नगरपालिकाको जग्गा अतिक्रमण

कमल पन्थी

बर्दिया — गुलरिया नगरपालिकाको ११ बिघा सार्वजनिक जग्गा अतिक्रमण गरिएको छ  । भारतीयसहित नेपाली नागरिकले यहाँ अस्थायी घर बनाएका छन्  ।

घरजग्गा भएकाले समेत सुकुम्बासीका नाममा अस्थायी टहरा बनाई अतिक्रमण गरेको गुलरिया नगरपालिकाले जनाएको छ ।


अतिक्रमणकारीलाई जग्गा खाली गर्न पटक–पटक उर्दी जारी गरे पनि अटेर गरी बस्दै आएको नगरपालिकाले जनाएको छ । गुलरिया नपा–८ मा अतिक्रमण गरी बस्दै आएका भारतको आसाम, उत्तरप्रदेशका करिब एक दर्जन भारतीय नागरिक रहेको नगरपालिका स्रोतले जनाएको छ ।

अन्यत्र घरजग्गा केही नभएपछि सरकारी जग्गामा बस्दै आएको उनीहरूले बताए । चार वर्षअघि नगरपालिकाले ६३ घरपरिवारले सार्वजनिक जग्गा अतिक्रमण गरी बसोबास गरेको लगत लिएको थियो । गुलरिया नगरपालिकाका कार्यकारी अधिकृत रामचन्द्र पौडेलले अतिक्रमणकारीलाई हटाउन जनप्रतिनिधिले कारबाही फ्रक्रिया अघि बढाइसकेको बताए । अतित्रमण गरेर बसेका अधिकांशको अन्यत्र घरजग्गा रहेको उनले दाबी गरे ।


सरकारी जग्गा अतिक्रमण गरी बसोबास गरेका गुलरियाका कमल लोधका नाममा सोही नगरपालिकाको सुरजपुरमा १० कठ्ठा जग्गा रहेको लगतमा उल्लेख छ । लगत लिने क्रममा बारबर्दिया बनघुस्रीकी विष्णुदेवी कुर्मीनीको पनि घरजग्गा रहेको उल्लेख छ । कुर्मीनीजस्तै आठ परिवारको अन्यत्र जग्गा रहेको लगतले देखाएको छ ।

जबर्जस्ती बसोबास गरेकालाई यहाँबाट हटाउने तयारी गरिए पनि हुलाकी सडक निर्माण भइरहेकाले ढिलाइ भएको गुलरिया नगरपालिकाले जनाएको छ । नगर प्रमुख मुक्तिनाथ यादवले कब्जा गरी बसेकाको तीन पुस्ते छानबिन गरिने बताए ।

नदी पनि बाँकी रहेन
०४६ सालपछि सर्यु नदीको करिडोरमा रहेको करिब ६५ बिघा सार्वजनिक जग्गा व्यक्तिले आफ्नो नाममा दर्ता गरेका छन् । नगर प्रमुख यादवले उक्त जग्गा ०२१ सालको नापीमा सार्वजनिक भनी उल्लेख रहेको सुनाए ।

मुलुककै दुर्लभ वन्यजन्तु कृष्णसार संरक्षण क्षेत्रको तालको पश्चिमतर्फको जग्गा, पण्डितपुर, खैरी, सुरजपुरलगायतका क्षेक्रमा रहेको सार्वजनिक जग्गा व्यत्तिका नाममा दर्ता भएको उनले बताए । सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता भएको भए खारेज हुने मालपोत कार्यालयका प्रमुख विक्रम गिरीले बताए ।

प्रकाशित : जेष्ठ १, २०७६ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्

शौचालय जान घण्टौं लाइन

ताप्लेजुङ कारागार
कारागार क्षमता २५ जना, कैदीबन्दी १३८
आनन्द गौतम

ताप्लेजुङ — ताप्लेजुङ कारागारमा स्थापना पछिकै सबैभन्दा धेरै कैदीबन्दी यसपालि भएका छन्  । कारागारको क्षमता २५ जना भएको मंगलबारसम्म १ सय ३८ कैदीबन्दी भएको जेलर धनीराम चौधरीले बताए  ।

चौधरीका अनुसार अहिलेसम्मको तथ्यांकले यो संख्यालाई जेल स्थापनापछिकै सबैभन्दा बढी देखाएको छ । यो १९९२ सालमा बनेको कारागार हो । अहिले कैदी ८९ र थुनुवा ४९ जना छन । कर्तब्य ज्यान, ज्यान मार्ने उद्योग, जबरजस्ती करणी, डाका, चोरी, लागुऔषध खैरो हिरोइन, जिउ मास्ने बेच्ने, बैदेसिक रोजगार, सवारी ज्यान अंगभंगमा जेल सजाय तोकिएका र अभियोग लागेका छन् ।

