कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

संस्कृत शिक्षाको प्रवर्द्धन भएन

दुर्गालाल केसी

दाङ — नेपाल संस्कृत विश्वविद्यालय (नेसंवि) का पदाधिकारीले शिक्षा प्रवर्द्धनमा समस्या भएको बताएका छन् । नेसंवि अन्तर्गत जनता विद्यापीठ बिजौरीमा नवनिर्मित ३४ कोठे व्यावसायिक भवन उद्घाटन कार्यक्रममा बोल्दै बुधबार उपकुलपति कुलप्रसाद कोइरालाले संस्कृतको अध्ययन र अनुसन्धान गर्ने प्रवृत्ति निकै कम रहेको बताए ।

‘हाम्रा विद्वान्ले संस्कृत शिक्षाको महत्त्वबारे अध्ययन र अनुसन्धान गर्न सक्नुभएको छैन । अब केही वर्षमा हाम्रो शिक्षाबारे विदेशीले अनुसन्धान गर्नेछन् र हामी त्यही पढ्नेछौं,’ उनले भने, ‘हामीले संस्कृत शिक्षाको महत्त्वबारे आमनागरिकलाई बुझाउन सकेका छैनौं । हाम्रो विश्वविद्यालयको महत्त्वबारे उचित प्रचारप्रसार गर्न सकेनौं ।’


विश्वविद्यालयलाई जागिर खान, खुवाउन दबाब दिने र राजनीति गर्ने थलो बनाउने गरिएको उनले बताए । ‘जबसम्म मेरो मान्छेलाई जागिर लगाइदे भनेर फोन गर्ने, गेटमा आएर कुर्लने काम बन्द हुँदैन, तबसम्म संस्कृत शिक्षाको विकास हुन सक्दैन,’ उनले भने, ‘विश्वविद्यालय जागिर खाने थलो हुन सक्दैन । यो अध्ययन अनुसन्धानको केन्द्र हो ।’


आफ्नो चारवर्षे कार्यकाल सकिन लागेको र अहिलेसम्म गलत क्रियाकलापविरुद्ध उभिदै आएको उनले बताए । ‘म सुरुमा आउँदा गलत काम रोक्छु भन्ने प्रतिबद्धता थियो, अहिलेसम्म त्यसमा अडिग छु,’ उनले भने, ‘यहाँ गलत प्रवृत्तिलाई मलजल गर्ने गरिन्छ । बौद्धिक काम हुन पाउँदैनन् । यस्ता प्रवृत्ति रोकिनैपर्छ ।’


प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले पनि संस्कृत शिक्षाको गहिराइमा पुगेर अध्ययन, अध्यापन तथा अनुसन्धान गर्ने काम हुन नसकेको बताए । ‘संस्कृतका धेरै विद्वान् हुनुहुन्छ तर यसका विभिन्न पक्षबारे अनुसन्धान गर्ने र पुस्तक निकाल्ने काम हुन सकेका छैनन्,’ उनले भने, ‘संस्कृतलाई संस्कृत भाषामै बुझाउन सकिंदैन । यसको महिमाबारे नेपाली भाषामा प्रस्ट पारेर धेरै मानिससमक्ष पुग्नुपर्छ ।’


विश्वविद्यालयलाई गति दिन र समय अनुसार विकास गर्न पदाधिकारीहरूले पनि जिम्मेवार भएर काम गर्न नसकेको उनले गुनासो गरे । तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले विश्वविद्यालय जमिन्दारी प्रथाबाट माथि उठेर प्राज्ञिक अभ्यासमा लाग्नुपर्ने बताए ।


‘कृषि कक्षा चलाउने गरी तयार पारिएको जग्गा ठेक्कामा लगाएर नेसंविले जमिन्दारी प्रवृत्ति देखायो । यसले हामीलाई साह्रै दुःखी बनाएको छ,’ उनले भने, ‘शैक्षिक क्रियाकलाप प्रवर्द्धनका लागि हामी लगानी गर्न तयार छौं तर विश्वविद्यालयले यसबारे गम्भीरता देखाउन सकेन ।’


नेसंविका शिक्षाध्यक्ष रमेशप्रसाद ढकालले समयानुकूल पाठ्यक्रम बनाउन समिति गठन भइसकेको र अब छिट्टै त्यसले काम गर्ने जानकारी दिए । ‘संस्कृत शिक्षालाई थप वैज्ञानिक र व्यावहारिक बनाउने गरी पाठ्यक्रम बनाउने तयारी भइरहेको छ,’ उनले भने, ‘यसले थप अध्ययन, अनुसन्धानमा सहयोग गर्नेछ ।’


सडक छेउमा रहेको जग्गालाई व्यावसायिक रूपमा उपयोग गर्न ३४ कोठे भवन निर्माण गरिएको जनता विद्यापीठका प्राचार्य माधव अधिकारीले बताए । भवनको भाडाबाट आउने रकमले संस्कृत शिक्षाको प्रवर्द्धनमा रचनात्मक काम गर्न सकिने उनले बताए । भवन निर्माणमा १ करोड ९१ लाख बढी खर्च भएको विद्यापीठका लेखा प्रमुख नवीन पोख्रेलले बताए ।


कार्यक्रममा मानपुरका शिक्षाप्रेमी कुमुदराज शर्माले विद्यापीठमा ६ लाखको अमर आशा छात्रवृत्ति कोष निर्माणका लागि रकम हस्तान्तरण गरेका थिए ।


उक्त रकमबाट उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने उनले जानकारी दिए । यसैगरी बिजौरीका अनोद देवकोटा र बबिता देवकोटाले विद्यापीठ परिसरमा सरस्वतीको मन्दिर निर्माण गरिदिने घोषणा गरेका थिए ।

प्रकाशित : जेष्ठ ३, २०७६ १०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?