कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

आत्मनिर्भर बन्दै यौनिक अल्पसंख्यक

नेपालगन्ज — महिला अंग लिएर जन्मिएका बैजनाथ गाउँपालिकाका ३६ वर्षीय अंकित पुनको चाहना र भावना पुरुषको छ । १२ वर्षको भएपछि उनले आफ्नो पहिचानका बारे थाहा पाए । तेस्रोलिंगीको विषयमा समाज अहिले पनि सकारात्मक छैन ।

त्यसैले धेरै चाहना दबाएर राखे । तर, २६ वर्षको उमेरमा उनी खुलेर बाहिर आए । पहिचान खुलाएकै कारण उनले पाएको प्रहरीको जागिर पनि गुमाए । त्यसपछिका संघर्षशील जीवन भोग्दै उनी अहिले पुनः आत्मनिर्भर बन्ने धुनमा छन् । सीप सिक्ने र सामाजिक अभियानमा सक्रिय हुने उनको लक्ष्य छ । अहिले नेपालगन्जमा ड्राइभिङ तालिम लिंदैछन् ।


नेपालगन्ज उपमहानगरपालिकाले यौनिक अल्पसंख्यकका लागि निःशुल्क ड्राइभिङ कक्षा चलाइरहेको छ । त्यहाँ जिल्लाभरबाट १० जना सहभागी छन् । समाजमा अझै खुल्न नसकेका कारण जिल्लामा ५ सय बढी तेस्रोलिंगी रहे पनि तालिममा सबै आउन सकेका छैनन् । तर, जतिले तालिम लिएका छन्, उनीहरूको एउटै उद्देश्य छ, 'घर-परिवार र समाजले हेर्ने दृष्टि फरक भए पनि समाजका लागि केही गर्ने र आफू पनि आत्मनिर्भर बन्ने ।'


कोहलपुर नगरपालिका-४ की २२ वर्षीया जेसीका खड्का पनि अहिले ड्राइभिङ सिक्दै छिन् । दुई वर्षअघिसम्म उनलाई धेरैले जीवन खड्का भनेर चिन्थे । तर, अहिले उनी जेसिका खड्का भएकी छन् । धेरै समयसम्म भित्री मनको महिला बन्ने रहर दबाएर बसिन् । 'सामाजिक बाध्यताले त्यो इच्छा दबाएरै बसें,' उनले भनिन्, 'तर, कतिन्जेल बस्ने ? अहिले म जेसिका खड्का भनेर चिनिन थालेकी छु ।'


सडकमा महिलाले मोटर गुडाएको देख्दा मैले पनि गर्न सक्छु भन्ने देखाउन र तेस्रोलिंगीमा पनि फरक क्षमता छ भनेर अरूलाई देखाउन आफू तालिममा सहभागी भएको उनले बताइन् । शारीरिक अवस्था महिलाको जस्तै भएकाले साथीले गिज्याउँथे उनलाई । गीत गाउने उत्कृष्ट कला छ उनीसँग । महिला र पुरुष दुवैको आवाज निकाल्छिन् । डान्स पनि उस्तै छ । 'धेरै स्थानमा आफ्नो दुवै प्रतिभा देखाउने गरेकी छु,' उनले भनिन्, 'तर, पुरुषभन्दा महिला नै भनेर चिनिने प्रयत्नमा पनि छु ।' लामो संघर्षपछि आफ्नो सपना पूरा भएको र अब सवारी चलाउने चाहना पूरा गर्न तालिममा सहभागी भएको उनले बताइन् ।


बर्दिया राजापुरकी परिना चौधरीको बसाइ अहिले नेपालगन्जमा छ । पढ्ने जोहो मिलाउन काम खोज्दै उनी धेरैतिर दौडिइन् । यात्रा गर्दा महिलाले सवारी चलाएको देख्दा उनी रोमाञ्चित हुन्थिन् । त्यसले पनि उनमा सवारी चालक बन्ने रहर पलायो । अन्य रोजगारी पाउने अवस्था नरहेपछि यौनिक तथा लैंगिक अल्पसंख्यकहरूमध्येबाट सवारी चालक बनेर रोजगारी बन्ने उनको सपना छ । 'अब गाडी हाँक्न सिक्दैछु,' उनले भनिन्, 'अबको जीवन फरक तरिकाले जिउने प्रयासमा छु ।'


फरक लिंगीको पहिचान स्थापनाका लागि रोजगारीका माध्यमबाट आफू निरन्तर लाग्ने उनले बताइन् । आय आर्जनमा राम्रो भएपछि समाज र घरपरिवारले पनि फरक नजरले हेर्ने र व्यवहार बदलिने भएकाले धेरैलाई तालिम उपयोगी हुने उनले बताइन् । पश्चिम तारा नेपालको समन्वयमा नेपालगन्ज उपमहानगरपालिकाले यौनिक तथा लैंगिक अल्पसंख्यकको आर्थिक सशक्तीकरणका लागि ३० दिने निःशुल्क मोटर ड्राइभिङ तालिम दिन लागेको उपमहानगरपालिकाकी उपप्रमुख उमा थापा मगरले बताइन् ।


उनीहरूको पहिचान र सीप अभावले समाजबाटै तिरस्कृत हुनुपर्ने अवस्था अन्त्य गर्न तालिम दिन लागिएको नगरपालिकाले जनाएको छ । 'सीप छैन भनेर भौतारिनुपर्ने अवस्था अन्त्य गर्ने प्रयास गर्दैछौं,' उनले भनिन्, 'यौनिक अल्पसंख्यकले आफैं सीप सिकेर आत्मनिर्भर बन्दै छन् ।' सीपको सदुपयोग गर्दै आत्मनिर्भर भएर फरक पहिचान भए पनि सम्मानित जीवन जिउने वातावरण बनाइदिनुपर्ने उनले बताइन् ।


–रूपा गहतरज

प्रकाशित : जेष्ठ ६, २०७६ १०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?