परदेशबाट फर्केर तरकारी खेती

वीरेन्द्र केसी

अर्घाखाँची — पाणिनि गाउँपालिका-२, पोखराथोकका टीकाराम विक घरखर्च धान्न सकस परेपछि रोजगारीको भारत बनाए । त्यहाँ पनि सोचेजस्तो कमाइ भएन । धेरै दु:ख पाए । घर फर्किएपछि फलाम पिटने पुख्र्यौली पेसाले जीवन धान्ने देखेनन् । गाउँमै रोजगारी, पेसा र कुनै कामको खोजीमा थिए । 

१० वर्षअघि छिमेकी अच्युत गौतमको घरमा पुगेर नोकरी खोजी दिन विकले आग्रह गरे । गौतमले उनलाई गोलभेंडा खेती गर्न सल्लाह दिए । उनी अलमलिए । ‘मैले सिकाउँछु, खेती गर्नुस् भनेपछि घरमा आएर गोलभेंडा रोपें । पहिलो वर्ष सिक्नै लाग्यो, त्यसपछि आम्दानी हुन थालेपछि म उत्साहित भएँ,’ विकले भने ।


अहिले उनको बारीमा गोलभेंडा लटरम्मै फलेका छन् । टनेलभित्र गोलभेंडा छिटो उत्पादन भएर पाक्छ । कृषि पेसा नै स्वरोजगारको गतिलो माध्यम बनेपछि उनी अहिले खुसी छन् । गोलभेंडासँगै साग, मुला, गाँजर, काउली, आलुलगायत खेती छ ।


कृषिबाटै वर्षमा पाँच लाख रुपैयाँभन्दा बढीको कारोबार भएको उनले बताए । सुन्तलाका दुई सय बोटले फल दिन्छन् । अझै बिरुवा थप्दैछन् । विकका छिमेकी चार जना युवा पनि कृषिमै लागेका छन् । उनको खेती हेर्न जनप्रतिनिधि र कर्मचारी आउँछन् । ‘नाम, दाम र इज्जत राम्रै पाइएको छ, कृषिमै मेरो भविष्य उज्ज्वल बन्यो,’ उनले भने ।


परम्परागत खेती प्रणालीबाट हुँदैन । फरक ढंगले व्यवसायीमूलक तरिकाले खेती गरेपछि मनग्य कमाइ हुने उनको अनुभव छ । रोजगारी खोज्दै भारत धाएका विकले अहिले चार जनालाई रोजगारी दिएका छन् । पहाडको गोलभेडाको बजारमा माग छ ।


खानलाई स्वादिलो र मिठो मान्दै तानसेन र बुटवलबाट व्यापारीले फोन गरेरै पठाइदिन अनुरोध गर्ने गरेको उनले सुनाए । उनीसहित पोखराथोकमा विदेशबाट फर्केर १० युवाले तरकारी खेती, कुखुरापालन व्यवसाय गरेका छन् ।


सिम्लेका चिरञ्जीवी पौडेलले सुन्तलाका बोटभित्र काउली, आलु, सिमी, बोडी, साग, मुला फलाएका छन् । पिँडालु, अदुवा र बेसार उत्पादन गरेका छन् । सुन्तला र तरकारीबाट वर्षमा ६ लाख रुपैयाँ कारोबारले उनको जीवन फेरिएको छ । ‘गाउँमा गाईभैंसी पाल्ने र कृषि गर्ने परम्परागत शैली हो । तर, फरक तरिकाले गरेको खेतीले गाउँमै स्वरोजगार भइन्छ,’ मालारानी गाउँपालिका-५, बाँगीका विष्णु कार्कीले भने ।


गाई र भैंसीको दूधको कमाइले सात वर्ष कतारमा बिताएको समय खेर गएकोे अनुभूति उनलाई छ । ‘त्यतिबेला म कतार जाँदा गाउँमै गाईभैंसी पालेर दूध बेच्ने चलन थिएन । बिदामा घर फर्किएका उनले राहदानी च्यातेर गाईको स्याहार गर्न थालेको सुनाए ।


उनको अनिल भैंसी फार्ममा १८ भैंसी र १० गाई छन् । दैनिक १ सय १० लिटर दूध बिक्री हुन्छ । महिनामा खर्च कटाएर ७० हजार रुपैयाँ बचत हुन्छ । अन्न उब्जनी नभएपछि र छोराछोरी पढाउन सन्धिखर्क झर्ने योेजनामा रहेको उनको परिवार गाउँमै रोकियो । बारी बाँझिदै थिए । गाईभैंसीको मल र पिसाबले बारीमा अन्न दोब्बर उब्जनी भएको छ ।


तरकारी, दूध र अन्न घरकै उत्पादनले धानेको छ । ‘अब म कतार जान्न, पशुपालनको संख्या बढाउँछु,’ उनले भने । सुरुमा युवा विदेशै जान खोजे पनि फर्केर आएपछि यतै कृषिमै भविष्य देखेर काम थाल्ने उनले बताए ।


ड्राइभर पेसा छाडेर गाई पालेका खिदिमका रामु न्यौपानेले वर्षमा दूध बिक्रीबाट तीन लाख रुपैयाँ आम्दानी गर्छन् । विदेशबाट फर्किएका केही युवासहित २२ जनाले व्यावसायिक गाईभैंसी पालेर दूध बिक्री गरेको उनले बताए । ‘घरर्खचका लागि साहूकहाँ ऋण खोज्न जानेको अन्त्य भएको छ,’ उनले भने । खिदिमको दुर्गाफाँटमा पाँच सय लिटर दूध उत्पादन हुन्छ ।


अब गाउँ छाडेर तराई र सहर नजाने धारापानीका युवा कृषक भेषबहादुर नेपालीले बताए । उर्वर भूमिको उपयोग गरी युवाशक्तिलाई कृषिमै लगाएर गाउँलाई स्वरोजगार बनाउने लक्ष्यअनुसार कृषिलाई प्राथमिकतामा राखी बजेट छुटयाएर काम भइरहेको मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यले बताए ।

प्रकाशित : जेष्ठ ७, २०७६ ११:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?