तिलौराकोटमा ओलम्पियन

लुम्बिनीमा बुद्ध जयन्ती
मनोज पौडेल

कपिलवस्तु — लुम्बिनी र सगरमाथाको एकसाथ पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले शान्तिदीप बोकेर ओलम्पियन वैकुण्ठ मानन्धर, एथलेटिक्सका राष्ट्रिय खेलाडी भीम गुरुङ, रमेश सुनुवार र संसारलाल वैद्य शनिबार बुद्धस्थल तिलौराकोट पुगेका छन् ।

लुम्बिनीमा प्रम केपी ओलीले सगरमाथा आधारशिविर लगिन लागेको पिस फलेम बालेर शान्तिदीप परिक्रमा गर्दै । तस्बिर : मनोज/कान्तिपुर 

तिलौराकोट पुग्नुअघि उनीहरूले वाणगंगा नदी (प्राचीन भागीरथी) पुगेर शान्तिदीप चोख्याई र नुहाई पवित्र बनाएका थिए ।

राजा शुद्धोदनको राजप्रासाद तथा राजकुमार सिद्धार्थ २९ वर्षसम्म हुर्के, बढेको दरबारलाई तीनपटक परिक्रमा गरी उनीहरू बाहिरिएका थिए । ‘शान्तिको बाटोमा डोर्‍याउने, प्रेरणा दिने स्थल तिलौराकोट आई राम्रो ऊर्जा पायौं,’ टोली प्रमुख मानन्धरले भने, ‘यसले सधैं शान्ति रसद्भावका लागि काम गर्ने जोस बढेको छ ।’

त्यसअघि ओलम्पियन र म्याराथन अन्तर्राष्ट्रिय खेलाडी मानन्धरलाई प्रधानमन्त्री केपी ओलीले शान्तिदीप बालेर हस्तान्तरण गरेका थिए । त्यसपछि खेलाडी लुम्बिनीस्थित मायादेवी मन्दिर, पुष्करणी पोखरी र अशोक स्तम्भ घुमेर तिलौराकोट पुगेका हुन् ।

खेलाडी टोली भैरहवा हुँदै बुद्ध अस्तुधातु रहेको स्थल रामग्राम (परासी) हुँदै स्थलमार्गबाट काठमाडौं जाने कार्यक्रम छ । शान्तिदीपलाई जेठ ६ गते काठमाडौंमा बौद्धनाथ र स्वयम्भूनाथ परिक्रमा गराई विशेष पूजा गरी सगरमाथा आधार शिविरतर्फ लगिनेछ । शान्तिदीपसहित टोली जेठ १४ गतेका दिन सगरमाथा आधारशिविरमा पुग्नेछ ।

शान्तिदीपको ज्योतिलाई एभरेस्ट डेका दिन सगरमाथा आधारशिविर परिक्रमा गराइनेछ । त्यसपछि उक्त दिन विश्वको सबैभन्दा अग्लो स्थानमा तेन्जिङ हिलारी एभरेस्ट म्याराथन सञ्चालन गरिने हिमालयन एक्सपिडिसनका इभेन्ट म्यानेजर शिखर पाण्डेले बताए । ‘यो १६ औं संस्करण हो,’ उनले भने, ‘ओलम्पिक स्ट्यान्डर्डको म्याराथनका लागि १ सय ५० विदेशीसहित २ सय ५० जनाको सहभागिता निश्चित भइसकेको छ ।’

‘एभरेस्ट म्याराथनमा सयौं विदेशी धावकमाझ विश्व शान्तिदीपको ज्योति परिक्रमा गराउँछौं,’ कार्यक्रमका परिकल्पनाकार विक्रम पाँडेकाजीले भने, ‘यसले लुम्बिनीको पवित्रता विश्वभर फैलिन्छ ।’ यसले लुम्बिनी र बुद्धका बारेमा जान्न चाहने बढ्ने र यसले लुम्बिनीलाई पर्यटकीय गन्तव्य बनाउने उनले बताए ।

‘कार्यक्रमले लुम्बिनीलाई सगरमाथासँग जोड्नेछ,’ लुम्बिनी विकास कोषका योजना प्रबन्धक सरोज भट्टराईले भने, ‘यसबाट विश्व पर्यटन बजारमा सगरमाथा र लुम्बिनीको थप प्रचार हुन गई यसको प्रवर्द्धनमा सहयोग पुग्नेछ ।’ जेठ १४ मा विश्वको सर्वोच्च शिखर सगरमाथामा मानव पाइला परेको ६६ वर्ष पुग्दैछ ।

