कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

बगरमा खेती, उत्पादन घट्दै

मधु शाही

बाँके — बाढीले बगर बनेको खेतमा बोधनी थारूले ४० वटा खरबुजाका बेर्ना रोपेकी थिइन् । आयआर्जनको आधार तिनै खरबुजाका बोट थिए । यस वर्ष उनले सोचेजति फल पाइनन् । असिना-पानी परेपछि खरबुजाका बिरुवा मर्न थाले । तंगि्रएका केही लहरामा फल लागेका छन् । 'यो घरमै खाएर सकिन्छ,' उनले भनिन्, 'पोहोरजस्तो व्यापार गर्न सकिएन ।' 

धान उब्जनी हुने झन्डै एक बिघा जमिन बाढीले बगर बनायो । उत्पादन गर्ने थलो छैन । सुरुका वर्षमा विभिन्न संघसंस्थाले अनुदान र सहयोग दिएर बगरे खेतीमा उत्साह थपेका थिए । त्यसैले पहिलो वर्ष खरबुजा, काँक्रा, करेलाजस्ता बगरमा हुने तरकारीले राम्रै आम्दानी भएको उनले बताइन् । 'पहिलो वर्ष खरबुजा बेचेर महिनाको ५० हजार कमाएकी थिएँ,' उनले भनिन्, 'यसपालि बीउको लगानी पनि नउठ्ने भो ।'


राप्तीसोनारी गाउँपालिकाका झन्डै ५० प्रतिशत बासिन्दा बगरे खेतीको भरमा छन् । बाढीले खेतीयोग्य जमिन बगाएपछि उनीहरू बगरमै खेती गर्न बाध्य छन् । केही वर्षयता बगरमा भनेजति उब्जनी हुन नसकेपछि यहाँका कृषक थप मारमा परेका हुन् ।


फत्तेपुर-६ की मनकुमारी थारू मितेरी कृषक समूहकी अध्यक्ष हुन् । श्रीमान्ले मजदुरी गरे पनि उनीहरू बगरे खेतीमा आत्मनिर्भर हुने प्रयास गर्दै छन् । तरभुजा र खरबुजा सुरुका केही वर्ष राम्रै फलेर व्यापार भएको उनले बताइन् । मल बढी चाहिले र गहिरो खाल्टो खन्न खेताला बढी लगाउनु पर्ने हँुदा अहिले खरबुजा खेती झन्झटिलो लागेको उनले सुनाइन् ।


भारतबाट अत्यधिक मात्रामा आयात हुने खरबुजाले यहाँको स्थानीय बजारमा प्रत्यक्ष असर परेको छ । एक वर्षअघि खरबुजा खेती गर्दा बजारमा नबिकेर उनले प्र्रतिकिलो २ रुपैयाँमा बेचेको सुनाइन् । 'यति सस्तो दिंदा पनि यहाँसम्म किन्न आउँदैनन् मान्छे,' उनले भनिन्, 'बजार व्यवस्थापनमा निकै समस्या छ ।' नेपालगन्जसम्म पुर्‍याउन उनीहरूलाई कठिन छ ।


खेतमा यतिबेला उनले करेला र काँक्रा लगाएकी छन् । झन्डै १० बिघा बगरमा सामूहिक खेती गरेर वाषिर्क ५० हजार बचत गर्ने उनले सुनाइन् । यति हुँदाहुँदै पनि बगरे खेतीप्रति वितृष्णा बढेको र धेरैले छोड्दै गएको उनले बताइन् । खोलाले बगाउने खेतमा के काम गर्नु भन्दै कृषकले दिक्क मान्नेका छन् ।

प्रकाशित : जेष्ठ ६, २०७६ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?