पर्यटक भित्र्याउन जंगलमा महायज्ञ

वीरेन्द्र केसी

अर्घाखाँची — पर्यटक भित्र्याउन पाणिनिको जंगलमा महायज्ञ संचालन । पहाडको अग्लो टापुमा चार सय वर्षपहिले पाणिनिले यहाँको पणेना र पोखराथोकको बीच जंगलमा ३० वर्षसम्म विश्व शान्तिको कामना गर्दै तपस्या गरेका थिए ।

अर्घाखाँचीको पाणिनि तपोभूमिमा लागेको महायज्ञमा भक्तजन । तस्बिर : वीरेन्द्र/कान्तिपुर 

तपस्यासँगै उनले विश्वको प्राचीन संस्कृत भाषाको व्याकरणको रचनासमेत गरेको धार्मिक तथा ऐतिहासिक ग्रन्थहरूमा उल्लेख छ ।

त्यसको संरक्षण र प्रवर्द्धनका लागि पर्यटक भित्र्याउन पाणिनि तपोभूमिमा धार्मिक महोत्सव लगाइएको हो । मंगलबारबाट सुरु धार्मिक महायज्ञ व्यासाचार्य भुवन गुरुले कथावाचन गरेका छन् । यज्ञ सोमबारसम्म चल्नेछ । विभिन्न व्यक्तिले दान गरिरहेका छन् । दैनिक पाँच सय भक्तजनले अवलोकन गरिरहेको महायज्ञ मूल समारोह समितिका संयोजक युवराज ज्ञवालीले बताए ।

शान्तिका लागि तपस्या गरेको र विश्वको प्राचीन संस्कृत भाषाको व्याकरणको रचना गरेको भएकाले यो ऐतिहासिक महत्त्वको ठाउँलाई चिनाउन महायज्ञले ठूलो टेवा पुग्ने विश्वासपाणिनि गाउँपालिका अध्यक्ष अच्युत गौतमले बताए ।

पोखराथोक, पणेना, पटौटी खिदिम गाउँका स्थानीय सात दिनसम्म घरको एक जना उपस्थित हुन्छन् । बाहिरबाट आउने पाहुनालाई स्वागत गर्दै पाणिनिको चिनारी बताउँछन् । मूल समारोह समितिले नयाँ अनुहार देख्नेबित्तिकै खादा ओढाएर सम्मान गर्ने र धार्मिक पाठतर्फ लैजानेगर्छन् । महोत्सव लगाउनुको उद्देश्य पाणिनिको महत्त्व र इतिहासका बारेमा जानकारी गराउनु रहेको महायज्ञमूल समारोह समितिका संयोजकज्ञवालीले बताए ।

प्रचार अभावमा ऐतिहासिक स्थल महत्त्वहीन भएको थियो । थाहा पाएका केही आन्तरिक तथा बाह्य पर्यटक अध्ययन गर्न पाणिनिमा पुग्थे । मन्दिर निर्माण, पाणिनीको मूर्ति र तपस्या गरेको ठाउँलाई संरक्षण गरिने ज्ञवालीले बताए । महायज्ञसँगै पूर्वाधार निर्माणका कार्यक्रम पनि तीनवटै सरकारले सञ्चालन गरेका छन् । शान्तिका लागि तपस्या गरेको स्थान र संस्कृत व्याकरणको अध्ययन केन्द्र बनाउने योजना रहेको उनले सुनाए ।

यसपालिको महायज्ञमा विगतमा भन्दा दोब्बर भक्तजन सहभागी भएको पाणिनि गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतमले बताइन् । लुम्बिनी आएका पर्यटकलाई पाणिनिमा ल्याउन महायज्ञ लगाएर प्रचारप्रसार गरिएको उनले बताइन् । तराईबाट यहाँ आउन तीनवटा सडकलाई महत्त्व दिइएको छ ।

रूपन्देहीको सालझन्डीबाट पाल्पा हुँदै पटौटी नियालीबाट पाणिनि सडक, सन्धिखर्क–गोरुसिंगे सडकको घुम्ती–पाल्पा र तानसेन–पोखराथोक सडकलाई डबल कटिङ बनाउने काम भइरहेको छ । आएका पर्यटकलाई बस्ने पूर्वाधार बनाउने र अध्ययन स्थलका रूपमा पाणिनिलाई रूपान्तरण गर्ने योजना रहेकोगौतमले सुनाइन् ।

महायज्ञमा काठमाडौं, बुटवललगायत देशका विभिन्न ठाउँबाट भक्तजन आइरहेको उनले बताइन् । ‘महायज्ञको मुख्य उद्देश्य पाणिनिको प्रचारप्रचार गरी पर्यटक भित्र्याउने हो,’ उनले भनिन् । धार्मिक पर्यटकीय स्थल सुपादेउराली मन्दिर र नरपानीमा आउने पर्यटकलाई पनि पाणिनि ल्याइनेछ । लुम्बिनी आउने पर्यटक पाणिनि आउन भनेर पहिलो चरणमा महायज्ञ लगाएर प्रचार गरिएको स्थानीय चन्द्रकान्त पौडेलले बताए । महायज्ञमा विभिन्न धार्मिक कथावाचन भएको छ ।

