पूर्वमन्त्री दहित बने भिक्षु

मनोज पौडेल

लुम्बिनी — अन्य दिनभन्दा फरक थिए । कपाल काटे । दारी खौरिए । थाई भिक्षुबाट चिवर (पहेंलो कपडा) र भिक्षा पात्र ग्रहण गरे । कोठामा गएर बाहिर निस्किँदा उनी पहेंलो वस्त्रमा थिए । गृहस्थ जीवन त्यागेर भिक्षु बने । उनी थिए– पूर्व भूमिसुधार तथा व्यवस्थामन्त्री गोपाल दहित ।

पूर्वमन्त्री दहित बने भिक्षु

उनीजस्तै ६० थारू समुदायका व्यक्ति सामूहिक रूपमा प्रवज्या लिएर भिक्षु बनेका छन् । प्रवज्या भनेको भिक्षु जीवनमा प्रवेश गर्नु हो ।


उनीहरू शनिबारबाट प्रवज्या लिइरहेका छन् । थारू बौद्ध समाजद्वारा लुम्बिनीस्थित महाबोधि सोसाइटी अफ इन्डियाको सभाहलमा तीनदिने कार्यक्रम आयोजना गरिएको छ । शान्तिका अग्रदूत गौतम बुद्धको अनुयायी बन्न कठिन परिश्रम र संघर्षबाट मात्र हुन सकिन्छ । त्यसैको अनुभूति दिन उनीहरूलाई पारिवारिक मायामोहबाट अलग बनाएर दिक्षा धर्मोपदेश दिइँदै छ ।


नवप्रवेशी भिक्षुलाई ७५ नियम र १० शील सिकाइन्छ । राम्ररी व्यवहारमा उतारेर वुद्ध शासनलाई सहयोग गरे दुई–चार महिनामै कार्यक्रम गरी पूर्ण भिक्षु बनाउन सकिने भिक्षु सुमंगलोले बताए । भिक्षु बनाउने कार्यक्रम अखिल नेपाल भिक्षु महासंघको स्वीकृति लिएर जहिले पनि गर्न सकिन्छ ।


उनीहरूलाई राजकीय बुद्ध विहारका प्रमुख भिक्षु सागर धम्मलले शील प्रदान गरेका थिए । नयाँ भिक्षुलाई बुद्ध जीवनी, लुम्बिनी कपिलवस्तुको इतिहास र बौद्ध शिक्षाबारे ज्ञान दिइनेछ । त्यस्तै, बुद्धले गरेको दुष्कर चर्या, भिक्षु जीवन, विश्व बन्धुत्ब र भाइचारालगायतका विषयमा भिक्षु सुमंगलोले ज्ञान दिइने बताइएको छ । ‘सधैं नेता कार्यकर्ताबाट घेरिन्थेँ,’ ५२ वर्षीय पूर्वमन्त्री दहितले भने, ‘गजबको शान्तिको पुण्य सञ्चय गरें ।’


मनमा राम्रो कुरा र विचारले प्रश्रय पाएको उनले बताए । यसले समाज, परिवार र मुलुक हितका लागि प्रयोग गर्ने उनको प्रण छ । दहितले बुद्ध र शान्तिका विषयमा विद्यावारिधि गरेका छन् । दैलेखको चामुण्डा स्वास्थ्य चौकीका अहेब वृजेन्द्र चौधरीले पनि गजबको शान्ति र सद्भावको अनुभूति भएको बताए । ‘मन चंगा भएको छ,’ उनले भने, ‘रिसराग, द्वेष र घमण्ड हराएर गयो ।’ भिक्षु जीवनमा प्रवेशसँगै उनीहरूले बुद्ध शिक्षा, शील र चिवर लिएर भिक्षु जीवन धारण गरे । लुम्बिनीस्थित रोयल थाई विहारका प्रमुख भिक्षु फ्रा बोधिविडले सबै श्रामणेरलाई चिवर र भिक्षा पात्र प्रदान गरे । लुम्बिनीको पवित्रता र महिमा उजागर गरी शान्ति र भ्रातृत्वको सन्देश फैलाउन कार्यक्रम गरिएको थाई भिक्षु म्याक्सले बताए ।


बुद्ध धर्मअनुसार शाक्यमुनिहरू एक दिनका लागि भए पनि भिक्षु बन्नैपर्छ भन्ने मान्यता छ । थारू पनि शाक्यमुनिको सन्तान भएकाले आफूहरू प्रवज्जित भएको थारू बौद्ध समाज रूपन्देहीका अध्यक्ष गोकुल थारूले बताए । प्रवज्या लिएपछि कतिपय भिक्षु नै हुन्छन् । कतिपय फेरि गृहस्थी जीवनमै फर्कन्छन् । थारू समुदायले स्थानीय सहयोग उठाएर कार्यक्रम गरेका थिए । पूर्वदेखि पश्चिमका आठ जिल्लाका थारू अगुवा प्रवज्जित भएका हुन् ।

प्रकाशित : वैशाख २२, २०७६ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?