२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

भ्रमण वर्षमा रोड सो

माधव ढुंगाना

भैरहवा — लुम्बिनी भ्रमण वर्षको सफलताका लागि सिद्धार्थ होटल एसोसिएसनले आइतबारदेखि सडक प्रदर्शनी (रोड सो) कार्यक्रम सुरु गरेको छ  । सातवटै प्रदेश र भारतको प्रमुख बौद्ध पर्यटकीय स्थल सारनाथमा प्रचार कार्यक्रम गरिनेछन्  ।

सिद्धार्थ बसपार्कबाट त्यसको सुरुआत गरिएको छो । प्रदेश पर्यटन मन्त्री लीला गिरी र पर्यटन सचिव धनन्जय सापकोटाले कार्यक्रम उद्घाटन गरे ।


बुद्ध जयन्तीका दिन घोषणा हुने भ्रमण वर्षको प्रचारका लागि रोड सो गर्न होटल एसोसिएसनको नेतृत्वमा विभिन्न निकायका प्रतिनिधि खटिएका छन् । ३० जनाको समूह यहाँबाट मुलुकका विभिन्न स्थानका लागि गएको छ ।


रोड सोका संयोजक रवीन्द्र घिमिरेले आइतबार बिहान बुटवलमा स्थानीय संघसंस्थाको सहभागितामा सडक प्रदर्शनी गरिएको बताए । उनका अनुसार समूहले पाल्पा, स्याङजा, पोखरा, दमौली र काठमाडौंमा स्थानीय पर्यटन व्यवसायी, विभिन्न सामाजिक संघसंस्था, स्थानीय जनप्रतिनिधि, प्रादेशिक मन्त्रीलगायतको सहभागितामा लुम्बिनीको पर्यटन फ्रवर्द्धनात्मक र अन्तरक्रिया कार्यत्रम
समेत गर्नेछ ।


बाजागाजाका साथमा बुद्धको प्रतिमा र मायादेवी मन्दिरको ठूलो आकृतिलाई गाडीमा सजाएर प्रदर्शन गराइएको छ । बुद्धमय मांगलिक संगीतको साथमा र्‍याली निकाल्ने गरिएको छ । दोस्रो चरणको कार्यक्रमअन्तर्गत नारायणघाट, हेटौंडा, वीरगन्ज, जनकपुर, इटहरी हुँदै पूर्व मेचीसम्म प्रचारका कार्यक्रम गरिनेछन् । तेस्रो चरणमा दाङ, नेपालगन्ज, महेन्द्रनगर र सुर्खेतमा कार्यक्रम हुनेछन् । चौथो चरणमा भारतको कुशीनगर, बनारस र सारनाथमा सडक प्रदर्शनी गरिने लुम्बिनी भ्रमण वर्ष मूल आयोजक समिति सदस्यसमेत रहेका होटल एसोसिएसन नेपालका केन्द्रीय सदस्य चन्द्रप्रकाश श्रेष्ठले बताए ।

प्रसूति उत्सव
लुम्बिनी भ्रमण वर्षकै सन्दर्भमा मायादेवी प्रसूति उत्सव मनाइने भएको छ । बुद्ध जयन्तीको दोस्रो दिन उत्सव आयोजना गरिएको हो । गर्भवती अवस्थामा मायादेवी आफ्नो कपिलवस्तुस्थित तिलौराकोट दरबारबाट माइती देवदह जाने क्रममा लुम्बिनी पुग्दा सिद्धार्थ गौतम (बुद्धको बाल्यकालको नाम) लाई जन्म दिएकी थिइन् ।

दुई दशकपछि सन्तानलाभ भएको खबरले राजा शुद्धोधनले हर्षोल्लासका साथ मायादेवी र नवजात सिद्धार्थ गौतमलाई अबिरजात्रा गर्दै तिलौराकोट दरबार ल्याएका थिए ।

त्यसबेला मायादेवीले प्रयोग गरेको बाटोलाई पछ्याउँदै प्रसूति मार्गका रूपमा प्रसूति उत्सव मनाउने तयारी गरिएको उत्सवका संयोजक सन्जय बजिमयले बताए । उनका अनुसार लुम्बिनी मायादेवी मन्दिर हुँदै पडेरिया, बिजुवा, सिसनिया, दोहनी, अरोराकोट, निग्लिहवा भएर कपिलवस्तुको तिलौराकोट जाने गरी प्रसूति मार्ग प्रस्ताव गरिएको छ ।

प्रकाशित : वैशाख २३, २०७६ १२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?