कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कृत्रिम खुट्टाको सहयोगमा सगरमाथा चढ्ने तयारी

दुर्गालाल केसी

दाङ — लडाइँमा दुवै खुट्टा गुमाएका पूर्वबेलायती गोर्खा सैनिक हरि बुढामगर सगरमाथा चढ्ने तयारीमा छन्  । रोल्पाको थबाङ–३, मिरुलका बुढाले सन् २०१० अप्रिल १७ तारिखमा अफगानिस्तानमा एम्बुसमा परी दुवै खुट्टा गुमाएका थिए  ।

कृत्रिम खुट्टाको सहयोगमा सगरमाथा चढ्ने तयारी

२५ जनाको सैनिक टोलीमध्ये उनी १० नम्बरमा थिए । बाटोमा हिंड्दै गर्दा एम्बुस पडकियो । उनी मात्रै घाइते भए । अन्य कुनै पनि सैनिकलाई केही भएन । एक्कासि जीवन खुट्टाविहीन भएपछि सुरुमा उनी निराश भए ।

साथीभाइ, आफन्त र अन्य मानिसले उनलाई हेर्ने दृष्टिकोण फरक भएको पाए । अपांगता भएकामा कमजोर देखेजस्तो लाग्यो । त्यसपछि उनले केही महत्त्वपूर्ण काम गरेर अपांगताप्रतिको दृष्टिकोण बदल्ने योजना बनाए । ‘एक्कासि विस्फोट भयो । त्यससँगै मेरो जीवन पनि बदलियो । दुवै खुट्टा गुमे । घुँडाभन्दा माथिबाट नै खुट्टा काटियो,’ उनले भने, ‘युद्धमा म मर्न सक्छु भन्ने थियो तर यसरी खुट्टाविहीन हुन्छु भन्ने सोचेको थिइनँ ।’

एक दशक बेलायतका लागि युद्धमा योगदान गरिसकेका बुढाले जीवनलाई समय अनुसार अनुकूलन गर्न थाले । ‘जीवन भनेकै अनुकूलन गर्नु रहेछ । जस्तो परिस्थिति आउँछ, त्यही अनुसार आफूलाई बदल्दै जाने,’ उनले भने, ‘सुरुमा निराश भए पनि बिस्तारै आफूलाई आफ्नो अवस्था अनुसार बदल्दै गएँ । आफूसँगको सामर्थ्य चिन्न थालें ।’

पहिले लडेर नाम राखेको गोर्खालीको वीरताको गाथालाई अहिले सगरमाथा चढेर फेरि चम्काउने रहर जागेको उनले बताए । ‘गोर्खाली साँच्चिकै वीर छन् भन्ने देखाउन चाहन्छु । विश्वभर यो सन्देश दिन चाहन्छु,’ उनले भने, ‘घुँडाभन्दा माथिबाट दुवै खुट्टा नभएको मानिसले सगरमाथा चढ्न थालेको यो पहिलो घटना हो । यसलाई सफल पारेरै छोडछु ।’ अहिले उनको मुख्य ध्यान नै सगरमाथा आरोहणतिर छ । सन् २०२० मा सगरमाथाको चुचुरोमा पुग्ने उनको लक्ष्य छ । त्यसका लागि अहिले उनी विभिन्न तालिममा सक्रिय छन् ।

केही वर्षअघि नै सगरमाथा चढ्ने तयारी गरे पनि सरकारले दुवै खुट्टा वा आँखा नभएका मानिसले हिमाल चढ्न नपाउने निर्णय गरेपछि उनी पछि हटनुपर्‍यो । पछि सर्वोच्च अदालतको आदेशबाट सरकारको निर्णय कार्यान्वयनमा नआएपछि मात्रै उनले सगरमाथा आरोहणको तयारी थालेका हुन् ।

‘अपांगतालाई कमजोर नै ठान्ने हाम्रो मानसिकता छ । हामीले गर्न सक्ने काममा पनि रोक लगाइन्छ,’ उनले भने, ‘हामी असम्भव लाग्ने काम गरेर देखाउन चाहन्छौं ।’

उनले यसअघि थोरङला र जङलाजस्ता हिमालय क्षेत्र पास गर्नुका साथै चोलु हिमाल आरोहण गरिसकेका छन् । कृत्रिम खुट्टाको समस्या भएपछि उनले एक साथीको खुट्टा मागेर काम चलाएका थिए ।

अहिले उनले लगाउने एक कृत्रिम खुट्टाको मूल्य ६० हजार पाउन्ड पर्छ । उक्त खुट्टा उनले सहयोग स्वरूप पाएका हुन् । हिमाल चढ्नका लागि पनि विभिन्न क्षेत्रबाट सहयोग मिलेको छ । सबैको सहयोग पाएपछि उनी निकै हौसिएका छन् ।

उनी अधिकांश समय बेलायतमै बस्छन् । श्रीमती, दुई छोरा र एक छोरीका साथ बेलायतमै विभिन्न व्यवसाय गर्छन् । आमाबुबा रोल्पामै छन् । ०५५ सालमा गाउँ छोडेपछि उनी दुई वर्षअघि मात्रै रोल्पा फर्केका थिए । उनले प्रावि तहसम्म पढेको हिमालय फूलबारी प्राथमिक विद्यालय अहिले माध्यमिक बनेको छ ।

विद्यालयको भौतिक अवस्था सन्तोषजनक नभएपछि उनले कोष बनाएर केही योगदान गर्ने योजना बनाएका छन् । दाङको गोर्खा ग्रुपमा पनि उनी सदस्य छन् । गोर्खाले जिल्लामा शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गरिरहेको छ । अब कृषिलगायतका अन्य क्षेत्रमा पनि काम गर्ने योजना बनाइरहेको छ ।

सगरमाथा चढेर फेरि बेलायत फर्के पनि उनी नेपालमै आएर केही गर्न चाहन्छन् । ‘नेपालकै माटोमा मर्न मन छ । नेपालको माटोले मलाई हुर्कायो, मलाई वीर गोर्खाली भनेर चिनायो,’ उनले भने, ‘जवानीमा बेलायतका लागि रगत बगाइयो । अब बाँकी जीवनमा नेपालका लागि केही गर्न चाहन्छु ।’

प्रकाशित : वैशाख २३, २०७६ १२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?