हाडनाता करणी, हातहतियार खरखजाना, विस्फोटक पदार्थ, सार्वजनिक अपराध मुद्दामा बैंकिङ कसुर, बहुविवाह, आगजनी, ठगी, गौवध अभद्र ब्यवहार, अपहरण तथा शरीरबन्धक मुद्दाका पनि छन् । सबैभन्दा बढी जबरजस्ती करणीका छन् । यो मुद्दाअन्तर्गत ४० जना रहेको कारागार शाखाले जनाएको छ । २१ जना कैदी र १९ थुनुवा यो मुद्दा अन्तर्गतका छन् ।


कारागार शाखाका अनुसार असोजदेखि कैदी र थुनुवाको संख्या अत्यधिक बढेको हो । ‘डिएसपी (प्रहरी नायव उपरीक्षक) सञ्जयसिंह थापा सरुवा भएर आएपछि भरिन थालेको कारागारमा अहिले त इतिहासै कायम भयो,’ धनिरामले थपे, ‘भित्र त हिडडुल गर्न पनि कठिन जस्तै छ ।’

संख्या बृद्धि भएपछि खाटहरू थपिदिएको र सुत्ने ठाउँ केही फराकिलो बनाइदिएको चौधरी बताउँछन् । खानेपानी, शौचालय र खेलमैदानको भने समस्या रहेको छ ।


‘पहिला जस्तो सहज हुने त कुरै भएन,’ चौधरीले भने, ‘शौचालयका लागि लाइन लागेर पालो मिलाएर गर्नुपर्छ पानी पर्याप्त मात्रामा छैन र खेलमैदान साँघुरो भएको छ ।’ संख्या ठुलो भएर पनि कारागार भित्रको वातावरणभने शान्तपूर्ण रहेको उनले दाबी गरे । ‘झै–झगडा केही पनि छैन, उहाँहरूले पाउने सुविधा सबै हामीले उपलब्ध गराएका छौं,’ चौधरीले थपे, औषधिभने बजेटले नपुगेर बाँकी चलाउनु परेको छ ।’


कारागारमा अहिले अदालतबाट मुद्दा फैसलापछि फरार भएकाहरू आएका छन् । प्रहरीले ज्यान मारेर १० वर्षदेखि फरार रहेकालाई पनि पक्राउ गरेको छ । फरारको संख्या अझै धेरै रहेको अदालतको तथ्यांकले देखाउँछ । यहि अनुपातमा पक्राउ परिरहे यहाबाट बाहिर पठाउनै पर्ने अवस्था आउने कारागार शाखाको बुझाइ छ । महिलाका लागि राख्ने ठाउँ नभएकाले ताप्लेजुङमा मुद्दा चलेका ५ जना पाँचथरको फिदिम कारागारमा छन ।


यो संख्या घट्ने सम्भावना कम रहेको चौधरी बताउँछन् । प्रकृयागत रुपमा जेठ महिनामा छुट्ने एकजना मात्रै छन । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिले दिने माफी मिनाहाका लागि ४ जनाको सिफारिस गरिएको छ । यही संख्यालाइ आधार मानेर ५ जना छुटे जेठ महिनाभरी कारागारमा १ सय ३३ जना हुनेछन । तर जिल्ला प्रहरी कार्यालयका अनुसार हिरासत अहिले पनि भरिभराउ छ । तीमध्ये कतिपयको कारागार चलानको सम्भावना रहेकाले संख्या अझै बड्ने देखिएको छ । कर्तब्य ज्यानका ३६ जना छन् ।


३० जना कैदी र ६ जना थुनुवा । कारागारभित्र तीनवटा मात्रै शौचालय छ । बिहान ५ बजेदेखि १० बज्दासम्मै शौचालयमा लाइनमा बस्नुपर्ने कैदीबन्दीको गुनासो छ । उनीहरूलाई राती बाहिरबाट ताला लगाएर कारागार भित्रको भवनमा राखिन्छ र बिहान उज्यालो भएपछि मात्रै ढोका खुला हुन्छ । एकजना सुत्ने खाटमा तीन जनासम्म सुत्ने गरेको कैदीहरू बताउँछन् ।


त्यसमा नअटाएर भुइमा ओछ्यान लगाएर धेरैले सुत्ने गरेका छन । मानव अधिकारवादी तथा सरकारी निकायबाट पनि बेलाबेला कारागारको अनुगमन हुनेगरेको छ । यस्लाइ सुधार्न उनीहरूले सुझव दिने गरेका छन । तर सुधारभने भएको छैन । ताप्लेजुङा फुङलिङ नगरपालिका २ मा कारागारको साढे ७ रोपनी जमिन रहेको छ । तर अहिलेसम्म बनाउने विषयमा कुनै जानकारी प्राप्त नभएको कारागार शाखाले जनाएको छ । कैदीबन्दीलाई कडा गर्ने ब्यवस्थापनको विषयमा सरकारको ध्यान नपुगेको अधिकारकर्मीहरू बताउँछन् ।


यहाँको पर्खालपनि जिर्ण बनेको छ । वैशाख १२ गतेको भूकम्पपछि यो कारागारको पर्खाल २ पटक भत्किसकेको छ । ४० मिटर लामो पर्खाल भत्किएपछि काँडा लगाएर कैदीबन्दीलाई राखिएको थियो ।

प्रकाशित : जेष्ठ १, २०७६ १०:४१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT