२५ वर्षदेखि साङ्लोमा

गिरुप्रसाद भण्डारी

चुजा, प्यूठान — मानसिक बिरामी प्यूठान मल्लरानी गाउँपालिका–१, चुजा लुक्काका ४१ वर्षीय मेघबहादुर केसीलाई २५ वर्षदेखि परिवारले साङलाले बाँधेर राखेका छन् । स्थानीय विद्यालयमा ९ कक्षामा अध्ययन गर्दागर्दै ०५१ सालमा बिरामी भएपछि पढाइ छुटाएर घरमै बाँधेर राख्नुपरेको बुबा डोरबहादुर केसीले बताए । 

प्यूठानको मल्लरानी गाउँपालिका–१, चुजा लुक्काका मेघबहादुर केसी । तस्बिर : गिरुप्रसाद/कान्तिपुर 

‘बिरामी भएको सुरुका केही वर्ष उपचारका लागि विभिन्न ठाउँमा डुलाएँ । निको भएन,’ केसीले भने, ‘घरमै धामीझाँक्री पनि धेरैपटक बसालें । केही नलागेपछि बाँधेर राख्नुपरेको हो ।’ छोरो बिरामी भएपछि भारतमा नोकरी गरेर कमाएको रकम खर्च गरेर भारतको गोरखपुर, अमृतसरसम्म पुर्‍याएर उपचार गराए पनि निको नभएको उनले बताए । ‘बिरामी नहुँदै शिक्षकले छोरो पढाइमा धेरै राम्रो छ भन्थे,’ केसीले भने, ‘हामीले पनि छोराले पढेर बुढेसकालमा पाल्ला भन्ने आशा गरेका थियौं । अहिले बाँधेर राख्नु परेको छ ।’

छोरालाई वर्षौंसम्म पशुझैं बाँधेर पाल्नुपर्दा मनमा धेरै पीडा हुने उनले बताए । ‘छोरो निको होला भन्ने आशा गर्दा गर्दै उमेरले नेटो काटिसक्यो,’ ७० वर्षीय केसीले भने, ‘२५ वर्ष बित्यो । छोरो निकै भएन ।’ साङलो फुकाएपछि घरबाट भाग्ने र देखेका मान्छेलाई ढुंगाले हान्ने, होहल्ला गर्नेजस्ता क्रियाकलाप गर्ने भएकाले दुवै खुट्टालाई साङलाले बाँधेर राख्नुपरेको उनले बताए ।

गत वर्ष स्थानीय सामाजिक अगुवाको पहलमा काठमाडौंका डाक्टरसँग फोनमा सल्लाह भए अनुसार औषधि मगाएर छोरालाई खुवाएको आमा दीपाले बताइन् । ‘हामी त डाक्टरले लेखेर दिए अनुसारको औषधि खुवाउन पनि सक्दैनौं,’ उनले भनिन्, ‘त्यसका लागि पनि छिमेकी गुहार्नु पर्छ ।’ दुवै खुट्टा बाँधिएकाले मेघबहादुरले दिसा–पिसाब कोठामै गर्ने आमा दीपाले बताइन् । ‘४१ वर्षको उमेर हुँदासम्म छोराको दिसा–पिसाब सोहर्नुपरेको छ,’ उनले भनिन्, ‘सन्तानको मायाले सताउँछ । हामी मरेपछि उसलाई कसले स्याहार्ला भन्ने चिन्ता लागिरहन्छ ।’

छोरालाई खाना दिंदा धेरैपटक घचेटेर लडाएको आमाले बताइन् । केसी दम्पतीका तीन भाइ छोरामध्ये मेघबहादुर माहिलो हुन् । ‘अरू दुई भाइले आ–आफ्नो व्यवस्था गरेका छन्,’ दीपाले भनिन, ‘हामीले यसैलाई कुरेर बसेका छौं ।’ छोराको उपचारका लागि धेरैलाई गुहारेको उनले बताइन् । ‘कसैको दया लागेर छोराको उपचार गर्न सहयोग गरे हुन्थ्यो भन्ने सोचिरहन्छु,’ ६५ वर्षीय आमा दीपाले भनिन्, ‘यो दुर्गमा आएर हामी दुःखीलाई कसले पो सहयोग गर्ला र !’

