३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

दुर्गममा मुटु रोगको उपचार

घनश्याम गौतम

रूपन्देही — गुल्मीको दुर्गम मानिएको अर्खाबाङमा आयोजित एकदिने मुटु तथा मृर्गौला रोगको निःशुल्क शिविरमा ८ सय ८९ जनाले परीक्षण गराएका छन् । तीमध्ये एकको मुटुको भल्ब फेर्नुपर्ने, तीन जनालाई पहिलो हृदयघात भएको र दुई दर्जन गम्भीर मुटुरोगी फेला परेका छन् । 

मालिका गाउँपालिका र नेपाल हृदयरोग निवारण प्रतिष्ठानको आयोजना एवं बुटवलको गौतम बुद्ध सामुदायिक मुटु अस्पतालको प्राविधिक तथा विशेषज्ञ सेवामा शनिबार शिविर चलाइएको थियो । दुर्गम र विपन्न समुदाय धेरै भएकाले रोग लुकाएर बस्ने गरेको र परीक्षण गरेर पनि नियमित सेवन गर्नुपर्ने औषधिसमेत छोडने गरेका अधिकांश बिरामी भेटिएको मुटु अस्पतालका अध्यक्ष एजाज आलमले बताए ।


शिविरमा गौतम बुद्ध मुटु अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विशाल केसी नेतृत्वको ३४ स्वास्थ्यकर्मीको टिमले सेवा प्रदान गरेको थियो । त्यसमा ३ सय ९७ जनाको मुटुको ईसीजी, ३८ जनाको फोक्सोको परीक्षण, १ सय ८६ जनाको इकोबाट मुटु परीक्षण र ८ सय २५ जनाको सुगर परीक्षण गरिएको थियो । तीमध्ये ६ वर्षीय बालिकाको मुटुमा प्वाल परेको समेत फेला परेको डा. केसीले बताए । ‘बालिकाको मुटुको भल्ब नै फेर्नुपर्ने अवस्था देखिएपछि गंगालाल हृदय रोग निवारण केन्द्रमा जान सुझाव दिएका छौं,’ उनले भने, ‘चार जना पहिलो पटक हृदयघात भए पनि जानकारी नै नपाई त्यत्तिकै बसेको फेला पारेर उपचार गरेका छौं ।’


आर्थिक विपन्नता र जानकारी अभावले धेरै सर्वसाधारणले रोग पालेर बस्ने गरेको देखिएको उनले बताए । परीक्षण गरेका झन्डै ४० प्रतिशत बिरामीमा उच्च रक्तचाप र वाथ रोग पनि देखिएको उनले बताए । नेपाल हृदय रोग निवारण प्रतिष्ठान गुल्मीका सभापति अखिलेश्वर पाण्डेले मुटु अस्पतालको सहयोगमा दुर्गममा चलाइएको शिविरले मुटु, दम र फोक्सोका बिरामीलाई ठूलो राहत मिलेको बताए ।


‘धेरै दुर्गम भएकाले झट्ट उपचार गर्नै नआउने समस्या थियो,’ उनले भने, ‘त्यसैले धेरै बिरामीले ब्लडप्रेसरको उपचार गराएर खान सुरु गरेको औषधिसमेत छोडेर बसेको भेटियो ।’ त्यस्ता बिरामी र अन्य सर्वसाधारणलाई शिविरले जनचेतना पनि जगाएको उनले बताए ।

प्रकाशित : वैशाख ३०, २०७६ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?