कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

गोरु तस्करीमा बालबालिका प्रयोग

कमल पन्थी

बर्दिया — स्थानीय प्रशासनले गोरु तस्करीमा कडाइ गरेपछि तस्करले जिल्लाको सिमाना कटाउन बालबालिकाको प्रयोग गर्न थालेका छन् । आइतबार १४ गोरु बढैयाताल गाउँपालिका-६, रानीपुरस्थित सडकबाट पक्राउ गरिएको छ । गोरु डोर्‍याएका बालबालिकाले प्रहरी सोधपुछका क्रममा आफूहरूलाई प्रयोग गरिएको बताएपछि रहस्य खुलेको हो । 

गोरु तस्करीमा बालबालिका प्रयोग

ती बालबालिकाले आर्थिक प्रलोभनमा परी गोरुलाई सीमा कटाउन लागेको प्रहरीसमक्ष बताएका छन् । प्रहरीले ती बालबालिकालाई अभिभावकको जिम्मा लगाई गोरु नियन्त्रणमा लिएको छ । प्रहरीले आवश्यक कारबाहीपछि ती गोरु गुलरिया नगरपालिका-२ स्थित कृष्णसार गौशालामा बुझाएको छ ।


प्रहरी नायब उपरीक्ष्ाक मदनजित महराले गोरु तस्करले बाँकेको सिमानासम्म पुर्‍याउन आर्थिक प्रलोभन दिई बालबालिकाको प्रयोग गरेको बताए । बाँकेमा गोरु जम्मा गरी पूर्वी नाका नवलपुर पुर्‍याउने गरेका छन् । तस्करले विगतमा ट्रकमा लोड गरी लैजान थालेपछि स्थानीय प्रशासनले रोक लगाएको थियो ।


तीन महिनामा तस्करले गोरु डोर्‍याएर जिल्ला कटाउन लागेपछि हालसम्म प्रहरीले साढे तीन सय गोरु पक्राउ गरिसकेको छ । जिल्लाबाट भारत हुँदै बंगलादेश पुर्‍याउने उद्देश्यले गाईगोरुको अवैध निकासी हुने गरेको छ । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले कुनै पनि हालतमा गोरु तस्करी रोक्ने बताए ।


जिल्लाको मधुवनमा बिहीबार र गुलरिया नगरपालिकामा शुक्रबार पशुहाट लाग्ने गर्छ । भारतीय राज्य उत्तरप्रदेशमा गोरुको व्यापारमा कडाइ गरेपछि तस्करले बर्दिया, बाँके, कपिलवस्तु जिल्लालाई केन्द्र बनाई अवैध कारोबार गर्दै आएका छन् । बर्दियामा हल गोरुको पाँच हजार रुपैयाँसम्ममा बेचबिखन हुने गर्छ । ती गोरु बंगलादेश पुर्‍याए झन्डै तेब्बर मूल्यमा बिक्री हुने व्यवसायी बताउँछन् । नेपालबाट गाईगोरु विदेश लैजान प्रतिबन्ध छ ।

प्रकाशित : जेष्ठ ६, २०७६ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?