कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

नगरपालिकाको जग्गा अतिक्रमण

कमल पन्थी

बर्दिया — गुलरिया नगरपालिकाको ११ बिघा सार्वजनिक जग्गा अतिक्रमण गरिएको छ  । भारतीयसहित नेपाली नागरिकले यहाँ अस्थायी घर बनाएका छन्  ।

घरजग्गा भएकाले समेत सुकुम्बासीका नाममा अस्थायी टहरा बनाई अतिक्रमण गरेको गुलरिया नगरपालिकाले जनाएको छ ।


अतिक्रमणकारीलाई जग्गा खाली गर्न पटक–पटक उर्दी जारी गरे पनि अटेर गरी बस्दै आएको नगरपालिकाले जनाएको छ । गुलरिया नपा–८ मा अतिक्रमण गरी बस्दै आएका भारतको आसाम, उत्तरप्रदेशका करिब एक दर्जन भारतीय नागरिक रहेको नगरपालिका स्रोतले जनाएको छ ।

अन्यत्र घरजग्गा केही नभएपछि सरकारी जग्गामा बस्दै आएको उनीहरूले बताए । चार वर्षअघि नगरपालिकाले ६३ घरपरिवारले सार्वजनिक जग्गा अतिक्रमण गरी बसोबास गरेको लगत लिएको थियो । गुलरिया नगरपालिकाका कार्यकारी अधिकृत रामचन्द्र पौडेलले अतिक्रमणकारीलाई हटाउन जनप्रतिनिधिले कारबाही फ्रक्रिया अघि बढाइसकेको बताए । अतित्रमण गरेर बसेका अधिकांशको अन्यत्र घरजग्गा रहेको उनले दाबी गरे ।


सरकारी जग्गा अतिक्रमण गरी बसोबास गरेका गुलरियाका कमल लोधका नाममा सोही नगरपालिकाको सुरजपुरमा १० कठ्ठा जग्गा रहेको लगतमा उल्लेख छ । लगत लिने क्रममा बारबर्दिया बनघुस्रीकी विष्णुदेवी कुर्मीनीको पनि घरजग्गा रहेको उल्लेख छ । कुर्मीनीजस्तै आठ परिवारको अन्यत्र जग्गा रहेको लगतले देखाएको छ ।

जबर्जस्ती बसोबास गरेकालाई यहाँबाट हटाउने तयारी गरिए पनि हुलाकी सडक निर्माण भइरहेकाले ढिलाइ भएको गुलरिया नगरपालिकाले जनाएको छ । नगर प्रमुख मुक्तिनाथ यादवले कब्जा गरी बसेकाको तीन पुस्ते छानबिन गरिने बताए ।

नदी पनि बाँकी रहेन
०४६ सालपछि सर्यु नदीको करिडोरमा रहेको करिब ६५ बिघा सार्वजनिक जग्गा व्यक्तिले आफ्नो नाममा दर्ता गरेका छन् । नगर प्रमुख यादवले उक्त जग्गा ०२१ सालको नापीमा सार्वजनिक भनी उल्लेख रहेको सुनाए ।

मुलुककै दुर्लभ वन्यजन्तु कृष्णसार संरक्षण क्षेत्रको तालको पश्चिमतर्फको जग्गा, पण्डितपुर, खैरी, सुरजपुरलगायतका क्षेक्रमा रहेको सार्वजनिक जग्गा व्यत्तिका नाममा दर्ता भएको उनले बताए । सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता भएको भए खारेज हुने मालपोत कार्यालयका प्रमुख विक्रम गिरीले बताए ।

प्रकाशित : जेष्ठ १, २०७६ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?