१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

खाद्यले थप्यो चामलको कोटा

हरि गौतम

रुकुम पूर्व — नेपाल खाद्य संस्थानले जिल्लामा चामलको कोटा वृद्धि गरेको छ । यसअघि १ हजार ५ सय क्विन्टल मात्रै जिल्लाका लागि पठाउने गरिएकामा यस वर्षदेखि २ हजार ५ सय क्विन्टल चामल आउने भएको हो ।

खाद्यले थप्यो चामलको कोटा

यस वर्षदेखि खाद्य संस्थानले पुथाउत्तरगंगा गाउँपालिकाका लागि मात्रै छुट्टै एक हजार क्विन्टल चामल पठाउन थालेको छ ।


भैरहवा र दाङको तलसीपुरबाट पुथाउत्तरगंगा गाउँपालिकाको तकसेराका लागि चामल आउन सुरु गरिसकेको छ । यसअघि खाद्य संस्थानले रुकुमकोटस्थित शोभा गाउँ डिपोका लागि मात्रै १ हजार ५ सय क्विन्टल चामल पठाउने गरेको थियो । पुथाउत्तरगंगा गाउँपालिकाले आफ्ना लागि छुट्टै चामलको माग गरेपछि तकसेरासम्म खाद्य संस्थानले चामल ढुवानी गर्न थालेको हो ।


शोभा गाउँ डिपोका लागि यस वर्षको चामल आउन सुरु भएको छ । १ सय ७० क्विन्टल चामल आएर बिक्री भइसकेको रुकुम पश्चिमस्थित खाद्य संस्थानको शाखा कार्यालयले जनाएको छ । बाँकी चामल आउने क्रममा रहेको जनाइएको छ ।


रुकुम पश्चिममा रहेको खाद्य संस्थानको शाखाले नै दुवै जिल्लामा काम गर्छ । शाखाका निमित्त प्रमुख चन्द्रहादुर खड्काले रुकुम पूर्वका लागि यस वर्षदेखि २ हजार ५ सय क्विन्टल चामलको कोटा निर्धारण भएको बताए । गत वर्ष पनि रुकुम पूर्वमा २ हजार ६ सय क्विन्टल चामल रुकुमकोटस्थित शोभा गाउँ डिपोबाट मात्रै बिक्री वितरण भएको थियो ।


यस वर्ष पुथाउत्तरगंगा गाउँपालिकाको तकसेरासम्म चामल पु¥याइएपछि थप बिक्री हुने आशा गरिएको निमित्त प्रमुख खड्काले बताए । तकसेरा र रुकुमकोटमा सर्वसाधारणले सोना मन्सुली चामल प्रति ५० किलोको ४ हजार ७ सय रुपैयाँमा किन्न पाउँछन् ।


तकसेरा र रुकुमकोटसम्म खाद्य संस्थानले नै ढुवानी गर्ने भएकाले सर्वसाधारणले सुलभ मूल्यमा चामल किन्न पाएको खाद्य संस्थानले जनाएको छ । खाद्य संस्थानको चामल अब खाद्य संस्थानले मात्रै नभएर सहकारीहरूले पनि बिक्री वितरण गर्न पाउने भएका छन् ।


खाद्य संस्थानको शाखा कार्यालय, डिपो वा वितरण केन्द्रबाट चामल लिएर सहकारीहरूले सुपथ मूल्यमा बिक्री गर्न पाउने गरी संस्थानले निर्णय गरेको छ । सर्वसाधारणलाई सुलभ मूल्यमा चामल बिक्री गर्ने भन्दै संस्थानले सहकारीमार्फत बिक्री गर्ने तयारी गरेको हो ।


यसका लागि खाद्य संस्थानको शाखा कार्यालयले सहकारीलाई सम्झौताका लागि आउन अनुरोध गरेको छ । खाद्य संस्थानकै मूल्यमा चामल बिक्री गर्ने गरी सहकारीलाई सुपथ मूल्य पसल सञ्चालन गर्न दिइने निमित्त प्रमुख खड्काले बताए ।


त्यसका लागि सहकारीले केही सर्त पूरा गर्नुपर्नेछ । भ्याट वा पानमा दर्ता भएको हुनुपर्ने, कर चुक्ता गरेको हुनुपर्ने, सम्बन्धित वडाको सिफारिस पत्र, विक्रेताका लागि सहकारीको अख्तियारीनामा पत्र र विक्रेता कानुनमा दोषी नदेखिएको हुनुपर्नेछ ।


खाद्य संस्थानको खाद्य वस्तु, चामल, दाल तेललगायतका वस्तु बिक्री गर्ने सहकारीले बिक्रीबापत दुई प्रकारको सेवा शुल्क पाउँछन् । प्रतिकिलो ५० रुपैयाँसम्म बिक्री मूल्यमा ७ प्रतिशत सेवा शुल्क सहकारीलाई दिइनेछ भने ५० रुपैयाँभन्दा माथिको बिक्री मूल्यमा ६ प्रतिशत सेवा शुल्क सहकारीले पाउनेछन् ।

प्रकाशित : जेष्ठ ७, २०७६ ११:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?