन्दिर दर्शन गरे । खनाल थरको उत्पत्ति खनबाट भएको पत्ता लागेपछि चिनारीका लागि भागरथी प्रतिष्ठान बनाउन लागिएको छ । घरैपिच्छे होमस्टे निर्माण गर्ने योजना रहेको प्रतिष्ठानका अध्यक्ष जनार्दन खनालले बताए ।


खन बस्ने र मालारानी लगायतका शक्तिपीठमा दर्शन गराउने र सुन्दर डाँडाकाँडा देखाउने गरी पर्यटकीय क्षेत्र बनाउने लक्ष्य उनले सुनाए । पाणिनि पुग्ने पर्यटकले खिदिमको दुर्वाश्वेर गुफा हेर्छन् । त्यसपछि पाणिनि ऋषिले शान्तिको कामना गर्दै तपस्या गरेको स्थान अवलोकन गरी पाल्पातिर जान्छन् । यहाँ कृषि उद्यमीतिर पनि पर्यटक भुल्छन् ।


पाणिनिसहित सिंगो जिल्लामा २/४ दिन पर्यटक बसाल्नको लागि लोकल खानाका परिकार खुवाउन स्थानीय उत्पादन, खसीबोका, लोकल कुखुरा र घुम्नका लागि संरचना बनाउने काम भइरहेको पाणिनि गाउँपालिका अध्यक्ष अच्युत गौतमले बताए । तपोभूमिलाई अध्ययन गर्ने थलो बनाउन गृहकार्य भइरहेको उनले बताए ।


सन्धिखर्क नगरपालिकाका मथुराबेंसीको लामपाटी दरबारमा जंगबहादुर जन्मेको लामपाटी दरबार छ । त्यहाँ हेर्न छिटफुट पर्यटक पुग्ने गरेपछि दरबार जीर्ण छ । मर्मत सुधार र पर्यटकीय संरचना बनाउन कसैको ध्यान पुगेको छैन । नरपानी रिसोर्टमा बास बसेर सन्धिखर्क आएका नवलपरासीका बाबुराम गैरे अर्घा हुँदै प्यूठानको स्वर्गद्वारीतर्फ लागे ।


पत्नी र २ सन्तानलाई लिएर आएका उनी एक साता घुम्ने उनले बताए । उद्यमी उनी वर्षमा एकपटक घुम्नुपर्ने र पहाडका जंगल, डाँडा, मठमन्दिर घुम्दा वर्षभरि मन फ्रेस हुन्छ,' उनले भने । घुमेर आएर काम गर्दा बेग्लै ऊर्जा, नयाँ सोच काम गर्न जोस र जाँगर चल्ने उनले बताए । मन मिल्ने साथीको पारिवारिक घुमाइ अविस्मरणीय नै हुन्छ । पहाडको खाना स्वादिलो, मीठो, हरियाली पाखापखेरा देख्न पाइने, रमाइलो गर्दै हाँस्दै, खेल्दै, रमाइलो गर्दै ठाउँठाउँमा तस्बिर खिच्दै फेसबुकमा पोस्ट गर्दै हिँडेका छौं,' उनले भने ।


मन्दिरले बनायो इलमी


रोजगारीमा विदेश गएका छिमेकीले सन्धिखर्क नगरपालिका ४, खाँचीकोटका कमल केसीको मन बदल्न खोजे । विदेश जाने सपनाले ८ वर्षअघि ११ कक्षा पढ्दापढ्दै राहदानी बनाए । पढाइ हापे । 'यहाँजति दुःख विदेशमा गरे धेरै पैसा कमाइ हुन्छ भनेर सुझाएपछि राहदानी बनाएँ,' उनले भने, 'नरनारायण बाबाले सुपादेउरालीमा आधुनिक मन्दिर बनाएपछि भने मेरो सोचै बदलियो ।'


खाँचीकोट नजिकै सुपादेउरालीमा ५ वर्षअघि आधुनिक मन्दिर बनेपछि तीर्थालुको संख्या तेब्बर वृद्धि भयो । मन्दिरमा दर्शन परेपछि श्रद्धालु नरपानी आएर बस्ने र रमाइलो गर्न थाले । कमलले डेढ लाख रुपैयाँ हालेर क्यामरा किने । मन्दिर छेउमा घुम्ती राखे । भक्तजनको तस्बिर खिच्ने र सुपादेउराली मन्दिरको चिनो लेखेर फोटो पि्रन्ट गरेर दिएपछि आम्दानी हात पर्‍यो ।


भिसा रद्द गरी ३ वर्षदेखि फोटो स्टुडियो चलाएका उनले दिनमा १ हजार रुपैयाँभन्दा बढी कमाइ गरिरहेको बताए । उनीजस्तै नौ वटा स्टुडियोमा ३० जना युवाले सुपादेउरालीमा फोटो खिचेरै महिनाको ३० देखि ३५ हजार रुपैयाँ सजिलै आम्दानी गर्छन् । बर्सेनि यहाँ धार्मिक पर्यटक बढेका छन् । आएका पर्यटकमध्ये ७० प्रतिशतले तस्बिर खिचाएर मन्दिरको चिनो लैजाने गरेको केसीले बताए ।


