२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

लुम्बिनी क्षेत्रमा सरसफाइ

लुम्बिनी — बुद्ध जयन्तीको अवसर पारेर लुम्बिनी प्रेस क्लबले बुधबारबाट लुम्बिनीमा सरसफाइ अभियान सुरु गरेको छ  । क्लबले प्रत्येक महिनाको एक दिन लुम्बिनी र आसपास बजार क्षेत्रमा सफाइ अभियान संचालन गर्ने जनाएको छ  ।

यसअघि एक महिनासम्म लुम्बिनी क्षेत्र सफा राख्न क्लबका सदस्यले सामाजिक सन्जालमा चेतनामूलक नारा पोस्ट गरेका थिए ।

यहाँस्थित मैलवार क्षेत्रमा आयोजित सफाइ कार्यक्रममा समाचार लेख्ने र फोटो खिच्ने तीन दर्जन पत्रकार सहभागी थिए । उनीहरू सबैले फोहोर संकलन गर्दै चेतना फैलाएका थिए । अभियानमा स्थानीय महिला समूह, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना सहभागी थिए । स्थानीय पर्यटन व्यवसायी र लुम्बिनी विकास कोषका कर्मचारीले पनि साथ दिए ।

प्रेस क्लबका अध्यक्ष दीपेश पछाईं सधैं कलम र डायरी बोकेर कार्यक्रम र घटनाको समाचार संकलन गर्न धाइरहेका देखिन्थे । यहाँ भने फरक काममा खटिएका थिए ।

हातमा पन्जा र कुचो बोकेका थिए । बुद्ध जन्मस्थल लुम्बिनीमा रहेको मैलवार बजारमा फोहोर बटुल्दै थिए । उनले प्रत्येक महिना सफाइ र जनचेतनाका कार्यक्रम आयोजना गर्ने जनाए । उनीजस्तै संचारकर्मी राधेश्याम विश्वकर्माले मास्क र पन्जा लगाएर सडक सफाइ गरिरहेका थिए ।

गुटखा, सूर्तिका खोल संकलन गरेर डस्टबिनमा राख्दै स्थानीयलाई यसरी नफ्याँक्न सम्झाइरहेका थिए । लुम्बिनी प्रवेश गर्ने पाँच नम्बर द्वारबाट सफाइ सुरु गरिएको थियो । त्यसपछि मैलवार हुँदै पाँच सय मिटरसम्म सडक दायाँबायाँ र स्थानीय बजार सफाइ गरेको थियो ।

त्यसपछि मायादेवी मन्दिर नजिक राजकीय विहार पनि सरसफाइ गरेका थिए । उनीहरूले लुम्बिनी क्षेत्रभित्रका बाटा बढारेका थिए । उनीहरू गर्मीले असिनपसिन बनेका थिए । तर, कुचो र बेल्चा छाडेनन् । बिहान साढे २ घन्टा सरसफाइ गरेका थिए । सरसफाइपछि सबै कार्यक्षेत्रमा फर्किएका थिए ।

‘संचार क्षेत्रको सामाजिक उत्तरदायित्व पनि हुन्छ,’ वातावरण पत्रकार नारायण सापकोटाले भने, ‘त्यही भएर यस्तो अभियान थालेका हौं ।’ आगामी जेठ ४ गते बुद्ध पूर्णिमा रहेको छ । त्यसै दिनबाट लुम्बिनी भ्रमण वर्षको सुरुआत हुँदैछ ।

‘यति ठूलो अवसरमा पनि यहाँ फोहोरका थुप्रा रहेछन्,’ उनले भने, ‘हामीले सफा गर्नुपर्छ भन्ने सन्देश दिन कार्यक्रम गरेका हौं, स्थानीय र लुम्बिनी विकास कोषले पनि सघाउनु पर्छ ।’

प्रकाशित : जेष्ठ २, २०७६ ११:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?