३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

विद्यालयमा भूकम्प मापन यन्त्र

पाल्पा — गुल्मी र पाल्पाका विद्यालयमा भूकम्प मापन यन्त्र जडान गरिएका छन् । गुल्मीको रेसुंगा नगरपालिका–८ स्थित सिद्धबाबा मावि र तानसेन नगरपालिका–३ स्थित पद्म पब्लिक माविमा भूकम्प मापन यन्त्र शनिबार जडान गरिएको हो । गुल्मी र पाल्पाका एक/एक विद्यालयमा यस्तो यन्त्र जडान भएको आयोजक संस्थाले जनाएको छ । 

मुलुकका विभिन्न २३ विद्यालयमा यस्तो यन्त्र जडान गर्ने अभियान छ । स्विट्जरल्यान्डको लुजान विश्वविद्यालयमा नेपालमा भूकम्पको जोखिम विषयमा विद्यावारिधि गरिरहेका शिव सुवेदीले यन्त्र जडान गर्न सहजीकरण गरेका हुन् । ‘यसबाट भूकम्पका सम्बन्धमा जानकारी हुनेछ,’ उनले भने, ‘जसले गर्दा सबैले फाइदा पाउन सकिन्छ ।’


भूकम्प मापन यन्त्रले नेपालदेखि विदेशसम्मका एक म्याग्निच्युडभन्दा माथिका सबै भूकम्प मापन गर्छ । मापन गरेर त्यसको विवरणसमेत सुरक्षित राख्ने उनले बताए । तानसेनको पद्म पब्लिक विद्यालयमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वगनासकाली गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले यही विद्यालयलाई छनोट गरेकामा धन्यवाद दिए । उनले यस विद्यालयमा राखिएको यन्त्रले सबैलाई फाइदा पुग्नेसमेत बताए । ‘यसले यस विद्यालयलाई मात्र नभएर सबैलाई सूचना दिनेछ,’ उनले भने, ‘नेपाल भूकम्पीय जोखिममा रहेको भन्ने समाचार आइरहेका बेला यस यन्त्रबाट धेरै जानकारी पाउन सक्ने अवस्था छ ।’


प्रधानाध्यापक नारायणप्रसाद शर्माले विद्यालयले मात्र फाइदा नलिाई यसबाट धेरैलाई सूचना दिन सकिने बताए । गुल्मीको सिद्धबाबा माध्यमिक विद्यालय भूकम्पक मापन गर्ने जिल्लाकै पहिलो विद्यालय बनेको छ । रेसुंगा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले भूकम्पक मापन गर्ने यन्क्रको शुत्रबार उद्घाटन गरे । यो विद्यालय आफैंमा नमुना विद्यालय भएको उनले बताए । त्यसमा पनि यस यो जडान गरेर आफूलाई अझ अगाडि उभ्याउन सफल भएको उनले बताए ।


‘विद्यालयले प्राविधिक शिक्षामा विशेष जोड दिएको छ,’ उनले भने, ‘यो यन्त्र पनि प्राविधिक कुरा भएकाले यसको पनि जानकारी लिन जरुरी छ ।’ उपकरणले सिद्धबाबा विद्यालयलाई मात्रै नभएर यस क्षेत्रकै भूकम्पको अवस्था, अध्ययन र जोखिमका विषयमा सबैले फाइदा पाउने विद्यालयका प्रधानाध्यापक डोरविक्रम श्रीसले बताए । युनिभर्सिटी अफ लोजानले उपकरणको विषयमा विद्यालयका तीन जना शिक्षकलाई पोखरामा तालिम दिइसकेको छ ।


‘बिस्तारै सबै विद्यार्थीलाई यस विषयमा जानकारी गराउने योजना रहेको छ,’ उनले भने । नगरपालिकाका अन्य जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, विद्यार्थीलगायतलाई भूकम्पक मापन गर्ने यन्त्रको प्रयोग र यसको महत्त्वका विषयमा जानकारी गराइएको छ ।

प्रकाशित : वैशाख २४, २०७६ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?