मनाइयो जयन्ती
बुद्ध जन्मस्थल लुम्बिनीमा शनिबार बुद्ध जयन्ती मनाइएको छ । बिहान ७ बजे महिलवार बजारबाट शोभायात्रा सुरु भएको थियो । सिंगारिएको डोलीमा बेबी बुद्ध राखेर फूल छर्दै यात्रा गराइयो । शोभा यात्रामा नेवारी, मगर र थारू कला संस्कृति प्रदर्शन गरिएको थियो । महिलवारबाट मायादेवी मन्दिर प्रवेशद्वारमा पुगेपछि प्रधानमन्त्री केपी ओली पनि सहभागी भए । पाँच सय मिटर लामो शोभायात्रामा उनी १० मिनेट हिंडेका थिए ।

विहार र मन्दिरमा विश्वशान्ति र धर्मदेशनाको कामना गर्दै मंगल धुन बजाएर माहोल शान्तिप्रति समर्पित गरिएको थियो । मायादेवी मन्दिर दर्शन गर्नेको उस्तै लामो लाइन थियो । आधा घण्टा बढी लाइन लागेर पर्यटकले दर्शन गरेका थिए ।

बुद्ध पूर्णिमाको अवसर पारेर प्रधानमन्त्री ओलीले वृक्षरोपणको शुभारम्भ गरे । २ महिनाभित्र लुम्बिनी क्षेत्रभित्र २ हजार ६ सय ४२ रूख रोपिनेछ । आँप, पीपल, सिसौ र सालका बिरुवा रोपिनेछ । लुम्बिनीलाई हराभरा बनाई प्रदूषण हटाउन अभियान चलाइएको हो ।

पर्यटन उद्यमी स्वर्गीय आङछिरिङ शेर्पाको स्मृतिमा लुम्बिनीमा गुम्बा बनाइने भएको छ । गुम्बाको पनि प्रधानमन्त्री ओलीले शिलान्यास गरे । ३ वर्षभित्र ५ करोडको लागतमा गुम्बा बन्नेछ । उक्त गुम्बा महायानी सम्प्रदायको क्षेत्रमा बनाइन लागेको लुम्बिनी विकास कोष सदस्य राजेश ज्ञवालीले बताए ।

त्यस्तै लुम्बिनी विकासमा महत्त्वपूर्ण योगदान गर्ने म्यानमारका नागरिक उत्थान्तको प्रतिमा पनि अनावरण गरिएको छ । लुम्बिनी विकास कोषको सूचना केन्द्रअघि अर्धकदको प्रतिमा राखिएको छ । उनी संयुक्त राष्ट्रसंघको महासचिव थिए । महासचिव भएका बेला सन् १९६७ मा लुम्बिनीको भ्रमण गर्दै विकासका लागि अन्तर्राष्ट्रिय रूपमा आह्वान गरेका थिए ।

त्यसपछि विस्तारै लुम्बिनीतिर विश्वको ध्यान तानिंदै गएको थियो । लुम्बिनीको संरक्षण र विकासका लागि गतिलो योगदान गरेकाले उनको प्रतिमा राखिएको लुम्बिनी विकास कोषउपाध्यक्ष भन्ते मैत्रेय शाक्यपुत्रले बताए । सालिकको अनावरण उत्थान्तका नाति डा.मिन्टले गरे । कालो पत्थरमा कुँदिएको प्रतिमा पाटन औद्योगिक क्षेत्रको एक उद्योगमा बनाइएको हो ।

प्रकाशित : जेष्ठ ५, २०७६ १०:४४
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

भ्रमण वर्षमा थपिए एसी बस

घनश्याम गौतम

रूपन्देही — बुटवल–भैरहवा सडक ६ लेनमा विस्तार भएपछि यस क्षेत्रमा नयाँ र सुविधासहितका बस थप्ने प्रतिस्पर्धा चल्न थालेको छ । त्यसले सार्वजनिक यातायात भरपर्दो र यात्रुलाई सुविधा पुगेको छ ।

लुम्बिनी भ्रमण वर्षको अवसर पारेर शनिबारदेखि बुटवलबाट भैरहवा, लुम्बिनीसहितका विभिन्न रुटमा चल्ने गरी १५ बस थपिएका छन् ।

लुम्बिनी भिजन लिमिटेडले सञ्चालन गरेका एसी, सीसीक्यामेरा, रिचार्ज कार्ड र वाइफाई सुविधासहितका बसको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले शुभारम्भ गरे । बस ५२ सिट क्षमताका छन् । आफैंले उद्घाटन गरेका एसी बस चढेर मुख्यमन्त्री पोखरेल शनिबारदेखि नै सुरु भएको प्रदेश सरकारको लुम्बिनी भ्रमण वर्ष उद्घाटन कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगेका थिए । बुटवल–भैरहवाको प्रचण्ड गर्मीमा एसीसहितका बसले सुनौली, भैरहवा र लुम्बिनी जाने/आउने यात्रुलाई राहत दिएको छ ।

