भ्रमण वर्षमा थपिए एसी बस

घनश्याम गौतम

रूपन्देही — बुटवल–भैरहवा सडक ६ लेनमा विस्तार भएपछि यस क्षेत्रमा नयाँ र सुविधासहितका बस थप्ने प्रतिस्पर्धा चल्न थालेको छ । त्यसले सार्वजनिक यातायात भरपर्दो र यात्रुलाई सुविधा पुगेको छ ।

लुम्बिनी भ्रमण वर्षको अवसर पारेर शनिबारदेखि बुटवलबाट भैरहवा, लुम्बिनीसहितका विभिन्न रुटमा चल्ने गरी १५ बस थपिएका छन् ।


लुम्बिनी भिजन लिमिटेडले सञ्चालन गरेका एसी, सीसीक्यामेरा, रिचार्ज कार्ड र वाइफाई सुविधासहितका बसको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले शुभारम्भ गरे । बस ५२ सिट क्षमताका छन् । आफैंले उद्घाटन गरेका एसी बस चढेर मुख्यमन्त्री पोखरेल शनिबारदेखि नै सुरु भएको प्रदेश सरकारको लुम्बिनी भ्रमण वर्ष उद्घाटन कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगेका थिए । बुटवल–भैरहवाको प्रचण्ड गर्मीमा एसीसहितका बसले सुनौली, भैरहवा र लुम्बिनी जाने/आउने यात्रुलाई राहत दिएको छ ।


मुख्यमन्त्री पोखरेलले लुम्बिनी क्षेत्रमा चल्ने यातायात क्षेत्रलाई पर्यटनमैत्री बनाउन आग्रह गरे । ‘पर्यटन विकासमा यातायात क्षेत्रको भूमिका सबैभन्दा बढी हुन्छ,’ उनले भने, ‘लुम्बिनी क्षेत्रमा दिइने सेवा सुविधाले पर्यटक आगमन विस्तारमा टेवा पुग्नेछ ।’ हरेक यातायात क्षेक्रलाई विश्वसनीय र सुविधायुत्त बनाउन उनले आग्रह गरे ।


भिजन लुम्बिनीका अध्यक्ष जगतबहादुर पोखरेलले आठ करोड लगानीमा बस सञ्चालन सुरु गरिएको बताए । बस बुटवल, भैरहवा, सुनौली, लुम्बिनी, सेमलार, बर्दघाट रूटमा चल्नेछन् । ‘बुद्ध सर्किटमा पनि चलाउने गरी हामीले अनुमति लिएका छौं,’ उनले भने, ‘सडकको अवस्था अध्ययन गरेर त्यस क्षेत्रमा पनि नियमित सेवा दिनेछौं ।’ लुम्बिनी भ्रमण वर्षभर बुद्ध सर्किटलाई विशेष प्राथमिकता दिएर बस चलाउने उनले बताए ।


यसअघि स्थानीय रुट बुटवल–सुनौली सञ्चालन गर्ने गरी लुम्बिनी मेट्रो सिटी र सिद्धार्थ यातायात प्रालिले पनि एसीसहितका बस सञ्चालनमा ल्याएको छ । सरकारले सिन्डिकेट अन्त्य गर्ने घोषणा गरेसँगै व्यवसायीले प्रतिस्पर्धामा सुविधासहितका बस थप्दै गएका छन् । अहिले बुटवल–भैरहवा सडकमा चल्ने सुविधायुक्त एसी बसको संख्या ५० पुग्न थालेको छ । सडक ६ लेन बनेसँगै डेढ घण्टाको यात्रा छोटिएर आधा घण्टामै झरेको छ ।


यस क्षेत्रमै पहिलोपटक एसी सुविधासहितको सिटी बस सेवा सुरु गर्ने सिद्धार्थ यातायात प्रालिका अध्यक्ष सूर्य सारू मगरले यात्रुको चाप बढेपछि बस, सुविधा र क्षेत्र पनि थपिंदै लगेको बताए । प्रालिले साउनदेखि नै एसी सेवा सुरु गरेको थियो । सुरुमा बुटवल–सुनौली सञ्चालन गरेको प्रालिले अहिले रूपन्देही जिल्लाभर र काठमाडौंसम्म पनि सेवा थपेको छ । प्रालिसँग अहिले २५ बस छन् ।


‘हामीले लुम्बिनी र सुनौली नाकालाई केन्द्रित गरेर एसी बस सेवा सुरु गरेका हौं,’ उनले भने, ‘सिटी बसमा एसीसहितको सुविधा र प्रालि खोल्ने हामी नै पहिलो हौं ।’ प्रदेश र काठमाडौंसम्मको सेवा विस्तारको तयारी भइरहेकाले थप पाँच बस बुकिङ भएको पनि उनले बताए । यो प्रालिले पाँच करोड लगानीमा सेवा सुरु गरेको थियो ।

४० सिट क्षमताका १० गाडी सञ्चालन गर्दै आएको मेट्रो सिटीका अध्यक्ष धनबहादुर अधिकारीले बुटवलको गोलपार्कदेखि सुनौलीसम्म, बुटवलदेखि देवदह र बर्दघाटसम्म सुविधायुक्त बस चल्दै आएको बताए । प्रालिले प्रदेश ५ भर सेवा दिने तयारी गरेको छ ।


‘बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्र बनाएर बुटवल–भैरहवा, बर्दघाट–भैरहवा अहिले बस चलिरहेका छन्,’ उनले भने, ‘छिट्टै नै यो सेवा प्रदेश ५ भर विस्तार गर्दैछौं ।’ प्रतिस्पर्धाका रूपमा सुविधासहित थपिएका बसले यात्रुलाई सुरक्षित यात्रामा सजिलो बनाएको सुरक्षित यात्रा अभियान नेपालका महासचिव दिनेश पाण्डेले बताए ।

प्रकाशित : जेष्ठ ५, २०७६ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?