२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

३७ पुगे गैंडा

२०११ देखि गैंडाको संख्यामा सुधार देखिएको छ । त्यति बेला गैंडाको संख्या २४ थियो । 
ठाकुरसिंह थारु

बर्दिया — एक दशकयता गैंडा चोरी सिकार शून्यमा झरेपछि गैडाको संख्या बढेको छ । निकुन्जका मध्यवर्ती क्षेत्रका स्थानीयले समेत संरक्षणमा सहयोग गरेपछि दुर्लभ वन्यजन्तु गैंडाको संख्या थपिएको हो । 

३७ पुगे गैंडा

एक दशकयता गैंडा बढेर ३७ पुगेका छन् । सन् २००८ मा एकाएक घटेर २२ मा थियो । बबई उपत्यको परेवा ओडारमा छाडिएका डेढ दर्जन गैंडा चोरी सिकारीबाट मारिएपछि एकाएक संख्या घटेको थियो । अहिले परेवा ओडारमा पाँच गैंडा छन् । एक गैंडा आफ्नै कालगतिले मर्‍यो । उक्त क्षेत्रमा चितवन निकुन्जबाट स्थानान्तरण गरिएको हो ।

सन् २०१७ मा गरिएको गणनामा संख्या बढेको देखिएको थियो । प्रकृति संरक्षण कोषले गैंडाको संख्या बढ्ने क्रममा रहेको जनाएको छ । नयाँ गणनाको काम गर्न बाँकी छ । ‘पहिलेभन्दा गैंडाको संख्या सुधारोन्मुख भएको पाइएको छ । चोरी सिकारी नियन्त्रणपछि संख्या बढेको हो,’ राष्ट्रिय प्राकृतिक संरक्षण कोष कार्यक्रमका सहायक संरक्षण अधिकृत लक्ष्मीराम जोशीले भने, ‘सशस्त्र द्वन्द्वकालमा बढी गैंडा हराएका थिए ।’

सन् १९८६ मा चितवनबाट बर्दिया निकुन्जमा गैंडा हस्तान्तरण गरिएको थियो । सन् २००० मा गैंडाको संख्या ६३ पुग्यो । सन् २००५ मा बढेर ६७ पुग्यो । त्यसको दुई वर्षपछि हात्तै घटयो । सन् २००७ मा ३१ मा झरेको थियो । त्यसयता सन् २००८ मा अझै घटेर २२ सीमित भयो । तर, सन् २०११ देखि गैंडाको संख्यामा सुधार देखिएको छ । उक्त समयमा गैंडाको संख्या २४ थियो । सन् २०१५ मा २९ र हाल ३७ पुगेको हो ।

बर्दिया राष्ट्रिय निकुन्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी अशोक भण्डारीले एक दशकयता गैंडाको चोरी सिकारी शून्यमा झरेको बताए । ‘एक दशकअघि चोरी सिकारीका घटना बढी हुन्थे । हाल भने शून्य छ,’ उनले भने, ‘यसले गैंडा संरक्षणमा सहयोग पुगेको छ ।’

निकुन्ज सुरक्षार्थ नेपाली सेना परिचालित छ । तर, मध्यवर्ती क्षेत्रका किसानको बालीनाली नष्ट गरेको भन्दै वन्यजन्तु र मानव द्वन्द्व बढेका कारण संरक्षणमा चुनौती थपिएको थियो । पछिल्लो समय स्थानीयले भने वन्यजन्तु संरक्षणमा जोड दिंदै आएका छन् ।

चोरी सिकारी नियन्त्रणका लागि स्थानीयले समूह बनाएका छन् । बाल क्लबहरू परिचालित छन् ।

प्रकाशित : वैशाख २४, २०७६ १०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?