कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

प्रदेश ५ मा महिला हत्या बढ्यो

अमृता अनमोल

बुटवल — १९ वर्षे सवनाम निशाको घरमा विवाहको सरसल्लाह हुँदै थियो । आफन्तले जेठ महिनामै बिहे गर्ने टुंगो लगाए । उनी बिहेको टुंगो लगाएकै साँझ घरबाटै हराइन् । वैशाख ३० मा हराएकी उनलाई घरपरिवारले निकै खोजी गरे ।

आफन्तकहाँ चहारे । तर रूपन्देहीको गैडहवा गाउँपालिका भुजौलीकी निशा भेटिइनन् ।


तिनै निशा बुधबार बिहान अर्थात जेठ १ मा घरनजिकै कुलोमा मृत अवस्थामा फेला परिन् । आफन्तले हत्या गरेर फालेको दाबी गरेका छन् । प्रहरीको प्रारम्भिक अनुसन्धानले पनि त्यही देखाएको छ । स्थानीयको भनाइमा निशा घरनजिकै छिमेकीसँगको प्रेम सम्बन्धमा थिइन् । उनी हराएदेखि ती युवा पनि फरार छन् ।


'यद्यपि हत्या कि आत्महत्या वास्तविकता पोस्टमार्टमपछि मात्रै खुल्नेछ,' रूपन्देहीका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक हृदय थापाले भने, 'मृतकको शब पोस्टमार्टका लागि टिचिङ अस्पताल काठमाडांै पठाएका छौं ।' घटनामा संलग्न भएको आशंकामा प्रहरीले छिमेकी अजित उद्दिन मुसलमानलाई पक्राउ गरेको छ । हराएका युवाको पनि खोजी तीव्र पारेको प्रहरी प्रमुख थापाले बताए ।


वैशाख २१ मा बुटवल उपमहानगरपालिका १४ विनायकपुरकी २५ वषर्ीया लक्ष्मी खत्री घरभित्रै मृत अवस्थामा भेटिइन् । मृत्युको अघिल्लो बिहान उनी सासूबाट कुटिएर घाइते भएकी थिइन्। स्थानीयका अनुसार उक्त दिन राति १० बजेतिर घरमा रुवाबासी चलेको थियो ।


अर्को दिन बिहान झुन्डिएको अवस्थामा भेटिएकी थिइन् । अर्घाखाँची, गोखुंगाकी लक्ष्मीको ७ वर्षअघि रूपन्देहीमा विवाह भएको थियो । उनले बिहेपछि नै दाइजो नल्याएको निहुँमा सासू लगायतका परिवारबाट हिंसा भोगेकी थिइन् । पछिल्लो समय हिंसा कुटपिटमा बदलिएको थियो । उनकी ६ वर्षे छोरी छन् ।


पति वैदेशिक रोजगारीको सिलसिलामा छन् । बाबु डोमबहादुर खत्रीले नातिनी जन्मिसकेकाले यसअघि छोरीले हिंसाका कुरा बताउँदा पनि बेवास्ता गरेको बताए । तिनै बाबु र छिमेकीले अहिले लक्ष्मीको हत्या भएको भन्दै उजुरी दिएका छन् ।


इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले सासू हरिमाया खत्रीलाई पक्राउ गरी आत्महत्या गर्न बाध्य बनाएकामा मुद्दा दायर गरिएको बताए । 'हत्या हो कि भन्ने विषयमा पनि थप अनुसन्धान हुँदैछ । छिमेकीले नन्दको पनि संलग्नता भएको दाबीसहित नाराजुलुस गरेका छन्,' उनले भने, 'त्यसबारे पनि छुट्टै अनुसन्धान गरेका छौं ।'


पछिल्लो समय रूपन्देही मात्र होइन प्रदेश ५ मै महिला हत्याका घटना बढेका छन् । चालु आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्मको १० महिनामा प्रदेशमा ४१ महिलाको हत्या भएको छ । ३ सय ६४ महिलाले आत्महत्या गरेका छन् । आत्महत्या गरेका धेरैमा हिंसा सहन नसकेर आत्महत्या गरेको उल्लेख छ ।


कतिपयमा आफन्तले हत्या नै भएको जाहेरी दिएका छन् । प्रदेशका प्रहरी कार्यालयहरूमा दिनहुँजसो प्रहरीमा हत्या भएका वा आत्महत्या गर्न बाध्य भएका उजुरी आउने गरेका छन् । महिला मृत अवस्थामा भेटिने तर अनुसन्धान गर्दै जाँदा हत्या भएको वा आत्महत्या गर्न बाध्य भएका घटना धेरै भएको प्रदेश ५ प्रहरी कार्यालय दाङका प्रवक्ता टीकाबहादुर कार्कीले बताए । धेरै घटनामा घरपरिवार नै संलग्न भएको पाइएको छ ।


प्रहरी अनुसन्धानमा लोभ, लालच र इगोलाई बेलैमा समाधान गर्न नसक्दा ससाना विवाद र कारणमा महिला हत्याका घटना भएकोे देखाइएको छ । श्रीमान्-श्रीमती र घरपरिवार, साथी तथा छिमेकी बीचको अविश्वास बढ्दा पनि धेरै हत्याका घटना भएका छन् । अपरिपक्व उमेरमा हुने प्रेमसम्बन्ध, यौन विचलन र नशालु पदार्थको सेवनले पनि महिलामाथि हिंसा हुँदै हत्यामा परिणत भएका छन् ।


महिला अघि बढ्नु वा सक्षम हुनु पुरुषको अधिकार खोसिनु हो भन्ने हिसाबको बुझाइले रोक्न खोज्दा पनि कतिपय हत्या भएका छन् । हिंसा सहने धेरै महिला हिंसामै छन् । धेरैमा हिंसा सहन नसकेर उपाय खोज्ने वा प्रतिकार गर्न खोज्ने महिलाको हत्या भएको छ ।


त्यसको उदाहरण वाणगंगा नगरपालिका बालापुरकी २१ वषर्ीय सुनीता थारू हुन् । १६ वैशाखमा उनको शव हत्या गरी फालिएको अवस्थामा घर नजिकैको वाणगंगा खोला किनारमा भेटिएको थियो । पारिवारिक मनमुटावपछि उनी र उनका पति सुरेश थारूबीच हत्याको अघिल्लो दिन प्रहरीमा मिलापत्र भएको थियो ।


कागजी रूपमा मिलापत्र भए पनि सुरेशले त्यसको इगो पालेका थिए । यही इगोका कारण हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

प्रकाशित : जेष्ठ ४, २०७६ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?