१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

ध्यान केन्द्र निर्माण धमाधम

मनोज पौडेल

लुम्बिनी — लुम्बिनीस्थित अन्तर्राष्ट्रिय सभाहल तथा ध्यान केन्द्रको निर्माण धमाधम भइरहेको छ । यहाँ निर्माण भइरहेको ध्यान केन्द्र अत्याधुनिक र सुविधासम्पन्न छ । यो मुलुकमै ठूलो ध्यान केन्द्र हो ।

ध्यान केन्द्र निर्माण धमाधम

०७४ सालमा बुद्ध जयन्ती मनाउन निर्माण गरिएको मञ्च हुरी र वर्षाले ढलाएपछि कार्यक्रम चार घन्टा ढिलो संचालन भयो । लगक्तै कार्यत्रमका प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीमा पाँच हजार अटने सभाहल बनाउने घोषणा गरे । त्यसपछि डिजाइन स्टिमेट भयो । गत वैशाख १७ मा राष्ट्रपति विद्यादेवी भण्डारीले भवनको शिलान्यास गरेकी थिइन् ।


गोलाकारमा केन्द्र बन्दै छ । ‘छाना उठाउनका लागि प्लास्टिकका पाइप नेपालमा पाइएनन्,’ कन्स्ट्रक्सनका टिम लिडर सन्तोष अधिकारीले भने, ‘भारतमा अडर गरेका छौं ।’ ठूलो परिमाणमा चाहिएकाले तत्काल नपाएको उनले बताए । जेठ मसान्तसम्म यहाँ आइपुग्ने निर्माण कम्पनीले जानकारी दिएको उनले बताए । ५ र ६ इन्चका प्लास्टिकका पाइपबाट ट्रस्ट बनाएर निर्माण पूरा गरिने उनले बताए ।


पहिलो चरणको महत्त्वपूर्ण काम सकिएको छ । जग तयार भयो । पिलर गाडिएका छन् । छाना राख्न मात्र बाँकी छ । ‘जमिन लो ल्यान्ड हुँदा थोरै समस्या भयो,’ उनले भने, ‘नभए ५० प्रतिशत बढी काम भइसक्थ्यो ।’ अहिलेसम्म ४५ प्रतिशत काम सकिएको छ । छाना राख्न र भुइँ ढलान गर्न बाँकी छ ।


त्यस्तै पहिलो चरणकै काममा पर्ने सभाहल संचालन गर्ने कन्टोल रुम र दुई वटा शौचालय पनि निर्माण थालिएको छ । यसको कुल बजेट ३१ करोड रुपैयाँ रहेको छ । डिजाइन, लगत स्टिमेट र निरीक्षणको काम श्रेष्ठ जिकोन जेभीले गरिरहेको छ । निर्माणाधीन सभाहल ठूलठूला राष्ट्रिय, अन्तर्राष्ट्रिय सभा/समारोह र ध्यान शिविर आयोजना गर्न मिल्ने गरी निर्माण भइरहेको छ ।


सभाहललाई सानो र ठूलो आकारमा विभाजन गर्न मिल्ने प्रविधियुक्त बनाइनेछ । सभाहलबाहिरबाट माथि बुद्धको आँखा बनाइनेछ । ठूला योजना हुँदा दुई चरणमा काम गर्न थालिएको हो । ‘अहिले भइरहेको काम निकै सन्तोषजनक छ,’ लुम्बिनी विकास कोषका योजना प्रबन्धक सरोज भट्टराईले भने, ‘त्यही भएर हामी दोस्रो चरणको टेन्डर प्रक्रियामा जान थालेका छौं ।’


सक्दो छिटो सम्पन्न गर्न पहिलो चरणको काम भइरहेका बेला दोस्रो चरणको पनि लागत स्टिमेट तयार गरेर टेन्डर डकुमेन्ट तयार गरिसकेको उनले बताए । ‘केही समयपछि ठेन्डर आहान गर्छौं,’ उनले भने, ‘दोस्रो चरणको लागत २२ करोड रहेको छ । यो पनि एक वर्षभित्रै निर्माण पूरा गरी ०७७ सालको बुद्ध जयन्ती यहीं मनाउने लक्ष्य छ ।’ दोस्रो चरणमा बाउन्ड्री वाल, पार्किङ स्थल र शौचालय बनाइनेछ । राम्रो साउन्ड सिस्टमका साथै हरियाली र सुन्दरतालाई पनि ध्यान दिई विशेष आकर्षक बनाइनेछ ।


सुविधा सम्पन्न अत्याधुनिक सभाहल संचालनमा आएपछि यहाँको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने सिद्धार्थ होटल एसोसिएसन लुम्बिनीका सचिव लीलामणि शर्माले बताए । ‘यसले लुम्बिनीको आकर्षण थप्छ,’ उनले भने । शान्तिको मुहान लुम्बिनीमा देश विदेशका शान्तिकामीहरू कार्यक्रम गर्न लालायित छन् ।


यस हलले यहाँका होटल व्यवसायी र सोभिनियर सर्पको व्यापार बढ्ने बताइएको छ । स्थानीयहरू रोजगारी र आय आर्जनसँग जोडिन्छन् । राम्रो सभाहल नहुँदा यहाँ टेन्ट राखेर अस्थायी सभाहल बनाउँदै कार्यक्रम गरिंदै आएको छ । सभाहल निर्माण कामको प्रधानमन्त्री तथा मन्त्रिपरिषदो कार्यालयले निगरानी गर्दै आएको छ ।

प्रकाशित : वैशाख ३०, २०७६ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?