प्रकाशित : वैशाख ३१, २०७६ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्

रातो माटो खन्न भीड

गिरुप्रसाद भण्डारी

प्यूठान — घर पोत्ने रातो माटो खन्न गौमुखी गाउँपालिका–७, नारीकोटको रातामाटामा अहिले स्थानीयको भीड लागेको छ । महिला, पुरुष, केटाकेटीले रातामाटास्थित चौरमा माटो निकाल्न दर्जनौं स्थानमा खाडल बनाएका छन् ।

प्यूठानको गौमुखी–७, नारीकोटको रातामाटामा घर पोत्ने रातो माटो खन्दै स्थानीय  । तस्बिर : गिरुप्रसाद/कान्तिपुर 

स्थानीयले दैलो–सँघार र घर लिपपोत गर्न माटोको जोहो गर्न थालेका हुन् । जेठ लागेपछि असोज नलागुन्जेल माटो खन्न नहुने चलन अनुसार स्थानीयले वैशाख महिनाभित्रै माटोको जोहो गरिसक्ने नारीकोटकी यमकला सुनारले बताइन् । ‘सधैं घर पोत्नुपर्छ,’ माटो खन्न आइतबार रातामाटा पुगेकी सुनारले भनिन्, ‘छ महिनासम्म पुर्‍याउनका लागि आमाछोरी आएका छौं ।’

हरेक वैशाख अन्तिम र असोज पहिलो साता रातामाटामा रातोमाटो निकाल्नेको भीड लाग्ने उनले बताइन् । ‘ठूलो चौर छ,’ उनले भनिन्, ‘जहाँ खने पनि माटो राम्रो निस्किन्छ । माटो निकाल्नसमेत सजिलो छ ।’ यस हिउँदमा रातामाटाबाट तीन खेप माटो घरमा लगेर राखिसकेको उनले सुनाइन् ।

राटोमाटो भएको स्थान बाग्दुला, ठूलाबेसी सडक किनारमै पर्ने भएकाले घरसम्म गाडीमा पुर्‍याउन सजिलो भन्दै पछिल्लो केही वर्षयता रातोमाटो खन्नेहरूको दिनहुँ भीड लाग्ने गरेको स्थानीय लक्ष्मी सुनारले बताइन् । ‘यहाँको रातो माटोले पोतेका घर जहाँबाट हेरे पनि चिनिन्छन्,’ उनले भनिन्, ‘यहाँको माटो बजारबाट किनेर लगेको गेरुभन्दा कम छैन ।’

माटो खन्न प्यूठानको झिमरुक, मच्छी, बादीकोट, गौमुखी, लिबाङ, खुङ, नारीकोट, गुल्मीको मदाने, पुरकोट दह, अग्लुङफेदी र अर्घाखाँचीको मालारानी, सिमेदेउरालीलगायत क्षेत्रबाट स्थानीय आउने गरेको गौमुखी–७ का वडाध्यक्ष श्यामलाल पुरीले बताए ।
रातो माटो खन्नेहरू पछिल्लो समय बढै गएपछि वडाले व्यवस्थित गर्ने योजना बनाएको उनले सुनाए ।

‘माटो धेरै राम्रो छ,’ उनले भने, ‘जहाँ मन लाग्यो त्यहींबाट खन्ने गर्दा पहिरो जाने डर हुन्छ । यसमा ध्यान पुर्‍याउनुपर्छ ।’ रातामाटाको रातो माटो खानीलाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा गाउँपालिकामा कुरा राख्ने योजना रहेको पुरीले बताए ।

प्रकाशित : वैशाख ३०, २०७६ १०:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्