हजुरआमाहरूको मुख कसले हेर्ने ?

आफ्नै सन्तान टाढिएका बेला अरु नै कोही सन्तान बनेर आएपछि हजुरआमाका गला अवरूद्ध भए, आँखा रसाए अनि भएभरको आशीर्वाद दिए
दुर्गालाल केसी

दाङ — मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन । शनिबार बिहानैदेखि आमाको मुख हेर्न छोराछोरीको विभिन्न तयारी देखिन्थ्यो । कोही मिठाई, फलफूल किन्दै गरेका, कोही आमाको घरतिर जान हतारहतार दौडधुप गरिरहेका ।

हजुरआमाहरूको मुख कसले हेर्ने ?

धेरैथरी यस्ता मानिसको भीडमा केही बालबालिका, युवा र वयस्कहरू भने वृद्धाश्रमतिर दौडिरहेका थिए । घरमा छोराछोरीले हेला र उपेक्षा गरी वृद्धाश्रममा बस्न बाध्य वृद्धवृद्धाको अनुहारमा खुसी थप्न उनीहरू घोराही उपमहानगरपालिका १६, तेरौटेस्थित वृद्धाश्रम पुगेका थिए ।

कोहीले फलफूल दिए, कोहीले कपडा र दक्षिणा । सबैले पालैपालो वृद्धाश्रमका हजुरआमाहरूको हातमा ढोगे अनि आशीर्वाद मागे । आफ्नै सन्तान टाढिएका बेला अरू नै कोही सन्तान बनेर आएपछि वृद्धा हजुरआमाका गला अवरुद्ध भए, आँखा रसाए अनि भएभरको आशीर्वाद दिए । ‘यहाँ आशीर्वाद लिने आफ्नो को छ र ? हामीलाई आमा मानेर आशीर्वाद थाप्न आउनेहरूको भलो होस्, सोचेको सबै पूरा होस्,’ पश्चिम रुकुमको नुवाकोट चौताराकी ७६ वर्षीया लली चन्दले भावुक हुँदै भनिन्, ‘आफ्ना सन्तान पराइ भए, बाटो हिँडनेहरू आफ्ना भए । कर्ममा लेखेको भोग्नुपर्ने रहेछ ।’

कतिपय आफ्ना आमा नभएकाले वृद्धाश्रमका आमाहरूको अनुहार हेर्न पुगेका थिए भने कतिपय असहाय हजुरआमाहरूको मुख हेर्न भनेरै पुगेका थिए । ‘प्रायः आमाहरूको मुख हेरिरहेका हुन्छन् तर यी वृद्धाश्रममा बसेका हजुरआमाहरूको मुख कसले हेर्ने ?’ घोराही उपमहानगरपालिका १४ स्थित सर्वोदय बाल क्लबका अध्यक्ष चन्द्रप्रकाश नेपालीले भने, ‘हामीले घरपरिवारको माया र स्याहार पाउन नसकेका हजुरआमाहरूको मुख हेरेर आशीर्वाद मागेका छौं । अरू हजुरआमाहरूलाई यस्तो नहोस् भनेर कामना गरेका छौं ।’

जग्गा बेचेर सन्तान पढाएका आमाहरू बुढेसकालमा घरमा बस्न नपाएको सुन्दा दुःख लागेको बाल क्लबका सल्लाहकार नवीन श्रेष्ठ बताउँछन् । ‘सानोमा सन्तानले नखाएकामा रुने आमाहरू अहिले हजुरआमा हुँदा आफैं खान नपाउने हुनुभएको छ,’ उनले भने, ‘यी असहाय हजुरआमाहरूको मुख हेरेर हामीले मातातीर्थ औंसी मनाएका छौं । दुःखी अनुहारमा केही खुसी देख्ने प्रयास गरेका छौं ।’

घोराही १४ का वडाध्यक्ष शक्तिराम डाँगीले पनि वृद्धाश्रम पुगेर आशीर्वाद लिए । एक्लै निराश बनेका हजुरआमाहरूलाई सम्झाइबुझाइ गरे । केही समस्या भए समाधानका लागि प्रयास गर्ने आश्वासन दिए । ‘समाज निकै स्वार्थी र विवेकहीन भएको छ । बुढेसकालमा बाआमालाई वृद्धाश्रममा पठाएको छ,’ उनले भने, ‘यो निकै लाजमर्दो कुरा हो । हरेक घरपरिवारमा ज्येष्ठ नागरिकको सम्मान हुनुपर्छ ।’ वृद्धाश्रममा अहिले १७ वृद्धवृद्धा रहेको ज्येष्ठ नागरिक सरोकार केन्द्रका अध्यक्ष भूपाल गिरीले बताए ।

‘विभिन्न ठाउँबाट यहाँ आउनुभएको छ । एक ठाउँमा दुःखसुख साटन सजिलो भएको छ तर सन्तान कोही पनि आउँदैनन्,’ उनले भने, ‘चाडपर्वमा उहाँहरू साह्रै चित्त दुखाउनुहुन्छ । यस्तो बेला वृद्धवृद्धा सम्झेर आउने मानिसले रमाइलो गरिदिने गरेका छन् । यसले हौसला दिन्छ ।’ हरेक सन्तानलाई कर्तव्य सिकाउन जरुरी रहेको उनले बताए । ‘सन्तानले बाआमाप्रतिको कर्तव्य भुल्दै गएका छन्,’ उनले भने, ‘समाज सभ्य बनाउन घरमै बाआमाको सम्मान हुनुपर्छ ।’

प्रकाशित : वैशाख २२, २०७६ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?