कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

बसपार्कमा यात्रु तानातान

‘जबर्जस्ती समाएर गाडीमा बसाल्छन्, अझ पहिल्यै सामान र काखको बच्चा खोसेर लान्छन् ।’
आठ महिनाको अवधिमा यात्रुमाथि अभद्र व्यवहार गरेको भन्दै १२ जनालाई प्रहरीको जिम्मा 
मधु शाही

बाँके — ‘यता आउनूस्’ भन्दै गाडी सहचालकले काखको बच्चा खोसेर आफ्नो बसमा राखे । आमालाई अर्कै गाडीवालाले ‘यता आउनूस्’ भन्दै ताने । सामान भने अर्कै बसका सह–चालकले लगे । ‘बच्चा’, ‘आमा’ र ‘सामान’ तीनतिरका बसमा बाँडिए । यहाँ यसरी नै यात्रु तानातान गरेर जबर्जस्ती बसमा राख्ने गरिन्छ । 

बसपार्कमा यात्रु तानातान

नेपालगन्ज उपमहानगरपालिकामा बिहीबार कोहलपुर नगरपालिकाकी सावित्री भुसालले गाडीवालाको हैरानी खेपिन् । नेपालगन्ज जमुनाहबाट कोहलपुर जाँदै गर्दा उनले सार्वजनिक बसमा यस्तो झन्झट खेपेकी हुन् । कसले कति यात्रु आफ्नो गाडीमा राख्ने भन्ने प्रतिस्पर्धामा बस व्यवसायीले यात्रुमाथि अभद्र व्यवहार गर्दै आएका छन् ।


जसको सुनुवाइ कहाँ गर्ने, टुंगो छैन । यात्रु चुपचाप बाध्यतामा यात्रा गर्दै छन् । ‘जबर्जस्ती समाएर गाडीमा बसाल्छन्,’ सावित्रीले भनिन्, ‘अझ पहिल्यै सामान र काखको बच्चा खोसेर लान्छन् ।’ सामान र बच्चा खोसेर यात्रुलाई बस चढ्न बाध्य बनाउने सहचालकको प्रवृत्तिले यात्रु दिक्क भएका छन् । यस्तो अवस्थामा ट्राफिक प्रहरीले समेत रमिता हेरेर बस्ने गरेको उनले गुनासो गरिन् ।


नेपालगन्ज भन्सार रोड अक्सर व्यस्त रहन्छ । नेपाल–भारत सीमाका कारण दैनिक यहाँ हजारौंको संख्यामा यात्रुको आवतजावत हुन्छ । रुपैडियाबाट सामान लिएर आउने सर्वसाधारण अझै बढी तानातानबाट पीडित छन् । सीमापारि अटोरिक्सा जान पाउँदैन । नेपालगन्ज भन्सार रोडसम्म आइपुग्ने यात्रुले सार्वजनिक बस समाएर गन्तव्यतर्फ जानु पर्छ । त्यतिबेला रिक्साबाट नओर्लिंदै यात्रुलाई जबर्जस्ती गाडीमा राख्न बसका सहचालक झुम्मिन्छन् ।


एउटा रिक्सा घेर्न तीन–चारवटा मान्छे आउँछन् । तर, अनौठो के छ भने अपांग, अशक्त र वृद्धवृद्धालाई सहजै बसमा चढाउन मान्दैनन् । जमुनाहमा बिहीबार तीन घन्टादेखि बैसाखी टेकेर उभिएका वृद्धले गाडी चढ्न निकै कुर्नु पर्‍यो । ‘अपांग भएकाले झट्ट गाडीमा बस्न दिंदैनन्,’ उनले भने, ‘कुनै कुनै दयालु हुन्छन् । त्यस्तै बस कुरेर बस्नु पर्छ ।’ यात्रुले आफ्नो इच्छामा बस रोजेर बस्न पाउनु अधिकार हो । अनुरोधसम्म गरे पनि जबर्जस्ती बाध्य बनाउन भने मिल्दैन ।


नेपालगन्ज पुष्पलाल चोकबाट कोहलपुर जाने यात्रु पनि यही समस्यामा छन् । बिहान अफिस जाने र बेलुका घर फर्किने समयमा गाडीमा चढा सास्ती खेप्नुपरेको सरकारी कर्मचारी पायल गौतमले बताइन् । हात समाउँदै जबर्जस्ती गाडीमा धकेल्दा उनको चस्मा खसेर फुटेको घटना सुनाइन् । सहचालक प्रयाः पुरुष हुन्छन् । यसरी तान्नु पनि एक किसिमको दुर्व्यवहार भएको उनले बताइन् ।


‘धेरैपटक झगडा गरें,’ उनले भनिन्, ‘हाँसेर उडाउँछन् तर टेर्दैनन् ।’ यात्रुसँग गरिने सभ्य व्यवहारसम्बन्धी तालिमको अभाव भएको उनले बताइन् । यातायातका कर्मचारीमा नैतिक शिक्षाको अभाव रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख हिरेन्द्र रोकाले बताए । उनका अनुसार बस चालकले यात्रुलाई सुरक्षित, व्यवस्थित र मर्यादित ढंगले गन्तव्यमा पुर्‍याउनु पर्ने कर्तव्य हो ।


उनले आठ महिनाको अवधिमा यात्रुमाथि अभद्र व्यवहार गरेको भन्दै १२ जनालाई प्रहरीको जिम्मा लगाएका छन् । जसमध्ये दुई जनालाई सार्वजनिक मुद्दा चलाइएको छ । यात्रामा दुर्व्यवहार भएको भन्दै कुनै पनि यात्रुले अहिलेसम्म उजुरी दिएको अवस्था छैन । ड्युटीमा खटिएको बेला यस्तो व्यवहार भइरहेको देखेपछि ट्राफिक प्रहरीले सिभिल प्रहरीको जिम्मा लगाउने गरको छ । ‘यात्रुले दुर्व्यवहार भएको सहँदै आएका छन्,’ प्रमुख रोकाले भने, ‘दुर्व्यवहार गरेको देखे र उजुरी आए हामी कारबाही गर्छौं ।’

प्रकाशित : वैशाख ३१, २०७६ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?