२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

चुरेमा जथाभावी फँडानी

माधव अर्याल

पाल्पा — चुरे क्षेत्रमा काँचो सालका सयौं रूख फँडानी भएको छ । डिभिजन वन कार्यालयसँग समन्वय नगरी रैनादेवी छहरा गाउँपालिका-७, बल्ढेङगढीस्थित ढावमा १ सय ८२ काँचा सालका रूख फँडानी गरिएका हुन् ।

स्थानीयले सानाठूला गरी २ सय ७२ रूख फँडानी भएको दाबी गरेका छन् । गाउँमा विद्युत् विस्तारका नाममा काँचो सालका रूख काटेको स्थानीयले बताए । विद्युत् पोल गाडने लाइनमा मात्र नभएर हाइटेन्सन लाइन लैजानेजस्तै गरी वन फँडानी गरेको भेटिएको डिभिजन वन कार्यालयले जनाएको छ ।


वनले काटिएका रूखको मुचुल्का उठाएर कानुनी प्रक्रिया अगाडि बढाएको छ । स्थानीयका अनुसार कतिपय स्थानमा पाँच सय मिटर वरपरका रूखसमेत ढालिएका छन् । ढावका गाउँलेले महिनादिन लगाएर रूख फँडानी गर्दा सोही वडामा रहेको बल्ढेङगढी सव-डिभिजन कार्यालयले थाहा नपाएको जनाएको छ ।


उसले फँडानी भइसकेपछि अन्तिममा मात्र थाहा पाएको जनाएको छ । जोगदामारको स्थानीय जाबुने सामुदायिक वन र चन्द्र आकार सामुदायिक वन क्षेत्र तथा आफना घरवरपरका समेत रूख फँडानी गरेका हुन् ।


वन कार्यालयसँग कुनै समन्वय नगरेकाले पनि समस्या भएको डिभिजन वन अधिकृत मोहन पौडेलले बताए । ‘प्रक्रिया मिलार अत्यन्तै थोरै रूख काटे पनि हुने अवस्था रहेछ,’ उनले भने, ‘खोइ कसको उक्साहटमा वनसँग कुनै समन्वय नै नगरी जंगल फँडानी गरेको देखियो ।’


डिभिजन वनका अनुसार १ हजार ५ सय क्युफिटभन्दा बढी काँचो सालका काठ कटान गरेका छन् । जथाभावी रूख काटेको थाहा पाएपछि वन कार्यालयले अध्ययन, मुचुल्का उठाउने, अनुगमनसमेत गरिसकेको जनाएको छ ।


जिल्ला अदालत र सरकारी वकिल कार्यालयमार्फत उनीहरूलाई कारबाही प्रक्रिया अगाडि बढेको अधिकृत पौडेलले बताए । ३५ घरपरिवारलाई नै पक्राउ पुर्जी जारी भइसकेको छ । रूपन्देहीसँग सीमा जोडिएको र चुरे क्ष्ँेत्रमा जंगल फँडानी भएको हो । जंगल फँडानी भएको क्ष्ँेत्र तानसेनबाट ५० किलोमिटर पश्चिम-दक्षिणमा पर्छ ।


‘विद्युत् विस्तारको बहानामा धेरै रूख काटिएको भेटियो,’ उनले भने, ‘काटनेलाई कानुनबमोजिम कारबाही हुन्छ । यसको प्रक्रिया अगाडि बढाइएको छ ।’ उनीहरूलाई पक्राउ गर्ने तयारी भएको प्रमुख पौडेलले बताए । यसअघि पनि यही क्षेत्रमै वन फँडानी गर्ने पक्राउ परेका थिए । वन कार्यालयले पक्राउ गरी ल्याएका केही व्यक्तिलाई जनप्रतिनिधिकै रोहबरमा छोडेको थियो ।


विद्युत् विस्तार गर्नका लागि ३५ घरधुरी मिलेर रूख फँडानी गरेका हुन् । प्रत्येक घरधुरीबाट आएर जंगल फँडानी गरेको भेटिएको सब-डिभिजन कार्यालय बल्ढेङगढीका प्रमुख प्रेम चौधरीले बताए । ‘घना जंगलको बीचमा रहेको बस्तीमा विद्युत् विस्तार गर्ने काममा जथाभावी रूख कटान भएको छ,’ उनले भने, ‘त्यसैले हामीले थाहा पनि पाउन सकेनौं ।’


ढावका स्थानीय चित्रबहादुर बगालेले स्थानीय तह र प्रदेश सांसदले नै यस विषयमा सुटुक्क रूख काटन हौस्याएको बताए । ‘बिजुली बाल्ने बहानामा जथाभावी रूख काटेकाले अहिले सबैलाई अप्ठ्यारो पर्ने अवस्था अँएको छ,’ उनले भने, ‘वन कार्यालयसँग समन्वय नगर्दा यो सब भएको हो ।’


सामुदायिक वनमा काम गरिरहेका केही ठेकेदारको उक्साहटमा गाउँलेले जथाभावी रूख काटेको वन अधिकृत पौडेलले बताए । ‘वनको प्रक्रिया ढिला र झन्झटिलो हुने भएकाले पनि छिटो बिजुली लैजानलाई यसरी कटान गरेको जवाफ दिएका छन्,’ उनले भने, ‘अहिले कानुनी

अप्ठ्यारो आएपछि पछुताएर भएन ।’

प्रकाशित : जेष्ठ ७, २०७६ ११:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?