सम्बन्धविच्छेदका मुद्दा बढे

नेपालगन्ज — नयाँ मुलुकी देवानी संहिता ऐन लागू भएपछि यहाँ सम्बन्धविच्छेदका मुद्दा बढेका छन्  । गत भदौमा पुरानो मुलुकी ऐन विस्थापित भएर नयाँ ऐन लागू भएको थियो  ।

त्यसयता सम्बन्धविच्छेदका लागि पुरुष पनि अदालत धाउन थालेका छन् । बाँके जिल्ला अदालतमा अहिलेसम्म सम्बन्धविच्छेदका लागि पुरुषले ९३ र महिलाले ४ सय ६५ मुद्दा दायर गरेका छन् ।

विगतमा भन्दा सम्बन्धविच्छेदका मुद्दा बढदै गएको अदालतका स्रेस्तेदार यदुनाथ शर्माले बताए । प्रत्येक महिना कम्तीमा १५ जना पुरुषले सम्बन्धविच्छेदका लागि मुद्दा दायर गरेको तथ्यांकले देखाएको शर्माले बताए । उनका अनुसार अदालतमा दायर भएका मध्ये २ सय ८५ मुद्दा फैसला भइसकेका छन् । २ सय ७३ मुद्दा विचाराधीन अवस्थामा छन् । आर्थिक वर्ष ०७४/७५ मा जिल्ला अदालतमा सम्बन्धविच्छेदका लागि १ सय ३० जनाले मुद्दा दर्ता गराएका थिए । चालु आर्थिक वर्षमा संख्या हवात्तै बढेको छ । ०७५/७६ को वैशाखसम्ममा मात्रै ४ सय २८ मुद्दा दर्ता भइसकेको अदालतले जनाएको छ ।

नयाँ कानुन लागू भएपछि अन्य प्रकारका मुद्दामा कमी आएको छ । तर, सम्बन्धविच्छेदका मुद्दा भने बढेको अदालतले जनाएको छ ।

श्रेस्तेदार शर्माले नयाँ कानुन लागू भएपछि पुरुषले आफ्नो हक प्रयोग गर्दै सीधै अदालतमा यस्तो मुद्दा दर्ता गर्न पाउने भएका कारण संख्या वृद्धि भएको बताए । बालविवाह र वैदेशिक रोजगारीबाट फर्किने पुरुषले पत्नीको आचरणमाथि शंका गर्नु, पति विदेशमै रहेका बेला परपुरुषसँग सम्बन्ध जोडिनुजस्ता कारणले सम्बन्धविच्छेद गर्ने दम्पतीको संख्या बढदै गएको शर्माले बताए ।

‘उमेर नपुग्दै बिहे हुन्छ, महिला घरमै बस्छन् तर पुरुष अध्ययन वा कामको सिलसिलामा बाहिर बस्छन्,’ उनले भने, ‘लामो समयसम्म बाहिर बस्दा अन्य महिलासँग सम्बन्ध नजिकिन्छ अनि अर्को बिहे गर्ने निर्णयमा पुग्छन्, यही कारणले अधिकांश सम्बन्धविच्छेद हुने गरेको छ ।’

कम उमेरमा विवाह हुनु र परिपक्व हुँदै गएपछि एकले अर्कालाई मन नपराउने कारणले सम्बन्धविच्छेद गर्ने प्रवृक्ति बढेको अधिवत्ता वसन्त गौतमले बताए । वैदेशिक रोजगारीका कारण पनि पतिपत्नीबीच सम्बन्धविच्छेद हुने गरेको उनले बताए । जिल्ला अदालतमा भेटिएकी स्थानीय एक महिलाले श्रीमान् वैदेशिक रोजगारीमा गएर फर्केपछि कुटपिट गर्न थालेकाले सम्बन्धविच्छेदको निर्णयमा पुगेको बताइन् ।

प्रकाशित : जेष्ठ २, २०७६ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?