महोत्सव स्थल वरपर झाडी, जंगल, जैविक विविधता र रमणीय स्थल छन् । महायज्ञमा आएका भक्तजनले पाणिनिले तपस्या गरेको स्थान र विभिन्न जंगलमा सेल्फी तस्बिर खिचेर सामाजिक सन्जालमा राखेका छन् । ५० रोपनी क्षेत्रफलमा फैलिएको तपोभूमिमा रहेको मन्दिरबाट केही वर्ष पहिला एक सय किलो तौल भएको घण्ट चोरी भएको थियो ।

घण्ट रेखदेख गर्ने हेरालु नभएका बेला चोरी भएको स्थानीय बताउँछन् । बेलुका हेरालुले घण्ट बजाउँथे । आवाज सुनेपछि सुख, शान्ति मिल्ने विश्वास थियो । पाणिनिमा बजाएको घण्ट गुल्मी, पाल्पा, बागलुङ, बुटवललगायतका छिमेकी स्थानमासमेत सुनिन्थ्यो ।

प्रकाशित : जेष्ठ ५, २०७६ १०:४०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

लुम्बिनीका अनवरत अभियन्ता

मनोज पौडेल

लुम्बिनी — यहाँको बुद्धस्थलका बारे खोज, अनुसन्धान गर्न आउने अध्येताको रोजाइमा पर्छन्, ६३ वर्षीय वरिष्ठ पुरातफ्वविद् वसन्त बिडारी । जापान बौद्ध परिषद्, पुरातफ्व विभाग र लुम्बिनी विकास कोषद्वारा सन् १९९२ देखि १९९६ सम्म गरिएको मायादेवी मन्दिर उत्खनन, संरक्षण र पुनर्निर्माणमा बिडारीले पुरातफ्वविद्का रुपमा काम गरेका थिए । त्यसपछि पनि उनी निरन्तर खोजी, लेखनमा लागिरहेका छन् । कस्तो छ त उनको खोजी ? 

लुम्बिनीस्थित अशोक स्तम्भ मर्मत गर्दै वरिष्ठ पुरातत्त्वविद् वसन्त बिडारी । तस्बिर : मनोज/कान्तिपुर 

सेतै कपाल । सधैं हँसिलो अनुहार । सरल र मिजासिलो बोली । विषयमा दक्षता । सामान्य जीवनयापन । तर्क र प्रमाणका आधारमा चित्त बुझाउने क्षमता छ । उनको क्रियाशीलता बढै गएको छ ।

सन् १८९६ डिसेम्बर १ मा डा. एए फ्युहरर र खडगशमशेर जबराले लुम्बिनी र अशोक स्तम्भ पत्ता लगाएपछि यस क्षेत्रलाई विश्वसामु चिनाउन उनको योगदान रह्यो ।

बुद्ध जन्मेको स्थानमा राखिएको विशेष चिह्न (मार्क स्टोन) पत्ता लगाउन बिडारीको भूमिका छ । त्यसलाई नबिग्रिने गरी रसायन राखेर सुरक्षित गर्न भूमिका खेले । मार्क स्टोनकै कारण लुम्बिनीको ऐतिहासिकता र प्रामाणिकता बलियो बनेको हो । पुरानो मायादेवी भत्काएर पुरातात्त्विक मान्यताअनुसार नयाँ मन्दिर बनाउन लागे ।

अहिले नयाँ मन्दिर सम्पन्न भएको छ । नयाँ निर्माण गर्दा त्यहाँ रहेको पुरानो मायादेवीको मूर्तिलाई सुरक्षित रूपमा निकाले । अस्थायी रूपमा टहरो बनाएर राखे । नयाँ मन्दिर बनेपछि व्यवस्थित रूपमा राख्न पनि उनले नै अगुवाइ गरेको बताए । जीर्ण अशोक स्तम्भ पनि उनले मर्मत गरे, जुन अहिले सुरक्षित र मुख्य आकर्षणका रूपमा छ ।

लुम्बिनीको विकास, संरक्षण र पर्यकटीय गन्तव्य बनाउन सरकारले सन् १९८५ मा लुम्बिनी विकास कोष स्थापना गर्‍यो । बिडारीले त्यसपछि पुरात्त्वविद्का रूपमा कोषमा सेवा प्रवेश गरे । लुम्बिनीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न उनले खोज, अनुसन्धान गरेर प्रमाण जुटाए ।

