२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

पढाइ सुधार्न कबुलियतनामा

ठाकुरसिंह थारु

बर्दिया — यहाँका सामुदायिक विद्यालयको पढाइको गुणस्तर बढाउन शिक्षकसँग लिखित कबुलियत गराउन थालिएको छ । हरेक शिक्षकले विद्यार्थीको पढाइ सीपको अवस्था मूल्यांकन गर्ने र अर्को शैक्षिक सत्रसम्म गर्न सक्ने उपलब्धिका बारेमा लिखित कागज गर्नुपर्ने भएको छ ।

पढाइ सुधार्न कबुलियतनामा

सामुदायिक विद्यालयको पढाइस्तर खस्किँंदै गएपछि त्यसलाई चिर्न नयाँ नीति ल्याइएको हो ।


गएको शैक्षिक सत्रमा कक्षागत विद्यार्थी फेल÷पासको संख्या यकिन गरी विषयगत पढाइ सीपको मूल्यांकन गरिएको छ । त्यसका आधारमा शिक्षकले पढाइ सीपको अवस्था यकिन गर्ने छन् । त्यसैका आधारमा पढाइ सीप उपलब्धि गर्ने भन्दै शिक्षकले लिखित कागज गर्नुपरेको हो ।


अर्को शैक्षिक सत्रमा शिक्षकले लिखित रूपमा गरेको उपलब्धिको मूल्यांकन गरिनेछ । शिक्षकले पढाइको गुणस्तर बढाउन प्रधानाध्यापकसँग लिखित सम्झौता गरिरहेका छन् । पास र फेल विद्यार्थी संख्या, उनीहरूले ल्याएको अंक, कमजोर तथा सकारात्मक पक्षलगायतका अवस्थालाई मूल्यांकन गरी नयाँ रणनीति शिक्षकले बनाउनेछन् । उक्त रणनीति पूरा गर्न लक्ष्यसहितको योजना विद्यालयमा पेस गरेपछि कबुलियत हुनेछ ।


सामुदायिक विद्यालयका शिक्षकमा सरकारको लगानी बढी छ । तालिम दिएको छ । संस्थागत विद्यालयलाई सरकारले अनुमतिबाहेक केही दिएको छैन । ‘सरकारले जति लगानी गर्दा पनि सामुदायिक विद्यालयको परीक्षा परिणाम राम्रो छैन । संस्थागत विद्यालयको परिणाम भने राम्रो छ,’ बढैयाताल गाउँपालिका शिक्षा शाखा प्रमुख विष्णु ढकालले भने, ‘त्यसैले यो शैक्षिक सत्रदेखि पढाइको गुणस्तर बढाउन शिक्षकहरूसँग लिखित कबुलियत गराउन थालिएको हो ।’


शिक्षकले कबुलितनामा गरेपछि शिक्षाको गुणस्तर बढ्ने विश्वास गरिएको छ । लिखित सम्झौतापछि शिक्षक बढी उत्तरदायी बन्ने उनले बताए । त्यससँगै शिक्षण गुणस्तर बढाउने शिक्षक पुरस्कृत हुनेछन् ।


कबुलियत अनुसारको शैक्षिक गुणस्तर बढाउन नसक्ने शिक्षकलाई कारबाही गरिनेछ । ‘राम्रो पढाइ गर्ने शिक्षकलाई पुरस्कार र काम नगर्ने शिक्षकलाई दण्डको व्यवस्था हुन आवश्यक छ,’ शिक्षा शाखा प्रमुख ढकालले भने, ‘यसले पनि शिक्षकलाई कर्तव्यबोध गराउन सहयोग पुग्नेछ ।’


बर्दियामा सामुदायिक, मदरसालगायत ३ सय ९५ विद्यालय छन् । करिब १ लाख १२ हजार ३ सय ४० विद्यार्थी रहेको शिक्षा विकास समन्वय एकाइ बर्दियाले जनाएको छ । शिक्षकले गर्नुपर्ने कबुलियतनामा कार्यान्वयनका लागि विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, जनप्रतिनिधि, शिक्षक, अभिभावक संघका पदाधिकारीबीच छलफल गरिएको छ ।


बढैयाताल गाउँपालिकाभित्र रहेका केही सामुदायिक विद्यालयका प्रधानाध्यापकले भने शिक्षकसँग कबुलियतनामा गराउने तयारी चलिरहेको बताएका छन् । ‘गत शैक्षिक वर्षको पढाइ सीप स्तरको मूल्यांकन भइरहेको छ । शिक्षकसँग पनि त्यसबारे छलफल भइरहेको छ,’ बढैयाताल गाउँपालिका-५ स्थित नेपाल राष्ट्रिय इन्दिरा भुसाल माविका प्रधानाध्यापक गंगा चौधरीले भनिन्, ‘केही दिनमै शिक्षकसँग कबुलियतनामा गराउँछौँ ।’

प्रकाशित : जेष्ठ ७, २०७६ ११:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?