कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

पुल निर्माण ढिलाइले मर्का

रुकुम पूर्व — सिस्ने गाउँपालिका–३ का अर्जुन लामिछाने गाउँपालिका केन्द्र रुकुमकोट जाँदा वडा ७ को सिस्नेरी हुँदै जान्छन् । त्यहाँ पुग्न सानीभेरी तर्नुपर्छ । जोखिमपूर्ण तरिकाले बोजेरीस्थित झोलुंगे पुलमा मोटरसाइकल तार्नुपर्छ ।

मोटरसाइकलमार्फत गाउँपालिका केन्द्रसम्म आउजाउ गर्नुपर्ने वडा ३ र ४ का बासिन्दाको एउटै पीडा हो । सानीभेरीमा पुल निर्माण नहुँदा जोखिम मोल्ल बाध्य छन् ।


रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका हुँदै डोल्पासम्म जोडने उद्देश्यले सडक निर्माण थालिएको छ । यस खण्ड अन्तर्गत सानीभेरी पुल निर्माणमा ढिलाइ भएको छ । निर्माणका लागि सम्झौता गरेको ठेकेदार कम्पनीले समयमा काम नगर्दा सर्वसाधारणले दुःख पाइरहेका छन् । सम्झौता अनुसार काम गरेको भए एक वर्षअघि पुल निर्माण सकिन्थ्यो । गत वर्ष असार महिनामा काम सक्ने गरी सम्झौता भएको थियो । अहिले पुल निर्माण अलपत्र छ ।


सिस्ने गाउँपालिका–६ र ४ वडा जोडने पुल निर्माण दुई वर्षमा गरिसक्ने सम्झौता ठेकेदार कम्पनीले जिल्ला प्राविधिक कार्यालय रुकुम पश्चिममा गरेको थियो । जिल्ला प्राविधिक कार्यालय र ठेकेदार कम्पनी मृत सन्जीवनी निर्माण सेवा हेटौडाबीच ०७३ असार ३१ गते दुई वर्षमा पुल निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । ०७५ को असार ३१ गते पुल निर्माण गरिसक्ने सम्झौता हो । ठेकेदार कम्पनीले ९ करोड २० लाख रुपैयाँमा निर्माण गर्ने जिम्मा लिएको थियो ।


सम्झौता गरेको लामो समयसम्म निर्माणले गति लिएन । ‘यो पुल कहिले सकिने हो,’ सिस्ने गाउँपालिका–६ का भुवनेश्वर उपाध्यायले भने, ‘जिम्मा लिनेले काम नगर्ने हो भने निगरानी गर्ने निकाय को हो, जनताले दुःख पाइरहेका छौं ।’ पुल नबन्दा सर्वसाधारणले दुःख पाउनुका साथै मालसामान ढुवानी महँगो भएको उनले बताए । सम्झौता अनुसारको समयभन्दा एक वर्ष बढी भइसक्दा समेत पुल निर्माण नहुनु ठूलो लापरबाही भएको उनले बताए ।


ठेकेदार कम्पनीको लापरबाही र अन्य केही कारणले पुल निर्माणमा ढिलाइ भएको जनाइएको छ । ठेकेदार कम्पनीले योजना निर्माण गरिसक्ने समयमा मात्रै निर्माणको काम थालेको थियो । विभिन्न बहानामा ठेकेदार कम्पनीले समयमै काम सुरु नगर्दा त्यसको मार सर्वसाधारण्मा परेको स्थानीयले बताए ।


सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले पुल निर्माणका लागि निर्माण कम्पनीलाई पटक–पटक ताकेता गरिरहेको बताइन् । ‘सडक पुगिसकेका ठाउँका जनतालाई असजिलो भएको छ ।


ठेक्का लागेका पुल पनि समयमै निर्माण नहुँदाको पीडा जनताले भोग्नु परेको छ,’ अध्यक्ष बरालले भनिन्, जतिसक्दो छिटो निर्माण कार्य सक्न हामी अनुरोध गरिरहेका छौं ।’ यद्यपि, पुल बने/नबनेको भनेर अनुगमन र नियमनको जिम्मा भने प्रदेश सरकारलाई भएको उनले बताइन् । ठेकेदार कम्पनीले भने नदीको एकापट्टि सडक नपुगेकाले पनि पुल निर्माणको काम ढिला सुरु गर्नु परेको जनाएको छ । सम्झौता अनुसार काम नभए पनि अब छिट्टै निर्माण हुने कम्पनीको दाबी छ ।

प्रकाशित : जेष्ठ ९, २०७६ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?