कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

खाद्यले चैते धान नकिन्ने

कमल पन्थी

बर्दिया — सरकारको स्पष्ट नीति नहुँदा उत्पादित धान खरिद–बिक्रीमा यस वर्ष पनि समस्या हुने देखिएको छ । उत्पादन बढी हुन थालेपछि किसान चैते धानप्रति आकर्षित भएका छन् । नेपाल खाद्य संस्थानले चैते धान खरिद नगर्ने भनेपछि यहाँका किसान निराश बन्न थालेका हुन् ।

गत वर्ष १ सय ३० हेक्टरमा चैते धान लगाएका यहाँका किसाले यस वर्ष झन्डै पाँच सय हेक्टरमा लगाएका छन् । कर्णालीबाट बाह्रै महिना सिंचाइ हुने र लगानी कम लाग्ने भएपछि यहाँका किसान चैते धानप्रति आकर्षित भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वय एकाइ राजापुरका प्रमुख वीरेन्द्र पराजुलीले बताए ।


गत वर्ष व्यवसायी र खाद्य संस्थानले चैते धान खरिद नगर्दा किसान मर्कामा परेका थिए । चैते धान सन्चित गर्नुपर्ने बाध्यता रहेको राजापुर नगरपालिका–१ का किसान च्यामु थारुले बताए । चैते धानमा गरेको लगानी खेर जान थालेको स्थानीय किसानले गुनासो गरे । सरकारले किसानप्रति गैरजिम्मेवार नीति लिएको गेरुवा गाउँपालिका–३ का किसान गोपाल थारुले बताए । गत वर्ष ५० क्विन्टलभन्दा बढी चैते धान उत्पादन गरे पनि बिक्री नभएको उनले सुनाए ।


खाद्य संस्थान अन्तर्गत आधुनिक धान चामल कारखाना राजापुरका प्रबन्धक अनिल श्रेष्ठले केन्द्रको निर्देशन अनुसार खरिद–बिक्री गर्नुपर्ने बताए । चैते धान खरिद–बिक्रीबारे केन्द्रमा जानकारी गराएको उनले जनाए । १८ प्रतिशत चिस्यान धान खरिद गर्न खाद्य संस्थान केन्द्रको निर्देशन छ ।


चैते धान २४ प्रतिशत चिस्यान हुने गरेका कारण पनि खरिदमा समस्या आएको खाद्य संस्थानका एक कर्मचारीले बताए । कम्तीमा खाद्य संस्थानले चिस्यान घटाउन चैते धान खरिदका लागि डायर मेसिन खरिद गर्न जरुरी भएको उनले सुनाए ।


उत्पादित चैते धान खाद्य संस्थानले खरिद नगर्दा गाउँले व्यवसायीलाई सस्तोमा बेच्न बाध्य भएको गेरुवा गाउँपालिका–४ का लहानु थारुले बताए । कर्णाली र गेरुवा नदीले घेरिएको राजापुर पश्चिम नेपालकै सबैभन्दा बढी धान उत्पादन हुने क्षेत्र मानिन्छ । यहाँ १६ हजार हेक्टरमा ९० हजार मेट्रिक टन वर्षेधान उत्पादन हुने गरेको छ ।


यहाँ उत्पादित धान बाँके, सुर्खेत, जुम्ला, रूपन्देहीलगायत जिल्लामा निकासी हुने गरेको उद्योग वाणिज्य संघ, राजापुरका सचिव केदार थापाले बताए ।

प्रकाशित : वैशाख ३०, २०७६ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?