सन् १९९७ मा युनेस्कोले लुम्बिनीलाई विश्व सम्पदामा सूचीकृत गरेको थियो । युनेस्को र डुर्‍हाम विश्वविद्यालय बेलायतद्वारा लुम्बिनीमा २०११ देखि ०१३ सम्म गरिएको उत्खनन टोलीमा पनि उनले वरिष्ठ परामर्शदाताका रूपमा काम गरेका थिए । डुर्‍हाम विश्वविद्यालयका प्रोफेसर डा. रविन कनिङघम, वरिष्ठ पुरातत्त्वविद् कोषप्रसाद आचार्यको नेतृत्वमा भएको उत्खननबाट प्राप्त तथ्यका आधारमा अमेरिकास्थित इन्स्टिच्युट अफ आर्कलोजीले लुम्बिनीलाई सन् २०१४ मा विश्वका उत्कृष्ट १० पुरातात्त्विक अन्वेषण स्थलका रूपमा घोषणा गरेको थियो ।

उनले तीन दशकभन्दा लामो समयदेखि लुम्बिनी, कपिलवस्तु र नवलपरासीका बुद्धस्थलको अध्ययन र अनुसन्धान गरिरहेका छन् । उनले खोजलाई पुस्तकमा उतारेका छन् । लुम्बिनी र कपिलवस्तुका बुद्धसँग सम्बन्धित पुरातात्त्विक र ऐतिहासिक स्थलका बारेमा भएका खोज, अध्ययन र अनुसन्धानका बारेमा अंग्रेजीमा चारवटा पुस्तक प्रकाशित गरेका छन् । बुद्ध अस्तुधातु रहेको रामग्रामका बारेमा लेखेको पुस्तक एक वर्षभित्र प्रकाशन हुने क्रममा रहेको उनले बताए । उनका अनुसन्धानमूलक लेख भारत, श्रीलंका, थाइल्यान्ड, भियतनाम र म्यानमारका जर्नल र म्यागजिनमा प्रकाशित भइसकेका छन् ।

नौ भाषामा 'लुम्बिनी’
उनले लेखेको ‘लुम्बिनीको मौन आहवान’ पुस्तक विभिन्न नौ भाषामा प्रकाशित छ । पुस्तकमा बुद्ध जन्मनुअघिको लुम्बिनी, बुद्धको जन्मेदेखि मृत्यु, लुम्बिनीमा बुद्धजन्म र संक्षिप्त जीवनी छ । लुम्बिनीमा सम्राट् अशोकको आगमन र निर्माण, चिनियाँ तीर्थयात्रीको तीर्थाटन, इस्वीको चौधौं शताब्दी र त्यसपछिको लुम्बिनीको अवस्था उल्लेख छ ।

लुम्बिनी खोजको सुरुआत, मायादेवी मन्दिर उत्खनन, संरक्षण र पुनःनिर्माण, प्राचीन स्मारक र लुम्बिनीमा विकासको सुरुआतसम्बन्धी विषय छन् । नेपाली, अंग्रेजी, थाई र चाइनिज भाषामा प्रकाशित छन् । बर्मिज, जापानिज र सिंहला (श्रीलंकाली) भाषामा पनि पुस्तक प्रकाशन भएका छन् । भर्खरै नेवारी र हिन्दीमा पुस्तक प्रकाशित भएका छन् । तिब्बती भाषाको पुस्तक छापाखानामा गएको छ ।

बिडारीले आफ्नै खर्चमा सबै भाषामा पुस्तक प्रकाशित गरेका हुन् । अंग्रेजीमा आफैं लेखेका उनले नेपालीलगायत अन्य ८ भाषामा विज्ञद्वारा अनुवाद गराएका हुन् । ‘नेपालको राम्रो पर्यटन प्रवर्द्धन होस्,’ उनले भने, ‘लुम्बिनी बुझ्न सजिलो होस् भनेर प्रकाशन गरेको हुँ ।’ श्यामश्वेत फोटो र स्केचले पुस्तकको प्रमाणीकता थपेको छ ।

डिजिटल प्रविधि भित्रिएपछिको रंगीन र एरियल फोटोले पुस्तक थप आकर्षित बनाएको छ । एक सयभन्दा बढी तस्बिर पुस्तकमा छन् । ‘लुम्बिनी प्रचारप्रसारका लागि पुस्तक प्रकाशित गरेको हुँ,’ उनले भने, ‘खर्च उठेको छ ।’ पुस्तकबाट हुने आम्दानी हेटौंडाको असहाय गृह र कपिलवस्तुको बालगृहलाई बर्सेनि दान दिने गरेको उनले बताए ।

