१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

पर्यटक भित्र्याउन जंगलमा महायज्ञ

वीरेन्द्र केसी

अर्घाखाँची — पर्यटक भित्र्याउन पाणिनिको जंगलमा महायज्ञ संचालन । पहाडको अग्लो टापुमा चार सय वर्षपहिले पाणिनिले यहाँको पणेना र पोखराथोकको बीच जंगलमा ३० वर्षसम्म विश्व शान्तिको कामना गर्दै तपस्या गरेका थिए ।

पर्यटक भित्र्याउन जंगलमा महायज्ञ

तपस्यासँगै उनले विश्वको प्राचीन संस्कृत भाषाको व्याकरणको रचनासमेत गरेको धार्मिक तथा ऐतिहासिक ग्रन्थहरूमा उल्लेख छ ।


त्यसको संरक्षण र प्रवर्द्धनका लागि पर्यटक भित्र्याउन पाणिनि तपोभूमिमा धार्मिक महोत्सव लगाइएको हो । मंगलबारबाट सुरु धार्मिक महायज्ञ व्यासाचार्य भुवन गुरुले कथावाचन गरेका छन् । यज्ञ सोमबारसम्म चल्नेछ । विभिन्न व्यक्तिले दान गरिरहेका छन् । दैनिक पाँच सय भक्तजनले अवलोकन गरिरहेको महायज्ञ मूल समारोह समितिका संयोजक युवराज ज्ञवालीले बताए ।


शान्तिका लागि तपस्या गरेको र विश्वको प्राचीन संस्कृत भाषाको व्याकरणको रचना गरेको भएकाले यो ऐतिहासिक महत्त्वको ठाउँलाई चिनाउन महायज्ञले ठूलो टेवा पुग्ने विश्वास पाणिनि गाउँपालिका अध्यक्ष अच्युत गौतमले बताए ।


पोखराथोक, पणेना, पटौटी खिदिम गाउँका स्थानीय सात दिनसम्म घरको एक जना उपस्थित हुन्छन् । बाहिरबाट आउने पाहुनालाई स्वागत गर्दै पाणिनिको चिनारी बताउँछन् । मूल समारोह समितिले नयाँ अनुहार देख्नेबित्तिकै खादा ओढाएर सम्मान गर्ने र धार्मिक पाठतर्फ लैजाने गर्छन् । महोत्सव लगाउनुको उद्देश्य पाणिनिको महत्त्व र इतिहासका बारेमा जानकारी गराउनु रहेको महायज्ञ मूल समारोह समितिका संयोजक ज्ञवालीले बताए ।


प्रचार अभावमा ऐतिहासिक स्थल महत्त्वहीन भएको थियो । थाहा पाएका केही आन्तरिक तथा बाह्य पर्यटक अध्ययन गर्न पाणिनिमा पुग्थे । मन्दिर निर्माण, पाणिनीको मूर्ति र तपस्या गरेको ठाउँलाई संरक्षण गरिने ज्ञवालीले बताए । महायज्ञसँगै पूर्वाधार निर्माणका कार्यक्रम पनि तीनवटै सरकारले सञ्चालन गरेका छन् । शान्तिका लागि तपस्या गरेको स्थान र संस्कृत व्याकरणको अध्ययन केन्द्र बनाउने योजना रहेको उनले सुनाए ।


यसपालिको महायज्ञमा विगतमा भन्दा दोब्बर भक्तजन सहभागी भएको पाणिनि गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतमले बताइन् । लुम्बिनी आएका पर्यटकलाई पाणिनिमा ल्याउन महायज्ञ लगाएर प्रचारप्रसार गरिएको उनले बताइन् । तराईबाट यहाँ आउन तीनवटा सडकलाई महत्त्व दिइएको छ ।


रूपन्देहीको सालझन्डीबाट पाल्पा हुँदै पटौटी नियालीबाट पाणिनि सडक, सन्धिखर्क–गोरुसिंगे सडकको घुम्ती–पाल्पा र तानसेन–पोखराथोक सडकलाई डबल कटिङ बनाउने काम भइरहेको छ । आएका पर्यटकलाई बस्ने पूर्वाधार बनाउने र अध्ययन स्थलका रूपमा पाणिनिलाई रूपान्तरण गर्ने योजना रहेको गौतमले सुनाइन् ।


महायज्ञमा काठमाडौं, बुटवललगायत देशका विभिन्न ठाउँबाट भक्तजन आइरहेको उनले बताइन् । ‘महायज्ञको मुख्य उद्देश्य पाणिनिको प्रचारप्रचार गरी पर्यटक भित्र्याउने हो,’ उनले भनिन् । धार्मिक पर्यटकीय स्थल सुपादेउराली मन्दिर र नरपानीमा आउने पर्यटकलाई पनि पाणिनि ल्याइनेछ । लुम्बिनी आउने पर्यटक पाणिनि आउन भनेर पहिलो चरणमा महायज्ञ लगाएर प्रचार गरिएको स्थानीय चन्द्रकान्त पौडेलले बताए । महायज्ञमा विभिन्न धार्मिक कथावाचन भएको छ ।


महोत्सव स्थल वरपर झाडी, जंगल, जैविक विविधता र रमणीय स्थल छन् । महायज्ञमा आएका भक्तजनले पाणिनिले तपस्या गरेको स्थान र विभिन्न जंगलमा सेल्फी तस्बिर खिचेर सामाजिक सन्जालमा राखेका छन् । ५० रोपनी क्षेत्रफलमा फैलिएको तपोभूमिमा रहेको मन्दिरबाट केही वर्ष पहिला एक सय किलो तौल भएको घण्ट चोरी भएको थियो ।


घण्ट रेखदेख गर्ने हेरालु नभएका बेला चोरी भएको स्थानीय बताउँछन् । बेलुका हेरालुले घण्ट बजाउँथे । आवाज सुनेपछि सुख, शान्ति मिल्ने विश्वास थियो । पाणिनिमा बजाएको घण्ट गुल्मी, पाल्पा, बागलुङ, बुटवललगायतका छिमेकी स्थानमा समेत सुनिन्थ्यो ।

प्रकाशित : जेष्ठ ५, २०७६ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?