ग्यारेजमा राखिएको दुई बसमा आगलागी

रासस

काठमाडौँ — नेपालगञ्ज उपमहानगरपालिका–४ गणेशपुरस्थित बाइपासमा रहेको एक ग्यारेजमा रोकिराखेको बसमा आगलागी भएको छ । आगलागीबाट ना ४ ख ७०२४ र ना ५ ख २४६५ नम्बरको बस जलेर पूर्णरुपमा क्षति भएको हो ।  

आगलागीका कारण ग्यारेजमा मर्मत भइरहको ना ५ ख २४६५ नम्बरको बसमा बिहान १०ः३० बजे एक्कासि विद्युत् सर्ट हुँदा आगलागी भएको र सोही बस नजिकै रोकिराखेको अर्को ना ४ ख ७०२४ नम्बरको बसमा आगो सल्किँदा दुवै बस जलेर पूर्णरुपमा नष्ट भएका छन् । बसमा आगलागी भएलगत्तै स्थानीयवासीले नेपालगञ्जस्थित बारुणयन्त्रलाई खबर गरेका थिए । खबर पाएलगत्तै दमकल घटनास्थलमा पुगेको बारुणयन्त्र, स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरीले १२ बजे आगो नियन्त्रणमा लिएका थिए । केही ढिलो पुगेका कारण दुवै बस पूर्णरुपमा जलेको स्थानीयवासीको भनाइ छ । आगलागीबाट भएको क्षतिको यकिन विवरण भने नखुलेको स्थानीय वडा प्रहरी कार्यालयका इञ्चार्ज प्रहरी निरीक्षक नारायण डाँगीले बताए ।

Citizen

प्रकाशित : वैशाख ३१, २०७६ १६:१०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

शिक्षा विधेयक स्वीकृत

कान्तिपुर संवाददाता

काठमाडौँ — संघीय संसद् राष्ट्रियसभाले ‘शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।राष्ट्रियसभाको मंगलबारको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सो विधेयक विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद राधेश्याम अधिकारीले सरोकारवाला पक्षसँग छलफल नगरिकन कुनै पनि विधेयक तयार गर्न नहुने र संघीय शिक्षा नीति आउन लागेको हुँदा सबै कुरालाई ध्यानमा राखेर संशोधन गर्नुपर्ने सुझाव दिए ।

सांसद रामप्रित पासवानले दलितलाई प्राथमिक तहदेखि उच्च तहसम्म निःशुल्क शिक्षा दिने भन्ने व्यवस्था भए पनि उच्च शिक्षा कुन तहको पढाइलाई लिइने हो भन्ने कुरा स्पष्ट गर्नुपर्ने बताउँदै देशको विविधताअनुरुप पाठ्यक्रम बनाइनुपर्ने सुझाव दिए ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेलले शिक्षासम्बन्धी ऐनहरुलाई संविधानको मर्म र भावनाअनुसार बनाउनुपर्ने भएकाले सरकारले विधेयक संशोधन गर्नुपरेको बताए । उनले भने,'नेपालको उच्च शिक्षासँग सम्बन्धित विश्वविद्यालयबाट उत्पादित जनशक्ति हाम्रो आवश्यकताअनुरुप हुन सकेका छन् कि छैनन् भन्ने विषय उठेको छ, सबै बालबालिका स्कुलबाट बाहिर नहुने भन्ने अभियान सुरु भइसकेको छ, यसको सफल कार्यान्वयनका लागि सबैको सहयोग आवश्यक छ ।' राष्ट्रियसभाको अर्को बैठक आगामी जेठ ५ गते दिउँसो १ बजे बस्नेछ ।

प्रकाशित : वैशाख ३१, २०७६ १५:४९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT