कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

बोर्डिङ छाडेर सरकारीमा

माधव अर्याल

पाल्पा — तानसेन नगरपालिका-९, दमकडाकी समीक्षा पराजुली दमकडा नमुना माविमा भर्ना भएकी छन् । उनी यसअघि सोही स्थानकै एक बोर्डिङमा अध्ययन गर्थिन् । दमकडा नमुना मावि सरकारी विद्यालय हो ।

उनले शिक्षकको व्यवहार, विद्यालयको पढाइको गुणस्तर राम्रो भएको थाहा पाएपछि यस वर्ष भर्ना हुन आएको बताइन् । 'बोर्डिङमा मात्र पढाइ राम्रो हुन्छ भन्नु गलत होजस्तो लाग्यो,' उनले भनिन्, 'सरकारी विद्यालय पनि राम्रा हुने रहेछन् भन्ने अहिले आएर बुझेकी छु ।'


अर्का विद्यार्थी सन्देश न्यौपाने पनि बोर्डिङ स्कुल छाडेर दमकडा माविमा भर्ना हुन आएका छन् । उनले पनि सरकारी विद्यालयको पढाइका विषयमा जानकारी भएकाले यहाँ अध्ययन गर्न आएको बताए । सरकारी विद्यालयको पनि पढाइको गुणस्तर राम्रो हुन्छ भन्ने सबैलाई थाहा नभएको उनले बताए । 'सरकारीमा पनि पढाइको गुणस्तर राम्रो हुन्छ भन्ने कुरालाई सबैले बुझेका हुन्नन्,' उनले भने, 'तर, मलाई यहाँका शिक्षकको व्यवहार अनि पढाउने शैली निकै राम्रो लाग्यो ।'


तानसेनकै पनि एक निजी विद्यालयमा अध्ययन गर्ने कुशल न्यौपाने जनता माविमा भर्ना हुन गएका छन् । कक्षा ७ सम्म निजीमा पढेका उनले अंग्रेजी माध्यमको शिक्षा सरकारी विद्यालयमै पढ्न पाउने भएपछि यहाँ भर्ना हुन आएको बताए । पढाइको गुणस्तर पनि राम्रो भएको आफूले पाएको उनले सुनाए ।


निजी विद्यालयमा अध्ययन गर्ने तानसेनकै धेरै विद्यार्थी बोर्डिङ छाडेर सरकारीमा भर्ना भएका छन् । अंग्रेजी माध्यमको गुणस्तरीय पढाइ हुने भएपछि उनीहरू सरकारीमा पढ्न गएका यी केही उदाहरण मात्र हुन् । जिल्लाका केही सरकारी विद्यालयमा बोर्डिङको पढाइ छाडेर भनर्ा हुन आउनेको हरेक वर्ष संख्या बढो छ ।


तानसेनको जनता मावि, देववाणी मावि, कसेनीको दिव्यज्योति मावि, दमकडा मावि, रामपुरको रामतुल्सी मावि, रामपुरकै दरैठाँटी र गंगा मावि पढाइमा उदाहरणीय बन्दै गएका छन् । रामपुरको बेझाडस्थित रामतुल्सी माविमा १ हजार ७ सय विद्यार्थी छन् । बोर्डिङ नै नभएको समयमा यहाँ चार सय विद्यार्थी थिए । अहिले यहाँ बोर्डिङ स्कुल पनि संचालित छन् ।


'हाम्रा विद्यालयको नजिकमा २/३ वटा बोर्डिङ छन्,' दमकडा नमुना माविका प्रधानाध्यापक मोहन सापकोटाले भने, 'प्रत्येक वर्ष १ सय ५० जनाको हाराहारीमा नयाँ विद्यार्थी बढेका छन् ।' यस वर्ष पनि १ सय ७० जनालाई पहिलो चरणमा स्वागत गरेको उनले बताए । विद्यालयमा बालकक्षा, आईसीटी ल्याब, अंग्रेजी माध्यमको पढाइलगायतका कारण पनि विद्यार्थीको आकर्षण बढेको हो । यहाँ अंग्रेजी माध्यममा नर्सरीदेखि ९ कक्षासम्म पढाइ हुन्छ । 'विद्यालयलाई विश्वास गरेर पढ्न आउने हुन्,' प्रधानाध्यापक सापकोटाले भने । एसईई उत्तीर्णपछि कृषि बाली विज्ञान पनि पढाइ हुन्छ । ११ र १२ मा विज्ञान विषयको पढाइ भइरहेको छ ।


तानसेनको जनता माविमा पनि १ हजार ७ सयभन्दा बढी विद्यार्थी छन् । नर्सरीदेखि कक्षा १० सम्म अंग्रेजी माध्यममा पढाइ हुन्छ । हरेक वर्ष तीन सय बढी निजी तथा अन्य सरकारी विद्यालय छाडेर यहाँ भर्ना हुन आउने गर्छन् । तानसेनमा नाम चलेका निजी विद्यालय छाडेर कक्षा ८ र ९ मा भर्ना हुन आएका छन् । 'नेपाली र अंग्रेजी दुवै माध्यममा पढाइ हुन्छ,' प्रधानाध्यापक मेघराज पौडेलले भने ।


रामपुरको दरैठाँटी माविमा १ हजार विद्यार्थी छन् । चार वर्षअघिसम्म ४ सय विद्यार्थी भएकामा अहिले यहाँ विद्यार्थी संख्या बढेको छ । नजिकका बोर्डिङ छाडेर यहाँ भर्ना हुन आउने हरेक वर्ष ५० जना बढी हुन्छन् । 'विद्यार्थीले पढाइ राम्रो देखे र अभिभावकले विश्वास गरे भने नहुने भन्ने केही हुँदैन,' विद्यालयका प्रधानाध्यापक सुन्दरप्रसाद देवकोटाले भने, 'विद्यार्थी, अभिभावक र शिक्ष्ाकको सहयोगले विद्यालय सुधि्रयो र विद्यार्थी संख्या पनि बढेको छ ।'


कसेनीस्थित दिव्यज्योति माविमा हरेक वर्ष १ सय ५० बढी नयाँ विद्यार्थी भर्ना हुन आउँछन् । तानसेनको देववाणी माविमा पनि यस वर्ष १ सय ५० बढी विद्यार्थी भर्ना भए । रामपुरको गंगा माविमा ७ सय विद्यार्थी छन् । नर्सरीदेखि कक्षा ८ सम्म अंग्रेजी सुरु गरेपछि निजी विद्यालयबाट समेत आकर्षण बढेको छ ।

प्रकाशित : जेष्ठ ६, २०७६ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?