कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आर्थिक हिंसामा महिला

मधु शाही

बाँके — कोहलपुर नगरपालिका-९ की माया शाहको दाम्पत्य जीवनमा धनले दरार ल्यायो । पैसा नहुँदा श्रीमान्/श्रीमतीको सम्बन्ध जति गाढा थियो, कमाउन थालेपछि बिस्तारै चिसिन थाल्यो ।

जीवन सुम्पिने वाचा गरेकी मायाले पतिलाई दुःख परेका बेला आर्थिक सहयोग गर्न पछि हटिनन् । विभिन्न समूहमा आबद्ध उनले दुःखले जोडेको पैसा पतिको प्रगतिका लागि खुसीले सहयोग गरिन् ।


बाख्रा बेचेर, खेतीकिसानी गरेर जम्मा गरेको पैसा समूहमा जम्मा गर्दै बेरोजगार श्रीमानको काँध थापिन् । दुवैले खेती किसानीबाट आएको रकमले पसल सुरु गरे । थुप्रै समूहमा आबद्ध भएकी उनले श्रीमाना लागि १९ लाख रुपैयाँ ऋण निकालिन् । त्यसको प्रयोग उनका श्रीमान्ले गरे । तर, अहिले तिर्ने बेला श्रीमान् सम्पर्कविहीन छन् । उमेरले चार दशक पार गरेकी उनलाई अहिले साहूले घेरेका छन् ।


दुःखसुखमा साथ दिने श्रीमान्को तीन वर्षदेखि मुड फेरिंदै गएको आफूले महसुस गरेको उनले बताइन् । 'अहिले फोनमा कहिलेकाहीं कुरा गर्नु हुन्छ, घर आउन त मान्दै मान्नुहुन्न,' उनले भनिन्, 'अहिले त सम्बन्धविच्छेद गर्छु पो भन्दै हुनुहुन्छ ।'


पढै गरेका छोराछोरीको जिम्मेवारी त छँदै छ, श्रीमान्का लागि भनेर लिएको १९ लाख रुपैयाँ ऋणले उनी थिचिएकी छन् । भएको सम्पत्ति श्रीमान्कै नाममा छ । सल्लाह गर्न खोज्दा तेरै सन्तान पाल्दा खर्च भयो भन्ने तीतो जवाफ पाउने गरेको उनले सुनाइन् । 'अब त ऋण तिर्नकै लागि पनि सम्बन्धविच्छेदसम्म पुग्नुपरेको छ,' उनले भनिन्, त्यसपछि जे जति आउँछ, त्यसैबाट गुजारा गर्नुर्पर्ला ।'

राप्ती सोनारी गाउँपालिका-२ की तारा वलीलाई पनि आर्थिक कारोबारमा श्रीमान्को बेइमानीले अदालतसम्म पुर्‍याएको छ ।


उनले श्रीमान्बाट आर्थिक सहयोग नभएको, कुटपिट गरेको भन्दै सम्बन्धविच्छेदका लागि मुद्दा दिएकी छन् । विभिन्न समूहबाट उनले

श्रीमान्का लागि भनेर १६ लाख ४६ हजार रुपैयाँ ऋण लिएकी थिइन् । पैसा माग्दा दिनरात पिटाइ खानु परेपछि उनले अंश नलिई सम्बन्धविच्छेदको अपिल गरेको बताइन् । जिल्ला अदालतले दुवै पक्षलाई राखेर मिलापत्रमा टुंगो लगायो । श्रीमान्ले श्रीमतीको ऋण तिर्नुपर्ने सर्तसहित परिवार मिलेर बस्ने मिलापत्र भयो । नेपालगन्ज उपमहानगरपालिका-६ का वडाध्यक्ष समिरप्रताप सिंहले आर्थिक हिनामिनाको मुद्दाले सम्बन्धमा निकै किचलो हुने गरेको बताए । 'झगडा गर्दै वडा कार्यालय आउँछन्,' उनले भने, 'लेनदेनमै कुरो नमिलेका झगडाले ठूलो रूप लिएका छन् ।'


कोहलपुर नगरपालिका-७ की चाँदनी न्यौपाने बैंकमा काम गर्छिन् । श्रीमान्लाई होटल व्यवसायमा सघाउन उनले १७ लाख रुपैयाँ ऋण झिकिदिइन् ।


श्रीमान्को व्यापार फस्टाउँदै गयो । 'आम्दानी बढे पनि मैले बैंकबाट पाउने पारिश्रमिकमा आँखा लगाउन छोडेनन्,' उनले भनिन्, 'अनेक बहाना गर्दै निरन्तर पैसा माग्न थालेपछि शंका लागेको थियो ।' तलब किन लुकाएको' भन्दै श्रीमान् उनीमाथि जाइलाग्न थाले । 'नदिउँ कुटाई खानुपर्छ, दिउँ त्यसको कुनै लेखाजोखा नै नहुने,' उनले भनिन्, 'तलबकै कारण दिनरात झगडा हुन्थ्यो ।' अहिले उनी सम्बन्धविच्छेद गर्ने तयारीमा छन् । महिलालाई सम्पत्तिमाथिको अधिकार सुरक्षित गराउन चुनौती रहेको महिला अधिकारकर्मी कमला पन्थले बताइन् । 'यो सबै परम्परागत पुरुषवादी सोचको प्रभाव हो,' उनले भनिन् ।


जिल्ला अदालत बाँकेमा आव ०७५ भदौदेखि अहिलेसम्म सम्बन्धविच्छेदका ४ सय ३७ मुद्दा परेका छन् । अधिकांशमा महिलाले पतिबाट कुटिएको, हेला गरेको लगायतका आरोप लगाएका छन् । आर्थिक लेनदेनबाटै विवाद सिर्जना भएका मुद्दा धेरै रहेको र सम्बन्धविच्छेद गर्दा कारणमा आर्थिक हिनामिनाको विषय प्रस्ट उल्लेख नभएको अधिवक्ता मनबहादुर बुढाले बताए । 'एउटा मुद्दा अर्कै बेहोरामा लेख्नुपर्ने बाध्यता कानुन व्यवसायीलाई छ,' उनले भने ।


महिला तथा बालबालिका केन्द्रकी प्रमुख श्यामकुमारी मगरले दैनिक ३ देखि ५ सम्म महिला हिंसाका मुद्दा पर्ने गरेको बताइन् । 'कतिपयले आर्थिक हिंसा भएको नै थाहा पाउँदैनन्,' उनले भनिन्, 'बरु चुप लागेर बस्छन् । श्रीमान्‌ले पैसा हिनामिना गरेको र आफूलाई शोषण गरेको गुनासो गर्दैनन् ।'

प्रकाशित : वैशाख २९, २०७६ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?