मुख्यमन्त्री पोखरेलले लुम्बिनी क्षेत्रमा चल्ने यातायात क्षेत्रलाई पर्यटनमैत्री बनाउन आग्रह गरे । ‘पर्यटन विकासमा यातायात क्षेत्रको भूमिका सबैभन्दा बढी हुन्छ,’ उनले भने, ‘लुम्बिनी क्षेत्रमा दिइने सेवा सुविधाले पर्यटक आगमन विस्तारमा टेवा पुग्नेछ ।’ हरेक यातायात क्षेक्रलाई विश्वसनीय र सुविधायुत्त बनाउन उनले आग्रह गरे ।

भिजन लुम्बिनीका अध्यक्ष जगतबहादुर पोखरेलले आठ करोड लगानीमा बस सञ्चालन सुरु गरिएको बताए । बस बुटवल, भैरहवा, सुनौली, लुम्बिनी, सेमलार, बर्दघाट रूटमा चल्नेछन् । ‘बुद्ध सर्किटमा पनि चलाउने गरी हामीले अनुमति लिएका छौं,’ उनले भने, ‘सडकको अवस्था अध्ययन गरेर त्यस क्षेत्रमा पनि नियमित सेवा दिनेछौं ।’ लुम्बिनी भ्रमण वर्षभर बुद्ध सर्किटलाई विशेष प्राथमिकता दिएर बस चलाउने उनले बताए ।

यसअघि स्थानीय रुट बुटवल–सुनौली सञ्चालन गर्ने गरी लुम्बिनी मेट्रो सिटी र सिद्धार्थ यातायात प्रालिले पनि एसीसहितका बस सञ्चालनमा ल्याएको छ । सरकारले सिन्डिकेट अन्त्य गर्ने घोषणा गरेसँगै व्यवसायीले प्रतिस्पर्धामा सुविधासहितका बस थप्दै गएका छन् । अहिले बुटवल–भैरहवा सडकमा चल्ने सुविधायुक्त एसी बसको संख्या ५० पुग्न थालेको छ । सडक ६ लेन बनेसँगै डेढ घण्टाको यात्रा छोटिएर आधा घण्टामै झरेको छ ।

यस क्षेत्रमै पहिलोपटक एसी सुविधासहितको सिटी बस सेवा सुरु गर्ने सिद्धार्थ यातायात प्रालिका अध्यक्ष सूर्य सारू मगरले यात्रुको चाप बढेपछि बस, सुविधा र क्षेत्र पनि थपिंदै लगेको बताए । प्रालिले साउनदेखि नै एसी सेवा सुरु गरेको थियो । सुरुमा बुटवल–सुनौली सञ्चालन गरेको प्रालिले अहिले रूपन्देही जिल्लाभर र काठमाडौंसम्म पनि सेवा थपेको छ । प्रालिसँग अहिले २५ बस छन् ।

‘हामीले लुम्बिनी र सुनौली नाकालाई केन्द्रित गरेर एसी बस सेवा सुरु गरेका हौं,’ उनले भने, ‘सिटी बसमा एसीसहितको सुविधा र प्रालि खोल्ने हामी नै पहिलो हौं ।’ प्रदेश र काठमाडौंसम्मको सेवा विस्तारको तयारी भइरहेकाले थप पाँच बस बुकिङ भएको पनि उनले बताए । यो प्रालिले पाँच करोड लगानीमा सेवा सुरु गरेको थियो ।
४० सिट क्षमताका १० गाडी सञ्चालन गर्दै आएको मेट्रो सिटीका अध्यक्ष धनबहादुर अधिकारीले बुटवलको गोलपार्कदेखि सुनौलीसम्म, बुटवलदेखि देवदह र बर्दघाटसम्म सुविधायुक्त बस चल्दै आएको बताए । प्रालिले प्रदेश ५ भर सेवा दिने तयारी गरेको छ ।

‘बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्र बनाएर बुटवल–भैरहवा, बर्दघाट–भैरहवा अहिले बस चलिरहेका छन्,’ उनले भने, ‘छिट्टै नै यो सेवा प्रदेश ५ भर विस्तार गर्दैछौं ।’ प्रतिस्पर्धाका रूपमा सुविधासहित थपिएका बसले यात्रुलाई सुरक्षित यात्रामा सजिलो बनाएको सुरक्षित यात्रा अभियान नेपालका महासचिव दिनेश पाण्डेले बताए ।

प्रकाशित : जेष्ठ ५, २०७६ १०:४२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्