१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

तिलौराकोटमा ओलम्पियन

लुम्बिनीमा बुद्ध जयन्ती
मनोज पौडेल

कपिलवस्तु — लुम्बिनी र सगरमाथाको एकसाथ पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले शान्तिदीप बोकेर ओलम्पियन वैकुण्ठ मानन्धर, एथलेटिक्सका राष्ट्रिय खेलाडी भीम गुरुङ, रमेश सुनुवार र संसारलाल वैद्य शनिबार बुद्धस्थल तिलौराकोट पुगेका छन् ।

तिलौराकोटमा ओलम्पियन

तिलौराकोट पुग्नुअघि उनीहरूले वाणगंगा नदी (प्राचीन भागीरथी) पुगेर शान्तिदीप चोख्याई र नुहाई पवित्र बनाएका थिए ।


राजा शुद्धोदनको राजप्रासाद तथा राजकुमार सिद्धार्थ २९ वर्षसम्म हुर्के, बढेको दरबारलाई तीनपटक परिक्रमा गरी उनीहरू बाहिरिएका थिए । ‘शान्तिको बाटोमा डोर्‍याउने, प्रेरणा दिने स्थल तिलौराकोट आई राम्रो ऊर्जा पायौं,’ टोली प्रमुख मानन्धरले भने, ‘यसले सधैं शान्ति र सद्भावका लागि काम गर्ने जोस बढेको छ ।’


त्यसअघि ओलम्पियन र म्याराथन अन्तर्राष्ट्रिय खेलाडी मानन्धरलाई प्रधानमन्त्री केपी ओलीले शान्तिदीप बालेर हस्तान्तरण गरेका थिए । त्यसपछि खेलाडी लुम्बिनीस्थित मायादेवी मन्दिर, पुष्करणी पोखरी र अशोक स्तम्भ घुमेर तिलौराकोट पुगेका हुन् ।


खेलाडी टोली भैरहवा हुँदै बुद्ध अस्तुधातु रहेको स्थल रामग्राम (परासी) हुँदै स्थलमार्गबाट काठमाडौं जाने कार्यक्रम छ । शान्तिदीपलाई जेठ ६ गते काठमाडौंमा बौद्धनाथ र स्वयम्भूनाथ परिक्रमा गराई विशेष पूजा गरी सगरमाथा आधार शिविरतर्फ लगिनेछ । शान्तिदीपसहित टोली जेठ १४ गतेका दिन सगरमाथा आधारशिविरमा पुग्नेछ ।


शान्तिदीपको ज्योतिलाई एभरेस्ट डेका दिन सगरमाथा आधारशिविर परिक्रमा गराइनेछ । त्यसपछि उक्त दिन विश्वको सबैभन्दा अग्लो स्थानमा तेन्जिङ हिलारी एभरेस्ट म्याराथन सञ्चालन गरिने हिमालयन एक्सपिडिसनका इभेन्ट म्यानेजर शिखर पाण्डेले बताए । ‘यो १६ औं संस्करण हो,’ उनले भने, ‘ओलम्पिक स्ट्यान्डर्डको म्याराथनका लागि १ सय ५० विदेशीसहित २ सय ५० जनाको सहभागिता निश्चित भइसकेको छ ।’


‘एभरेस्ट म्याराथनमा सयौं विदेशी धावकमाझ विश्व शान्तिदीपको ज्योति परिक्रमा गराउँछौं,’ कार्यक्रमका परिकल्पनाकार विक्रम पाँडेकाजीले भने, ‘यसले लुम्बिनीको पवित्रता विश्वभर फैलिन्छ ।’ यसले लुम्बिनी र बुद्धका बारेमा जान्न चाहने बढ्ने र यसले लुम्बिनीलाई पर्यटकीय गन्तव्य बनाउने उनले बताए ।


‘कार्यक्रमले लुम्बिनीलाई सगरमाथासँग जोड्नेछ,’ लुम्बिनी विकास कोषका योजना प्रबन्धक सरोज भट्टराईले भने, ‘यसबाट विश्व पर्यटन बजारमा सगरमाथा र लुम्बिनीको थप प्रचार हुन गई यसको प्रवर्द्धनमा सहयोग पुग्नेछ ।’ जेठ १४ मा विश्वको सर्वोच्च शिखर सगरमाथामा मानव पाइला परेको ६६ वर्ष पुग्दैछ ।


मनाइयो जयन्ती

बुद्ध जन्मस्थल लुम्बिनीमा शनिबार बुद्ध जयन्ती मनाइएको छ । बिहान ७ बजे महिलवार बजारबाट शोभायात्रा सुरु भएको थियो । सिंगारिएको डोलीमा बेबी बुद्ध राखेर फूल छर्दै यात्रा गराइयो । शोभा यात्रामा नेवारी, मगर र थारू कला संस्कृति प्रदर्शन गरिएको थियो । महिलवारबाट मायादेवी मन्दिर प्रवेशद्वारमा पुगेपछि प्रधानमन्त्री केपी ओली पनि सहभागी भए । पाँच सय मिटर लामो शोभायात्रामा उनी १० मिनेट हिंडेका थिए ।


विहार र मन्दिरमा विश्वशान्ति र धर्मदेशनाको कामना गर्दै मंगल धुन बजाएर माहोल शान्तिप्रति समर्पित गरिएको थियो । मायादेवी मन्दिर दर्शन गर्नेको उस्तै लामो लाइन थियो । आधा घण्टा बढी लाइन लागेर पर्यटकले दर्शन गरेका थिए ।


बुद्ध पूर्णिमाको अवसर पारेर प्रधानमन्त्री ओलीले वृक्षरोपणको शुभारम्भ गरे । २ महिनाभित्र लुम्बिनी क्षेत्रभित्र २ हजार ६ सय ४२ रूख रोपिनेछ । आँप, पीपल, सिसौ र सालका बिरुवा रोपिनेछ । लुम्बिनीलाई हराभरा बनाई प्रदूषण हटाउन अभियान चलाइएको हो ।


पर्यटन उद्यमी स्वर्गीय आङछिरिङ शेर्पाको स्मृतिमा लुम्बिनीमा गुम्बा बनाइने भएको छ । गुम्बाको पनि प्रधानमन्त्री ओलीले शिलान्यास गरे । ३ वर्षभित्र ५ करोडको लागतमा गुम्बा बन्नेछ । उक्त गुम्बा महायानी सम्प्रदायको क्षेत्रमा बनाइन लागेको लुम्बिनी विकास कोष सदस्य राजेश ज्ञवालीले बताए ।


त्यस्तै लुम्बिनी विकासमा महत्त्वपूर्ण योगदान गर्ने म्यानमारका नागरिक उत्थान्तको प्रतिमा पनि अनावरण गरिएको छ । लुम्बिनी विकास कोषको सूचना केन्द्रअघि अर्धकदको प्रतिमा राखिएको छ । उनी संयुक्त राष्ट्रसंघको महासचिव थिए । महासचिव भएका बेला सन् १९६७ मा लुम्बिनीको भ्रमण गर्दै विकासका लागि अन्तर्राष्ट्रिय रूपमा आह्वान गरेका थिए ।


त्यसपछि विस्तारै लुम्बिनीतिर विश्वको ध्यान तानिंदै गएको थियो । लुम्बिनीको संरक्षण र विकासका लागि गतिलो योगदान गरेकाले उनको प्रतिमा राखिएको लुम्बिनी विकास कोष उपाध्यक्ष भन्ते मैत्रेय शाक्यपुत्रले बताए । सालिकको अनावरण उत्थान्तका नाति डा. मिन्टले गरे । कालो पत्थरमा कुँदिएको प्रतिमा पाटन औद्योगिक क्षेत्रको एक उद्योगमा बनाइएको हो ।

प्रकाशित : जेष्ठ ५, २०७६ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?