कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मदिरा रोक्दा गाउँघरलाई सञ्चो

हरि गौतम

खदी, रुकुम पश्चिम — गाउँघरमा झैझगडा भएको सुन्नुपरेको छैन । न कसैले कसैलाई कुुटपिट गरेको देख्नुपरेको छ । आठबीसकोट नगरपालिका-२ पहाडाकी वसन्ती यरीलाई केही समयदेखि हिंसा र मनमुटावका घटना देख्नु-सुन्नु नपर्दा आनन्द लागेको छ ।

मदिरा रोक्दा गाउँघरलाई सञ्चो

१ नम्बर वडाको फिलिगीकी देउमती बुढालाई पनि कसैले पतिले कुटपिट गरेको भनेर सुनाएका छैनन् । कुटपिट गरेकै कारण कसैलाई प्रहरीले पक्राउ गरेको खबर पनि कानमा परेको छैन । ३ नम्बर वडाको खदीकी मनकुमारी देवकोटाले बाटो, चौक चौतारामा मदिरा सेवन गरेर रातिसम्म होलहल्ला गर्ने र बाटोमै सुत्नेहरू नदेखेको पनि लामो समय भइसक्यो ।


यरी, बुढा र देवकोटा मात्रै होइन, आठबीसकोट नगरपालिकाका तीन वडावासीले पछिल्लो समय यी गतिविधि देखेका छैनन् । तीन वडाका झन्डै एक दर्जन गाउँबस्ती शान्त छन् । १ नम्बर वडाका रोकाजा, खेत, ओख्ले, फिलिंगी, डाँडागाउँ, २ का पहाडा, स्याला र ३ का खदी र पटागाउँ शान्त छन् ।


‘तीन महिना पुग्नै लाग्यो, गाउँमा झैझगडा भएको छैन,’ यरीले भनिन्, ‘पतिको कुटपिटबाट न कोही महिलाले दु:ख पाएका छन्, न छोराछोरी नै बिचल्लीमा पर्नुपरेको छ ।’ उनले गाउँघरमा अशान्ति सिर्जना गर्ने मुख्य कारक मानिएको मदिरा नियन्त्रणपछि गाउँ शान्त भएको बताइन् । महिला समूह, प्रहरी र स्थानीय सरकारको लामो समयपछि भएको प्रयासले मदिरा उत्पादन र बिक्रीवितरण बन्द गरिएपछि धेरैले शान्ति महसुस गरेको उनको भनाइ छ ।


हरेक दिन कुनै न कुनै झैझगडा भइरहने गाउँ तीन महिनायता शान्त भएको बुढाले बताइन् । ‘यो सबै गर्ने चिज रक्सी नै रहेछ,’ उनले भनिन्, ‘रक्सी बन्द भएपछि सबै मान्छे सही लाइनमा लागेका छन् ।’


अलि ठूलो बजार रहेको र धेरै मान्छेको चहलपहल हुने खदी पनि शान्त छ । मदिरा उत्पादन र बिक्री वितरण गर्न छाडेपछि खदीलगायत अन्य गाउँ शान्त भएको देवकोटा बताउँछिन् । ‘रक्सीकै कारण दु:ख पाउनेहरूले सुख महसुस गरेको हामीले पाएका छौं,’ देवकोटाले भनिन् ।


यी तीनवटै वडा मदिरामुक्त घोषणा भएका छन् । गत फागुन दोस्रो साता तीनवटै वडालाई मदिरामुक्त घोषणा गरिएको थियो । ‘मदिरामुक्त वडा घोषणा गरेयता बस्तीहरू झैझगडामुक्त जस्तै भएका छन्,’ खदी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक वीरबहादुर भण्डारीले भने, ‘रक्सीले गर्दा भएका घटना हामीकहाँ आउन छाडेका छन् ।’


मदिरा नियन्त्रणका लागि थालिएको अभियान प्रभावकारी भएको उनले बताए । तीन वडामा सँतजना इजाजत प्राप्त मदिरा विक्रेता थिए । सम्झाइ बुझाइ गरेपछि विक्रेताले पनि मानेको ३ नम्बरका वडाध्यक्ष केशरमान विकले बताए ।


‘हामीले उहाँहरूसँग पटक पटक छलफल ग¥यौं,’ उनले भने, ‘समाजका लागि ठीक छ भनेर उहाँहरू पनि तयार भएपछि अभियान सफल भएको हो ।’ मदिरामुक्त घोषणा भएको तीन महिनासम्म गाउँ शान्त हुनका साथै सबै खुसी भएको उनको भनाइ छ ।

प्रकाशित : जेष्ठ ७, २०७६ ११:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?