यार्चा टिप्ने दिन सार्वजनिक

हरि गौतम

रुकुम पूर्व — यस वर्षको यार्चा टिप्ने मिति जेठ १९ गतेदेखि तय भएको छ । सिजन व्यवस्थापन समिति मैकोटले यार्चा संकलनका लागि बुकी खुला गर्ने निर्णय गरेको हो । 

पुपालमै बसेको समितिको बैठकले यार्चा खोल्ने निर्णय गरेको अध्यक्ष अमरधन पुन मगरले बताए । विगत वर्षको तुलनामा यस वर्ष एक/डेढ साता ढिलो गरेर बुकी खुला गर्ने निर्णय भएको अध्यक्ष पुनले बताए । ‘यस वर्ष अहिलेसम्म पनि पाटनमा हिउँ छ,’ उनले भने, ‘त्यतिबेलासम्म हिउँ पग्लने र यार्चा टिप्न सजिलो हुने अनुमान गरेका छौं ।’ वैशाख महिनासम्म पनि हिउँ परेकाले पग्लन समय लागेको हो । हिउँ पग्लन ढिला भएपछि यार्चा संकलन पनि अघिल्ला वर्षभन्दा ढिला सुरु हुने भएको हो ।


समितिले यार्चा संकलन थाल्नु दुई दिनअघि जेठ १७ गते यार्चा टिप्ने सर्वसाधारण तथा व्यापारीलाई दुले पुग्न भनेको छ । दुलेबाट १८ गते हिंडाएपछि १९ गते बिहानबाट यार्चा संकलन सुरु गरिने जनाइएको छ । पुथाउत्तरगंगा गाउँपालिकाको १ र २ वडाका पुपाल, अरविजा, जंगला, पूर्वाङ, भित्रिवन, उङला, निम्कु, पानीढल, फूलबारीलगायतका ठाउँमा यार्चा पाइन्छ ।


यसैगरी वडा ३ को सुनदह, सांग्रेइ, चौंरीखर्कलगायत बुकीमा यार्चा पाइन्छ । यार्चा सुरक्षाका लागि भनेर हाल बुकी पाटनमा तीन सय बढी युवा खटिएका छन् । एक महिनाअघि नै उनीहरूलाई बुकी पाटन पठाइएको हो । प्रत्येक घरबाट एक जनाका दरले बुकी उक्लने युवाले यार्चा चोरीनिकासी हुनबाट रोक्छन् भने यार्चा उम्रन लागे/नलागेको बारे गाउँसम्म खबर पठाउँछन् ।


हरेक वर्षजस्तै यस वर्ष पनि गत वैशाख २१ गते १ र २ वडाका मैकोट, पेल्मा, तिज्याङ, हर्दिबाङ र हिमगुइबाङ बस्तीका तीन सय युवा बुकी पाटन उलिएका थिए । वडा ३, रन्माका युवा वैशाख १८ गते नै बुकी उक्लिएका थिए ।


त्यस क्षेत्रका सर्वसाधारणको आम्दानीको मुख्य स्रोतका रूपमा रहेको यार्चाको एउटा सिजनबाट उनीहरूले वर्षभरको घरखर्च, पढाइलगायत अन्य व्यवस्थापन गर्ने आम्दानी गर्नुका साथै अन्य खर्च पनि जुटाउँछन् । एक महिनासम्म बुकीमै बिताउने उनीहरूले प्रतिपरिवार यार्चा टिपेर मात्रै ३० हजारदेखि ५ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको स्थानीय शिक्षक विष्णु पुनले बताए ।


पुथाउत्तरगंगा, भूमे र सिस्ने गाउँपालिकाका अधिकांश ठाउँका सर्वसाधारण यार्चा टिप्न जान्छन् भने पुथाउत्तरगंगा र सिस्नेको भू–भागसहित डोल्पासम्म उनीहरू यार्सा खोज्दै पुग्ने गरेको शिक्षक पुनले जानकारी दिए । पुथाउत्तरगंगा गाउँपालिकाको १ र २ को एउटा सिजन व्यवस्थापन समिति छ भने ३ वडाको छुट्टै अर्को समिति छ । दुवै समितिले यस वर्षको शुल्क भने निर्धारण गरेका छैनन् ।


यार्सा टिप्ने तथा खरिद गर्ने ठेकेदारले समितिलाई निश्चित राजस्व तिनुपर्ने हुन्छ । यार्सा टिप्न जाने स्थानीयले निःशुल्क प्रवेश पाउँछन् भने बाहिरकालाई शुल्क लिइन्छ । यो सिजनमा कति शुल्क लिइने भन्ने निर्णय हुन बाँकी छ । गाउँलेसँग पनि थप छलफल गरेर मात्रै शुल्क निर्धारण गरिने समितिले जनाएको छ ।


राजस्वबाफत आएको रकम समितिले व्यवस्थापन र गाउँ विकासमा लगाउँदै आएका छन् । विशेष गरी निजी स्रोतका शिक्षकको तलबभत्ता र विद्यालयका भौतिक संरचना निर्माणमा उक्त रकम खर्चिने गरिएको समितिले बताएको छ ।

प्रकाशित : जेष्ठ ५, २०७६ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?