श्रीलंकामा 'रिप्लिका’
चार वर्षयता उनी श्रीलंका सरकारको परामर्शदाता भएर काम गरिरहेका छन् । श्रीलंकाको राजधानी कोलम्बो नजिक पिलियन्दलमा लुम्बिनी र कपिलवस्तु (तिलौराकोट)को रिप्लिका बनाउँदै छन् । त्यहाँ उनले पवित्र पुष्करणी पोखरी र राजप्रासाद बनाउँदै छन् । लुम्बिनी र तिलौराकोटको अनुभूति दिने गरी काम थालेका छन् ।

करिब २० प्रतिशत काम पूरा भएको छ । श्रीलंकामा राम्रो काम गरेबापत गत बुद्ध जयन्तीमा त्यहाँका राष्ट्रपति मैत्रीपाला सिरिसेनालेबाट सम्मान मिलेको उनले बताए । ७८ एकड जग्गामा बनाउन लागिएको उक्त रिप्लिका निर्माणका लागि पाँच सय मिलियन श्रीलंकन रुपैयाँ विनियोजन गरिएको छ । राजकुमारका लागि बनाइएका रम्य, सुरम्य र शुभ नामक दरबार निर्माण भइरहेका छन् ।

सबैको रोजाइ
युनेस्को नेपालका वरिष्ठ परामर्शदाता उनले यहाँ आउने सबै उमेर समूहलाई बुद्धस्थल भ्रमण गराएका छन् । नेपालका पूर्वराजाहरू वीरेन्द्र, ज्ञानेन्द्र र दीपेन्द्रदेखि धेरै प्रधानमन्त्री, मन्त्रीलाई पथ प्रदर्शन गरेका छन् । भुटानकी महारानी दोर्जे वाङचुकदेखि संयुक्त राष्ट्र संघका महासचिवद्वय वानकी मुन र हाभियर पेरेज द कोइयार आएका बेला उनै पथ प्रदर्शक थिए । बलिउड सुपरस्टार हिरो आमिर खानलाई लुम्बिनी अवलोकन भ्रमण गराएका छन् ।

राजा शुद्धोदनको राजप्रासाद तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न उनले प्रक्रिया थालेका थिए । सन् १९९६ मा युनेस्कोको प्रारम्भिक सूचीमा तिलौराकोट परेको थियो । भारतको कलकत्तास्थित विश्व भारती विश्वविद्यालय शान्ति निकेतनबाट इतिहास, संस्कृति र पुरातत्वमा स्नाकोत्तर गरेका उनले दिल्लीबाट भारतीय पुरातत्त्व सर्वेक्षणमा पोस्ट ग्राजुयट गरेका छन् ।

नयाँ–नयाँ खोज
सन् १८९५ मा डा. एए फ्युहररले तिलौराकोटमा उत्खनन गर्दा आसपास क्षेत्रमा १२ ऐतिहासिक र पुरातात्त्विक स्थल पत्ता लगाएका थिए । त्यसपछि सन् १८९९ मा भारतीय पिसी मुखर्जीले तिलौराकोट उत्खनन गर्दा २० नयाँ ऐतिहासिक र पुरातात्त्विक स्थल पत्ता लगाए । त्यसपछि सन् १९६२ मा भारतीय पुरातत्त्वविद् देवला मित्राले थप ३५ नयाँ ऐतिहासिक र पुरातात्त्विक स्थल पत्ता लगाएकी थिइन् ।

सन् १९७२ मा नेपाली पुरातत्त्वविद् बाबुकृष्ण रिजालले थप १४ नयाँ ऐतिहासिक र पुरातात्त्विक स्थल पत्ता लगाएका थिए । त्यसपछि बिडारीले इटालियन पुरातत्त्व टोलीसँग सन् १९९६ देखि १९९८ सम्म काम गर्दा थप ५५ नयाँ ऐतिहासिक र पुरातात्त्विक स्थल पत्ता लगाएका थिए ।

सन् १९८९ मा निगालीसागर पोखरीमा लडेर अलपत्र परेको निग्लिहवा अशोक स्तम्भको लामो भाग टिनको टहरोमा राखेर संरक्षण गरेका थिए । कपिलवस्तुको पुरातात्त्विक स्थल निग्रोधाराम खोजमा बिडारीको भूमिका रह्यो । सन् २००५ मा उत्खनन अनुसन्धान गरेर उनले त्यहाँको वस्तुस्थिति र पुरातात्त्विक महत्त्व उजागर गर्दै बौद्ध इतिहासमा उल्लेख निग्रोधाराम रहेको पुष्टि गरे ।

यसअघि उक्त ठाउँलाई कुदान भनिन्थ्यो । ‘चिनियाँ तीर्थयात्रीको भनाइ र पुरातात्त्विक महत्त्वको स्थल कुदान निग्रोधाराम हो,’ उनले भने, ‘यो घोषणा गर्न पाउँदा जीवनकै अविस्मरणीय क्षण बन्यो ।’

प्रकाशित : जेष्ठ ५, २०७६ १०:३९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT