कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

संघसंस्था नगरमै दर्ता

रूपन्देही — नियमन तथा व्यवस्थापन गर्न सैनामैना नगरपालिकाले संघसंस्था दर्ताका लागि एकद्वार नीति अपनाएको छ । संस्था दर्ता ऐन, २०७५ ले नगरलाई कार्यक्षेत्र बनाएर काम गर्ने संस्थालाई दर्ता गरिरहेको छ ।

संघसंस्था नगरमै दर्ता

यसले संस्था दर्ता गर्न जिल्ला प्रशासन जानुपर्ने बाध्यता अन्त्य भएको छ ।


सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले नगर विकासमा संघसंस्थाको भूमिका महत्वपूर्ण रहने भएकाले कानुन बनाएर दर्ता गराउन खोजेको बताए । ‘अनियमितता हटाउन र आर्थिक समृद्धिका लागि पनि दर्ता प्रक्रियाले सहयोग गर्छ,’ उनले भने, ‘सहकार्य र संस्थाको कार्य वैधानिकताका लागि दर्ता अनिवार्य गरेका हौं ।’ यसरी दर्ता गराउँदा नगरपालिकाको आयमा वृद्धि भई आर्थिक पारदर्शितासमेत हुने उनले जनाए ।


नगर क्षेत्रभित्र सामाजिक, धार्मिक, साहित्यिक, सांस्कृतिक, वैज्ञानिक, शैक्षिक, बौद्धिक, खेलकुद, शारीरिक वा परोपकारी क्ष्ँेत्रमा काम गर्ने संस्था छन् । तिनलाई व्यवस्थित गर्न ऐन बनाएर दर्ता गरिएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद भण्डारीले बताए ।


स्थानीय सरकार सञ्चालन ऐनमा संस्था दर्ता गर्ने, नवीकरण गर्ने र नियमन गर्ने स्पष्ट व्यवस्था नभएको हुँदा र ०७५ फागुन १९ मा संशोधन भएपछि दर्ता गरी परिचालन गर्ने स्थानीय नीति बनाउन सजिलो भएकोसमेत भण्डारीले बताए । ‘आफैं कानुन बनाउन मिल्ने अवसरको उपयोग गर्दै यस्तो नियम बनाएका हौं,’ उनले भने, ‘यो ऐनले अवैधानिक रूपमा रहेका संघसंस्थाको वैधानिकता कायम गर्नेमा विश्वस्त छौं ।’


राज्यको पुन: संरचना भएसँगै स्थानीय तहको एकल अधिकारमा कानुन बनाउने अधिकार रहेकाले सोही अधिकारको प्रयोग गर्दै सैनामैना नगरपालिकाले संस्था दर्ता ऐन बनाएर लागू गरेको उनले बताए ।


स्थानीय तहमा संस्था दर्ता गर्न मिल्ने भएपछि धेरै सहज भएको उपभोक्ता हित संरक्षण मन्च सैनामैनाका अध्यक्ष दुर्गा गौतमले बताए । ‘नगरभित्र मात्र कार्यक्षेत्र भएको संस्था दर्ता गर्न भैरहवा जानुपर्ने बाध्यता थियो,’ उनले भने, ‘अब समय र अनावश्यक झन्झटबाट मुक्ति पाइयो ।’


नगरपालिकामा संस्था दर्ता गरेर काम गर्दा प्रक्रियागत रूपमा व्यवस्थित हुने समाजसेवी मञ्जु ज्ञवालीले बताइन् । ‘कानुनअनुसार संस्था सञ्चालन हुँदा समन्वयात्मक भूमिका राम्रो हुन्छ,’ उनले भनिन्, ‘नगरपालिकाले यो प्रक्रिया ल्याइदिँदा सबैलाई राम्रो भएको छ ।’


सञ्जु पौडेल

प्रकाशित : जेष्ठ ७, २०७६ ११:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?