कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चिटिक्क पार्दै कक्षा

मधु शाही

बाँके — केही विद्यार्थी कक्षाबाहिर थिए त, केही भित्रै । कसैले स्कुल पोसाक लगाएका छैनन् । अंग्रेजी विषय पढ्नु पर्ने थियो । घन्टी खाली भएपछि कक्षा ४ की सवाना दर्जीले कुचो समाइन् । कक्षा कोठामा छरिएको फोहोर र च्यातिएका कागजका टुक्रा बढार्न थालिन् । उनको काममा अरु साथीले डस्बिन समाउँदै फोहोर जम्मा गर्न साथ दिए । 

चिटिक्क पार्दै कक्षा

नेपालगन्ज उपमहानगरपालिका–१५, जमुनाहस्थित हनुमान आधारभूत विद्यालयमा अध्ययनरत बालबालिका स्कुलमा कुनै शिक्षक आएनन् भने खाली बस्दैनन् । उनीहरू केही न केही सिर्जनामा लागेका हुन्छन् । बुधबार उनीहरूका दुईवटा विषय खाली भयो ।


अंग्रेजी विषय पढाउने हेडमास्टरको छोरीको बिहेमा बिदामा बसे भने अर्का सामाजिक विषय पढाउने शिक्षकको दरबन्दी खाली छ । खाली समयमा यहाँका विद्यार्थी भुल्ने तरिका खोज्छन् । सवाना कक्षामा क्याप्टेन पनि हुन् । पढाइसँगै कक्षाका साथीलाई व्यवस्थित र अनुशासित राख्नु उनको जिम्मेवारी हो । स्कुलमा शिक्षक नआउँदा उनी रचनात्मक गतिविधिमा संलग्न हुन्छिन् । पछिल्ला केही दिनयता उनले एउटा नयाँ नियम बनाइन्, ‘आफ्नो कक्षाकोठा आफैं सफा गर्ने ।’ उनको यो निर्णयमा सबै साथीले समर्थन जनाए ।


फलस्वरूप स्कुलका सहयोगीले नभ्याउँदा उनीहरू आफैं कुचो लगाउँछन् । कक्षा कोठाभित्र फोहोर हुन नदिन कागजका टुक्रा च्यातेर फाल्नेलाई फोहोर नगर्न सम्झाउँछन् । यति गर्दा पनि कोठा सोचेजति सफा हुन नसकेको उनले बताइन् । ‘सम्झाउँछौं तर कुनै विद्यार्थीले टेर्दैनन्,’ उनले भनिन्, ‘नटेर्नेलाई उल्टै कुचो थमाएर कोठा सफा गर्ने सजाए तोकेका छौं ।’ खास गरी केटाहरू सरसफाइमा ध्यान नदिने उनको अनुभव छ । कुचो लगाउने केटाको काम होइन भन्दै टार्ने गर्थे ।


उनले यो संस्कार परिवर्तन गराउन नियम कडा गरेको बताइन् । ‘केटाहरूले मानेनन् भने शिक्षकलाई निवेदन दिन्छौं,’ उनले भनिन् । ‘सामुदायिक विद्यालयलाई विद्यार्थीले आफ्नै बलबुताले सुन्दर बनाउँछन्,’ स्कुलका निमित्त प्रअ वीरजंग शाहले भने, ‘हामीले केही भन्नै पर्दैन । सफा गरेर चिटिक्क पार्छन् ।’ विद्यालयमा सहयोगी छन् । तर, उनी कहिले आउने कहिले नआउने र आए पनि खासै कुचो नलगाउने विद्यार्थीले सुनाए । फोहोरमा पढ्न मन नलागेपछि विद्यार्थी आफैंले फुर्सदमा सफा गर्ने गरेको बताए ।


विद्यालयका प्रायः विद्यार्थीले स्कुल पोसाक लगाएका छैनन् । घरमै लगाउने लुगामा स्कुल आउँछन् । शिक्षक नआएका बेला खाली घन्टीमा उनीहरू सरसफाइमा व्यस्त हुन्छन् । इस्रा राई १३ वर्षका भए । उनले घरमा कहिल्यै कुचो लगाएका थिएनन् । स्कुलमा सबै साथीले नियम बसालेपछि अहिले सफा गर्नु आफ्नो कर्तव्यजस्तै लाग्न थालेको उनले सुनाए ।


कक्षा ४ मा पढ्ने उनले अचेल कागजका टुक्रासमेत बाहिर फाल्दैनन् । १४ वर्षीया ममता बर्मा घरको पूरै काम सकाएर स्कुल आउँछिन् । खाना पकाउनेदेखि घर सफा गर्न उनी खप्पिस छन् । कक्षा कोठा फोहोर राखेर पढ्न उनलाई उचित लाग्दैन । उनको पालोबाहेक अरु बेला पनि कोठामा फोहोर देखिन् भने सफा गर्छिन् । ‘कसैले पालोमा कुचो लगाउन मानेन भने म आफैं लगाउँछु,’ उनले भनिन् । ०२८ मा स्थापना भएको हनुमान आधारभूत विद्यालयमा हाल २ सय ७ विद्यार्थी छन् । यसमा पनि अधिकांश विद्यार्थी नियमित छैनन् ।


नेपाल–भारत सीमा नजिक रहेकाले धेरै बालबालिका सीमापारिका स्कुल जाने गर्छन् । यस वर्ष कक्षा १ मा जम्मा १ जना मात्रै नयाँ विद्यार्थी भर्ना भए । १८ जना पुरानै विद्यार्थी हुन् । यी नियमित छैनन् । कक्षा ८ मा जम्मा ९ जना विद्यार्थी छन् । गरिबीका कारण स्कुल पोसाक नलगाई विद्यालय आउने गरेको विद्यालयका शिक्षक निशा पाठकले बताइन् । ‘पोसाक अनिवार्य गरे पनि उनीहरू किन्न सक्दैनन्,’ उनले भनिन्, ‘पोसाक कडा बनाए स्कुल नै नआउने डर छ ।’

प्रकाशित : वैशाख २८, २०७६ ११:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?