२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

संरक्षणसँगै आम्दानी

नवीन पौडेल

परासी — सामुदायिक वनबाट उपभोक्ताले आम्दानी गर्दै वन जोगाएका छन् । पश्चिम नवलपरासीका सामुदायिक वन उपझोक्ता समितिले अहिले अचानो, कुचोदेखि जडीबुटी बित्री गरिरहेका छन् । 

सुनवल–६ स्थित विशासय सामुदायिक वनले अचानो र अम्रिसोको कुचो बिक्री गरेको छ । ढल्न लागेका रुख काटेर अचानो बनाउने र उपभोक्तामार्फत बजारमा बेच्ने गरिएको छ ।


खाली भएको समयमा वन कार्यालयमा जम्मा भएर स्थानीयले अचानो र कुचो बनाउछन् । ‘वन संरक्षणले वन्यजन्तु र वातावरणलाई मात्र होइन, हामी उपभोक्तालाई पनि फाइदा पुगेको छ,’ विशासया सामुदायिक वनका अध्यक्ष रुकबहादुर गुरुङले भने, ‘अचानोदेखि कुचो र बेलको जुस बनाएर बिक्री गर्ने गरिएको छ ।’


केही वर्षअगाडिसम्म गाईबस्तु चराउन र दाउराका लागि जंगल उपयोगी थियो । जथाभावी रुख काटने गर्नाले वन उजाड बन्दै गएपछि सरकारले सामुदायिक वन बनाएर संरक्षणको जिम्मा स्थानीय उपभोक्तालाई दियो । सुरुआतमा स्थानीय सामुदायिक बनको विरोधमा थिए । अहिले त्यसैबाट फाइदा लिइरहेका छन् ।


बर्दघाट नगरपालिका–२ मा स्थित चिसापानी सामुदायिक वनले जडीबुटी उद्योग स्थापना गरेर १५ हेक्टरमा प्रशोधित सुगन्धित तेल उत्पादन गरेको छ । वरपरका अन्य सामुदायिक वनमा लगाइएको जडीबुटी पनि यहीं खपत हुने गरेको छ । जुडीबुटी खेतीको विस्तारले स्थानीय उपभोक्ताको आय आर्जन बढेको छ । जडीबुटीबाट उत्पादित सुगन्धित तेल कस्मेटिक तथा अन्य जडीबुटीजन्य वस्तुमा प्रयोग हुने गरेको छ ।


चिसापानी सामुदायिक वन अन्तर्गत स्थापना भएको चिसापानी सामुदायिक जडीबुटी प्रशोधन उद्योगले कच्चा तेल उत्पादन गरी विदेश पठाउने गरेको छ । उद्योगले सुगन्धित तेल निर्यात गर्न थालेपछि यहाँ जडीबुटीको माग बढै जान थालेको र यहाँका महिला स्वावलम्बी बनेको चिसापानी सामुदायिक वनका अध्यक्ष होमबहादुर गुरुङले बताए ।


‘प्राकृतिक सम्पदाको संरक्षणसँगै यसबाट आम्दानी पनि लिन सकियो भने संरक्षण दिगो हुन्छ,’ उनले भने, ‘जगंलमा खाली रहेको जग्गामा व्यावसायिक रूपमा जडीबुटी खेती गरेर २ सय ५० भन्दा बढी उपभोक्ताले फाइदा लिइरहेका छन् ।’ जिल्लाकै पारिजात सामुदायिक वन बर्दघाट, दाउन्नेदेवी सामुदायिक वन, सीतापोखरी सामुदायिक वन, संसारकोट हरियाली सामुदायिक वन र जनउदय सामुदायिक वन सुनवलका उपभोक्ताले पनि जडीबुटी खेती गरिरहेका छन् ।


लेमनग्रास, तामारोजर, मिटानेला, मेन्था, पचौली, जटामसीलगायतको प्रशोधन हुने गरेको छ । वनबाट आम्दानी हुन थालेपछि वन जोगाउन स्थानीय लागिपरेका छन् ।

प्रकाशित : वैशाख ३१, २०७६ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?