३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

गाउँपालिकाबीच विकास प्रतिस्पर्धा

वीरेन्द्र केसी

अर्घाखाँची — भूगोल उस्तै, क्षेत्रफल फरक । योजना र कार्यक्रम मिल्दाजुल्दा । दुवैको लक्ष्य कृषि, पशुपालन र उत्पादनबाट पालिकलाई समृद्ध पार्ने छ । सडक, खानेपानी, विद्युत्, शिक्षा स्वास्थ्यलगायत पूर्वाधार विकासमा योजना समान छन् ।

छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोखरेल र पाणिनि गाउँपालिका अध्यक्ष अच्युत गौतमबीच छिटो विकास गर्ने प्रतिस्पर्धा छ । दुवै युवा हुन् । १ सय ५१ दशमलव ४२ वर्ग किमि पाणिनि र ८७ दशमलव ६२ वर्ग किमि छत्रदेवको क्षेत्रफल छ ।


गौतमलाई कृषि, पशुपालन र उत्पादनमा अलि सहज छ । पोखरेल कृषकले उत्पादन गर्लान र भाषण गरुला भन्ने आशामा छन । गौतमले एक दशक देखि आफैं बृहत कृषि फार्म सञ्चालन गरेका छन । अन्तरपालिकामन जनप्रतिनिधि पनि उनकै फार्म हेर्न आउँछन् । पाणिनिमा दैनिक एक हजार लिटर दूध उत्पादन हुन्छ । त्यो छुर्पी उद्योगमा खपत हुन्छ ।


तरकारी पाल्पाको तानसेन हुँदै बुटवल पुग्छ । गुल्मी सदरमुकाम तम्घाससँग सीमाना जोडिएको छत्रदेवमा पनि तरकारी र दूध उत्पादन हुन्छ । त्यहाँको उत्पादन तम्घास पुग्छ । धेरै दूध र तरकारी उत्पादन गरेर गाउँपालिकाका बासिन्दालाई स्वरोजगार बनाउने गौतम र पोखरेलको योजना छ । छत्रदेवमा खानेपानीको हाहाकार छ । धेरै बस्तीमा लिफ्ट प्रविधिबाट खोलाको पानी डाँडोमा तानिदैछ ।


पाणिनिमा हाहाकार छैन । केही गाउँ लिफ्ट र धेरै बस्तीमा मुहानकै पानी ल्याएर एक घर एक धारा बनाउने योजना छन । खानेपानी योजनाको लागि आफनो बजेट सहित संघ र प्रदेश सरकारले पनि बजेट पारिदिएको छ । अदुवा, वेसार लगायत मसलाबालीमा दुवै अब्बल बन्दैछन् । छत्रदेवमा भन्दा पाणिनिमा कृषिजन्य वस्तु धेरै उत्पादन हुन्छ ।


पालि, अडगुरी बाहेक अरु सबै गाउँका कृषकले कृषि उत्पादन गरेर बिक्री गर्छन । कृषि र पशुपालनमा प्रचुर संभावना रहेको पाणिनि उर्वरभूमि हो । आफैं नमुना कृषक भएकाले हरेक कार्यक्रममा कृषिजन्य वस्तु उत्पादन गर्न र गाइभैसीपालेर दूध बिक्री गर्न गौतमले सल्लाह दिन्छन् । पालिका र संघ र प्रदेश सरकारको बजेटबाट सिँचाइ, मल, विउपल, कृषि तालिम, प्राविधिक सबै उपलब्ध गराइदिन्छ, एक घरले एक उत्पादन गरे महिनाको पन्ध्र, बीस हजार रुपैयाँ यही कमाउन सकिन्छ, उनले भने । पढेलेखका र विदेशबाट फर्किएका युवाले सुरुवात गरेका छन । उत्पादनमा युवा आकर्षण बढ्दो रहेको उनले बताए ।


छत्रदेवको मरेङ, अर्घातोषबाट दूध र तरकारी तम्घास जान्छ । बल्कोट, केरुंगामा पानी अभावमा तरकारी खेती छैन । लिफ्ट गरेर डाँडोमा तानेको पानीले थोपा सिँचाइ गरेर तरकारी उत्पादन गर्ने लक्ष्य पालिकाको छ । नयाँ ढंगले उत्पादन गर्ने तरिका, रोग लाग्न नदिने उपाय र थोरै जग्गामा धेरै पलाउने तरिका सिकाएर कृषिबाट स्वरोजगार बनाउने योजना रहेको पोखरेलले दाबी गरे ।


