भित्र नगरसभा बाहिर जुलुस

परासी — पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा नगरसभा संचालन भइरहँदा बाहिर स्थानीयले नारा–जुलुस गरेका छन् । आफ्नो वडामा परेको अस्पताल निर्माणको रकम रकमान्तर गरेको विरोधमा वडा ७ र ८ का स्थानीयले खबरदारी गरेका हुन् ।

वैशाख १९ गते खबरदारी गर्दै निर्णय सच्याउन समय दिएका स्थानीय आइतबारसम्म माग पूरा नभएपछि नारा–जुलुसमा उत्रिएका हुन् ।


नारा–जुलुसका बाबजुद नगरसभाले रकमान्तरको निर्णय गरेपछि असन्तुष्ट स्थानीयले ढुंगा बर्साएका थिए । त्यसले वडा १२ का अध्यक्ष यमनाथ पाण्डेको सवारीमा क्षति पुगेको छ ।


वडा ८ मा रहेको स्वास्थ्य चौकीको स्तरोन्नति गर्न आएको बजेट वडा ५ मा खर्च गर्ने निर्णय नगरसभाले गरेको थियो । त्यसको विरोधमा ७ र ८ का स्थानीयले नाराबाजीसहित नगरपालिका घेराउ गरेका हुन् ।


सहरी विकास तथा भवन निर्माण आयोजनाबाट स्वास्थ्य चौकी स्तरोन्नति गरेर १५ शय्याको गराउन सम्बन्धित विभागबाट पत्र आए पनि कार्यपालिकाले स्वास्थ्य चौकी नै नभएको स्थानमा नयाँ भवन र स्वास्थ्य संस्था बनाउन खर्च गर्न लागेको स्थानीयको आरोप छ । ‘बजारदेखि भित्र ग्रामीण क्षेत्र भनेर हामीलाई उपेक्षा गरियो,’ वडा ७ का रमाकान्त शर्माले भने, ‘स्तरोन्नति गर्न भनिएको रकम रकमान्तर गर्न पाइँदैन । अहिलेकै स्थानमा रहेको स्वास्थ्य चौकीलाई सुविधासम्पन्न गराउने निर्णय नभएसम्म हाम्रो संर्घष जारी रहन्छ ।’


नगर कार्यसमितिले भने अहिले रहेको स्वास्थ्य चौकीलाई स्तरोन्नति गर्ने, एम्बुलेन्स र सुविधासम्पन्न बर्थिङ सेन्टरका रूपमा विकास गरेर अस्पताल सबैको पायक पर्ने स्थानमा निर्माणका लागि पहल गरिरहेको दाबी गरेको छ ।


सुनवल नगरपालिकाका प्रवक्ता कृष्णप्रसाद देवकोटाद्वारा जारी विज्ञप्तिमा ०७५ असोज १ गते नगरपालिकाको पूर्ण बैठकले वडा ३ र ५ को सिमानामा रहेको मिनी बनकट्टीमा १५ शय्याको अस्पताल निर्माण गर्ने र साबिकको सुनवल गाविसको स्वास्थ्य चौकीलाई स्तरोन्नति गरेर बजेट विनियोजन गर्ने निर्णय भएको उल्लेख छ ।


‘जनप्रतिनिधिमाथिको आक्रमण निन्दनीय छ,’ उनले भने, ‘दोषीमाथि तुरुन्त कारबाही गरिनुपर्छ ।’ रामनगर, सुनवल र स्वाठी गाउँपालिका मिलेर सुनवल नगरपालिका बनेको हो । सबैलाई पायक पर्ने स्थानमा अस्पताल निर्माण गर्नुपर्ने भन्दै नगरपालिकाले एकमतले निर्णय गरेको थियो ।

प्रकाशित : वैशाख ३१, २०७६ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?