मन्दिरमा धार्मिक आस्था राख्ने तीर्थालु स्वदेशका टाढाटाढाका जिल्ला र भारतबाट समेत उत्तिकै आउँछन् । पर्यटकीय संरचना बनाउन सके राम्रो सम्भावना छ । केसीकै छिमेकी सीता भट्टराई करेला, गिठा, तरुल, साग, टिमुर बोरामा ल्याएर नरपानीमा बस्छिन् । नरपानी घुम्न आएका पर्यटकले महँगोमा किन्छन् । 'अहिले बारीमा मुला, साग, आलु जे लगाए पनि नबिक्ला भन्ने छैन,' उनले भनिन्, 'आठ महिनामा ९० हजार रुपैयाँ कमाइ भयो । अझ धेरै तरकारी सोच छ ।'


थलाचौरका विन्दुकुमार गुरुङ ४ वर्ष कतार बसेर फर्किएपछि सुपादेउराली मन्दिर छेउमा क्यामरा भिरेर फोटो खिचिरहेका छन् । ५ जनाको सेयर लगानीमा गुरुङ फोटो स्टुडियो सञ्चालित छ । ५ मध्ये ४ जना विदेशबाट फर्किएका र एक महिला मिलेर स्टुडियो खोलेका हुन् । ३ वर्षदेखि गुरुङ यतै भुलेका छन् । मन्दिर स्पष्ट देखिने गरी तस्बिर खिचेर बिक्री गर्छन् । केहीले नरपानीको नर्तनान्चल पर्वतको र पहाडको तस्बिर खिच्न भन्छन् । केहीले लाहुरे टाँसिएको स्थानको फोटो खिचाउँछन् ।


पहिला कसैलाई फोटो खिच्न आउँदैनथ्यो । राम्रो क्यामराबाट तस्बिर खिच्ने, बनाउने र पि्रन्ट गर्ने तालिम गरेपछि उनीहरू व्यवसायी बनेका हुन् । बिहानदेखि दिउँसो १ बजेसम्म फोटो खिच्ने र त्यसपछि घरमा गएर खेतीपाती गर्छन् । एक जनाले दिनमा ३० देखि ४० वटासम्म फोटो खिचेर बिक्री गर्छन् । त्यसबाट घरखर्च चलाउन, छोराछोरी पढाउन सम्भव भएको उनीहरूको भनाइ छ ।


शीतगंगा नगरपालिका २, सीतापुरका उजिता घिमिरेको व्यवसाय फरक छ । उनी घरबाट फूल ल्याएर बिक्री गर्छिन् । दुई वर्षदेखि फूल, माला नरिवलसहित पूजाका सामग्री बिक्री गर्छिन् । दिनमा २/३ सयदेखि हजार रुपैयाँसम्म आम्दानी हुन्छ । आधुनिक मन्दिर भएपछि भक्तजन बढे । सन्धिखर्क गोरुसिंगे सडक छेउमा मन्दिर भएकाले गाडीमा आवतजावत गर्ने जोकोहीले पनि फूलपाती र पूजा सामग्री लिएर मन्दिरमा जान्छन् । 'म मुटुको बिरामी छु,' उनले भनिन्, 'फूल बेचेर घरखर्च र मलाई औषधि गर्न पुगेकै छ ।'


सात महिनाअघि तिलक घिमिरे भारतमा नोकरी गर्थे । भक्तजनलाई घरबाटै फूल ल्याएर बिक्री गरेबापत महिनामा १५ देखि २० हजार रुपैयाँसम्म आम्दानी भएको छ । सुपादेउराली मन्दिरमा फूल बेच्न थालेपछि उनले भारत जाने सोच छोडिदिए । 'घरमा फूल खेती गर्छु,' उनले भने, 'मन्दिरमा भक्तजनसँगै व्यापार पनि बढेको छ ।'


नरपानीकी धनमाया केसीले दिउँसो १ बजेसम्म फूलसहित पूजा सामग्री बेच्छिन् । त्यसपछि घरमा गएर काम गर्छिन् । 'फूल बेचेको पैसाले घरखर्च चलेको छ,' उनले भनिन्, 'श्रीमान्ले मिस्त्री काम गरेर कमाएको पैसा बैंक बचत भएको छ ।'


सुपादेउराली मन्दिर व्यवस्थापन समितिका सचिव यादवप्रसाद घिमिरेले मन्दिरकै कारण दुई सयभन्दा बढीले विभिन्न व्यवसाय गरेर राम्रो आम्दानी गरिरहेको बताए । दैनिक पाँच सयभन्दा बढी भक्तजनले मन्दिरमा पूजापाठ र दर्शन गर्छन् । तीर्थालु बढेपछि पर्यटकीय संरचना बनाउन गुरुयोजनामा लागिएको उनले बताए ।


मन्दिरमा चढाएको बलि नरपानीको पिकनिक स्पटमा आएर प्रसाद ग्रहण हुन्छ । 'सुपादेउरालीदेखि नरपानीसम्म पर्यटकीय संरचना बनाउन सके आएका पर्यटकलाई बास बसाल्न सकिन्छ,' उनले भने, 'त्यसपछि यस क्षेत्रका स्थानीय बेरोजगार बस्नुपर्दैन ।'

प्रकाशित : वैशाख २१, २०७६ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?