नयाँ पुस्तालाई पढाएरै कृषितिर आबद्ध गराउन छत्रदेवको मथुराबेंसी र पाणिनिको चिवेकमा कृषि कलेज खोलिएका छन् । मथुरामा पढाइ भइरहेको छ । चिवेकमा पूर्वाधार बन्दैछ । छत्रदेवको मरेङ, भगवती र अर्घातोषमा सुन्तला उत्पादन हुन्छ । छिटफुट घरका कृषकले मात्रै व्यावसायिक सुन्तला उत्पादन गरेका छन भने पाणिनिमा जिल्लाकै धेरै सुन्तला फल्छ । सिम्ले गाउँमा व्यावसायिक खेती छ । थप खेती विस्तारको लागि नयाँ विरुवा उत्पादन भइरहेको गौतमले बताए ।


पाणिनिको पोखराथोक, पणेना लगायतका राष्ट्रिय वनमा रहेका सल्ला र अन्य रुख फाँडेर दालचिनी र ओखरका बिरुवा रोपिएको छ । दालचिनी र ओखरले मनग्य आम्दानी हुन्छ भनेरै खेती गरिएको उनले बताए । खर्‍यानमा पनि खेती छ । पोखराथोक, पणेना र खिदिममा खेतबारी मासेरै दालचिनी खेती सुरुवात गरिएको छ । छत्रदेवमा भने खानेपानीकै समस्याले कृषि उत्पादनमा चुनौती रहेको छ । हरेक योजना बनाउँदा गौतम र पोखरेलबीच समन्यव हुन्छ । कस्तो बजेटको योजना बनाउने भन्नेमै छलफल भएपछि काम गर्ने शैली र तरिका फरक छ । छिटो योजना सम्पन्न गर्नेमा आफनै तरिका छ, पोखरेलले भने ।


सडकमा योजना

छत्रदेव जिल्ला सदरमुकाम र तम्घाससँग जोडिएको छ । सन्धिखर्क–तम्घास सडक डबल कटिङको काम भइरहेको छ । पोखरा–अर्घाखाँची–सुर्खेत सडक पनि छत्रदेव हुँदै जान्छ । यी सडकले छत्रदेवका गाउँलेको बसाइँ सराइलाई रोकेको छ । टोलका बाटा पनि मर्मत सुधार भइरहेको छ । मुख्य सडक ग्राभेल गरी पिच गर्ने योजना उनले सुनाए ।


सन्धिखर्क–गोरुसिंगे सडक खण्डको घुम्तीबाट पाल्पाको तानसेनसम्म डबल कटिङको काम भइरहेको छ । पाल्पा–घुम्ती सडकले पाणिनिलाई सडक सञ्जालले जोड्छ । त्यस्तै सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडक पाणिनिको पटैटी, मैदान, पालि हुँदै जान्छ । यही सडकको पटैटीबाट तम्घास जोड्ने सडकको निर्माण कार्य भइरहेको छ ।


यो सडक पूरा भएपछि तम्घासबाट पाल्पा हुँदै बुटवल जानभन्दा यताबाट दूरी छोटो, सहज यात्रा हुन्छ । तीनवटा मुख्य सडक छन्, टोलैपिच्छे पुगेका सडकको स्तरोन्नति गरी पिच गर्ने र नयाँ सडक निर्माण नगर्ने योजना रहेको गौतमले सुनाए । पाणिनिको २२ करोड रुपैयाँ विकास बजेटमध्ये ३ करोड ३७ लाख रुपैयाँ विनियोजन गरेको छ । भइरहेका सडक मर्मत सुधार र निर्माण गर्न छत्रदेवले १ करोड छुटाएर काम गरिरहेको छ ।


विद्युत् विस्तार

पालिकाको पहिलो बैठकको निर्णयबाट खरको छानामुक्त पालिका बनाउने निर्णय गर्‍यो । एक वर्षभिक्रमा खरको छानामुत्त गाउँपालिका भएर देशकै नमुना गापा बन्न सफल भयो । पाणिनिमा यस्तो कार्यक्रम छैन । छत्रदेवमा काठका पोलमुक्त पालिका बनाउन सुरु भएको छ ।


पालिकाभर काठका पोल हटाएर स्टिलका पोल गाड्ने काम सुरु भैसकेको पोखरेलले बताए । यो पनि एक वर्ष भित्रैमा सकिन्छ, उनले भने । छत्रदेवले जस्तै पाणिनिले पनि आफनो पालिकामा काठका पोल हटाउँदैछ । स्टिलका पोल लामो समय टिक्छन् । छत्रदेव र पाणिनि गाउँसभाबाट विनियोजित बजेट योजना ९५ प्रतिशत सम्झौता भइसकेका छन । योजना अनुगमन गर्न जनप्रतिनिधिको दौडधुप छ । वित्तीय प्रगति भने ५० प्रतिशत पनि हुन सकेको छैन ।

प्रकाशित : वैशाख २८, २०७६ ११:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?