कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सुरु भएन योजना छनोट

बर्दिया — स्थानीय सरकारले योजना छनोटका लागि चौथो चरण पूरा गरिसक्नुपर्थ्यो । यहाँका सरकार भने त्यसबारे बेखबर छन् । यो समय आउँदो आर्थिक वर्षका लागि योजना छनोटको हो ।

बस्तीस्तरको योजना छान्ने कामको सुरुआत भएको छैन । पुस मसान्तसम्म बजेटको पूर्वतयारी तथा आयव्ययको प्रक्षेपणको तथ्यांक संघीय सरकारलाई पेस गरिसक्नुपर्ने नीति छ । ढिलाइका कारण बस्तीस्तरका योजना छनोटमा समस्या हुन पुगेको हो ।


पहिलो चरणअन्तर्गत गएको चैत मसान्तभित्रै बजेट सिलिङ प्रदेश सरकारलाई पठाइसक्नुपर्छ । तर, संघीय सरकारले समयमै आयव्यय प्रक्षेपण पठाउन सकेनन् । दोस्रो चरणमा स्थानीय सरकारले आफूसँग भएको स्रोत तथा अनुमान बजेटको वैशाख १० गतेभित्रै तयारी गर्नुपर्छ । त्यसलगक्तै बस्ती तथा योजना छनोट कार्यत्रम सुरु गर्नुपर्छ । वैशाख मसान्तभित्रै बस्तीमै पुगेर विकासका योजना छनोट गरिसक्नुपर्ने प्रावधान छ । तर, पहिलो चरणको काममा पालिकाहरू उदासीन देखिएका कारण बस्तीस्तरको काम प्रभावित हुने देखिएको छ ।


बजेटको पूर्वतयारी नगरिए बस्तीका योजना कार्यान्वयनमा समस्या हुनेछ । स्थानीय सरकारले भने बजेट प्रक्षेण तथ्यांक संघीय सरकारलाई पठाउने तयारीमा रहेको दाबी गरेको छ । गुलरिया नगरपालिकाका सूचना अधिकारी अजय ठाकुरले कर्मचारी संयोजनलगायतका कारणले बस्तीस्तरको योजना छनोट प्रक्रियामा ढिलाइ भएको बताए । ‘जनशक्ति अभाव छ । संयोजनका कामहरू बाँकी छन्,’ उनले भने, ‘त्यसैले तोकिएको समयमा काम गर्न नसकिएको हो । छिट्टै योजना छनोटको काम सुरु हुन्छ ।’


त्यस्तै, चौथो चरणमा बडा तहमा छनोट भएका योजनाको प्राथमिकीकरण गर्नुपर्नेछ । जुन जेठ १५ गतेभित्रै गरिसक्नुपर्नेछ । पाँचौं चरणमा असार ५ गतेभिक्रै बजेट तथा कार्यत्रम तर्जुमा गर्नुपर्ने नीति छ । छैटौं चरणमा गाउँ तथा नगरपालिकाको बजेट तथा कार्यक्रम स्वीकृत गरी असार १० गतेभित्रै सक्नुपर्नेछ ।


सातौं चरणमा गाउँ तथा नगरसभाबाट स्वीकृत नीति तथा कार्यक्रम कार्यान्वयन गर्नुपर्नेछ । विकासको मुटु मानिने बस्तीस्तरको योजना छनोट गर्न स्थानीय सरकारले अनुदार देखिएका कारण योजना कार्यान्वयनमा समस्या हुने देखिएको छ ।


स्थानीय सरकार बस्ती नपुग्दा त्यहाँका योजना गाउँमै सीमित छन् । स्थानीय सरकार गठन हुनुअगावै योजना छनोटको काम मंसिर महिनाबाटै सुरु हुने गरेको थियो । योजना तर्जुमा फ्रक्रियाका चरण अवलम्बनबिना स्थानीय तह सशत्त रूपमा सबल हुन सक्दैनन् ।


बाँसगढी नगरपालिकाका सूचना अधिकारी शेरबहादुर केसीले पनि विभिन्न कारणले योजना छनोटमा ढिलाइ भएको बताए । उनका अनुसार वडास्तरीय योजना छनोटको काम केही दिनमै सुरु हुनेछ । ‘अब केही दिनमै योजना छनोटको काम हुन्छ,’ उनले भने, ‘ढिलाइ भएको छ । तर, समयमै काम सक्ने कोसिस गर्छौं ।’


बर्दियामा गुलरिया, बाँसगढी, बारबर्दिया, राजापुर, ठाकुरबाबा र मधुवन नगरपालिका छन् । त्यस्तै, गेरुवा र बढैयाताल गाउँपालिका रहेका छन् । तर, यहाँका स्थानीय सरकार भने योजना छनोटमा ढिलाइ गरिरहेका छन् । पहिलो चरण नै पूरा नगर्दा अन्य चरणमा गर्नुपर्ने काम समयमै सम्पन्न गर्न समस्या देखिएको छ ।


योजना छनोट प्रक्रियाका चरण एकअर्काका परिपूरक मानिन्छन् । ‘बजेटको पूर्वतयारी तथा आयव्यय प्रक्षेपण समयमा नगरिने हो भने संघीय सरकारबाट आउने बजेट प्रभावित हुन सक्छ ।

प्रकाशित : जेष्ठ ५, २०७६ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?