बर्दिया चिनाउन कार र्‍याली

रूपन्देही — वन्यजन्तु र सफारी पर्यटनको सम्भावना भएर पनि ओझेलमा परेको बर्दिया निकुञ्ज र आसपासका पर्यटकीय गन्तव्यको प्रचारका लागि व्यवसायीले कार र्‍याली गरेका छन् । दुई दिनअघि बर्दियाको ठाकुरद्वाराबाट सुरु र्‍याली मंगलबार बिहान बुटवल आइपुगेको छ । उनीहरू दाङ, कपिलवस्तु र लुम्बिनी हुँदै यहाँ आएका हुन् । 

बिहान यहाँका पर्यटन व्यवसायीसित बर्दिया निकुन्ज र त्यसको मध्यवर्ती क्षेत्रमा रहेका पर्यटकीय सम्भावनाबारे छलफल गरे । आन्तरिक पर्यटकका हिसाबले प्रदेश ५ को राजधानी बुटवलमा प्रशस्त सम्भावना रहेकाले भ्रमणका लागि निम्ता गरेका थिए ।


प्रदेशको पश्चिम छेउमा भए पनि वन्यजन्तु र सफारी पर्यटनका लागि बर्दिया विश्वमै परिचित रहेको पर्यटन व्यवसायीले जानकारी गराएका थिए । बुद्ध जन्मस्थल लुम्बिनीपछि प्रदेशको महत्त्वपूर्ण गन्तव्यका रूपमा निकुञ्ज रहे पनि सरकारले विकासमा

सहयोग नगरेको उनीहरूको गुनासो छ ।


गत माघीको अवसरमा बर्दिया भ्रमण वर्षको घोषणा गरे पनि अहिलेसम्म प्रचारप्रसार थिएन । त्यसैले मुलुकका अन्य पर्यटकीय स्थलमा पुगेर बर्दिया चिनाउन लागि परेको पर्या-पर्यटन विकास मंचका पूर्वअध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए । ‘प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्षसँगै बर्दियालाई जोडन सकेन,’ उनले भने, ‘बर्दिया र लुम्बिनी नीतिगत रूपमा जोडिन आवश्यक छ ।’


विकास मंचको अगुवाइमा गत जेठ ५ गते र्‍याली सुरु भएको थियो । पाल्पा, पोखरा, चितवन, नेपालगन्ज हुँदै सदरमुकाम गुलरियामा पुगेर यसको समापन गरिने उनले बताए । र्‍यालीलाई यहाँ होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ जिल्ला शाखाले स्वागत गरेको थियो । बर्दियामा पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्ष घोषणा गरिएकाले प्रचार आयोजना गरिएको पर्या-पर्यटन विकास मन्चका अध्यक्ष मोहनलाल थारुले बताए ।


‘बर्दिया भ्रमण वर्ष सफल बनाउन प्रचार थालिएको हो,’ उनले भने, ‘बर्दियामा पर्यटकीय विकासका लागि सरकारबाट सहयोग भएको छैन ।’ लुम्बिनी र बर्दिया निकुन्जलाई जोडेर पर्यटकीय पूर्वाधार विकास गर्न सकेमा त्यसले प्रदेशको समृद्धिमा सहयोग पुर्‍याउने उनले बताए ।


गत वर्ष प्रदेश सरकारले सार्वजनिक गरेको बजेटमा ठाकुरद्वारामा नाट्यशाला निर्माण गर्ने उल्लेख थियो । त्यसबाहेक त्यहाँको पर्यटन प्रवर्द्धनका लागि बजेट छुटयाइएको थिएन ।


प्रकाशित : जेष्ठ ८, २०७६ ११:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?