कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

क्षति रोक्न नियन्त्रित आगलागी

नियन्त्रित आगलागीमा उपभोक्ता, सुरक्षाकर्मी, दमकल साथमा भएपछि आगलागीको अग्निरेखा बनाउने र आगो लगाइदिने गरिन्छ
माधव अर्याल

पाल्पा — वन डढेलोबाट हुने क्षति रोक्न डिभिजन वनले नियन्त्रित आगलागी गरेको छ । साताव्यापी अभियान अन्तर्गत उसले बस्ती नजिक यस्तो अभियान चलाएको हो । जथाभावी आगलागीका घटना रोक्न नियन्त्रित आगलागी सफल भएको डिभिजन वन कार्यालयका प्रमुख मोहन पौडेलले बताए । ‘यसले जथाभावी आगलागी हुने र क्षति कम गर्न मद्दत गर्छ,’ उनले भने, ‘त्यसैले यसमा सबैको सहयोग खोजेर अभियान चलाएका हौं ।’

क्षति रोक्न नियन्त्रित आगलागी

डिभिजन वन कार्यालयले तानसेन बजार नजिकका सामुदायिक वनमा यस्तो अभियान चलाएको हो । जसले गर्दा डढेलोको क्षति न्यूनीकरणमा सहयोग पुग्ने विश्वास छ । साताव्यापी अभियानमा बस्ती नजिकका सल्ला प्रजातिका जंगलमा यस्तो क्रियाकलापमा जोड दिएको थियो । तानसेन नगरपालिका क्षेत्रमा बस्ती नजिकका सल्लाका वनमा नियन्त्रित आगलागी गरिएको छ ।


वन डढेलोको क्षति न्यूनीकरण गर्ने अभियानले यस वर्ष सार्थकता पाएको डिभिजन प्रमुख पौडेलले बताए । नेपाली सेनाको गोरखदल गण, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, तानसेन नगरपालिका र नगरक्षेत्रका सामुदायिक वन उपभोक्ता समूहहरूले यो अभियानमा सघाएका छन् । अभियानका लागि सबैको साथ, सहयोग र सहकार्य रहेको वन कार्यालयका रेन्जर यमलाल पोखरेलले बताए ।


‘बस्तीको नजिकमा पुग्ने र सम्बन्धित सामुदायिक वनका पदाधिकारी, सदस्यलाई समेत सहभागी गराएर अयिभान चलेको हो,’ पोखरेलले भने, ‘अधिकांश उपभोक्ताले यसलाई राम्रो काम भनेर साथ दिए ।’ तानसेनको कैलाशनगर, वसन्तपुर, भगवतीटोल, भुसालडाँडालगायतका क्षेत्रमा नियन्त्रित आगलागी गरिएको थियो ।


जसले गर्दा रातीको समय वा अन्य व्यस्त समयमा आगो निभाउन जान परेन । यसपटक गरिएको यो अभियान अर्को वर्ष पात झरेकै समयमा गर्ने योजना बनिसकेको उनले बताए । जंगलमा गाईबस्तु चराउन जाने, घुम्न जाने, अन्य नियतबाट जानेहरूले चुरोटका ठूठा फालिदिने र जुनसुकै बेलामा आगलागी हुने गरेको थियो ।


नियन्त्रित आगलागीमा उपभोक्ता, सुरक्षाकर्मी, दमकल साथमा भएपछि आगलागीको अग्निरेखा बनाउने र आगो लगाइदिने गरिन्छ । जसले गर्दा बस्ती नजिक आगामी दिनमा पनि आगो आउन नसकोस् भन्ने नै रहेको पोखरेलले बताए । वनदेवी, कैलाशनगर, श्रीनगरलगायतका स्थानमा बस्ती नजिकमै सल्लाका रुख छन् । तानसेन नगरपालिका–१, भुसालडाँडाका भैरव पुनले नियन्त्रणमा लिन सकिने गरी आगलागी गरिने भएकाले यसबाट पुनः क्षति हुन नसक्ने बताए । ‘आगलागीलाई नियन्त्रण लिन सहज होस् भनेर नै यस्तो नियन्त्रण गरेर आगलागी गरिएको होला,’ उनले भने, ‘बस्तीमा यसले गर्दा क्षति नपुगोस् भन्ने नै हो ।’


तानसेनका जंगल क्षेत्रमा चुरोट खाने, गाईबस्तु चराउन लैजाने बढी हुन्छ । बस्ती नजिकको जंगल भएपछि सबैको पहुँच पनि हुने नै भयो । तानसेन नगरपालिका–५ की धनकुमारी गैरेका अनुसार युवकयुवती जंगलमा जाने, चुरोट, गाँजा खानेहरूले गर्दा पनि पटक–पटक आगलागीका घटना हुने गरेका हुन् । यसका लागि प्रहरी, प्रशासनले पनि ध्यान दिन सक्यो भने आगलागी पनि कमी हुने उनले बताइन् । ‘त्यस्ता युवकयुवतीलाई नियन्त्रणमा लिने र उनीहरूलाई सचेत गराउने गर्नुपर्छ,’ उनले सुझाव दिइन्, ‘जंगलमा उनीहरू

गए भनेपछि हामी सबै डराउँछौ ।’


जताततै आगलागी

तानसेन नगरपालिका–११, बन्दीपोखराको जंगलमा मंगलबार दिउँसोबाट बुधबार बिहानसम्म लगातार आगलागी भएको छ । सदरमुकामबाट प्रस्ट देखिएको आगलागी सबै जंगल डढेपछि मात्र आफैं नियन्त्रणमा आयो । तानसेनका बासिन्दाले समेत रातभर बलेको आगो हेर्दा नोक्सानी पुग्यो भन्दै चिन्ता व्यक्त गरे ।


तर, नियन्त्रणका लागि कोही गएन । वरपर घर नजिक नभएकाले प्रहरी, सेना पनि परिचालन गर्नु परेन । यो एउटा उदाहरण मात्र हो । आर्यभन्ज्याङ, रामपुर, चिदीपानी, चिर्तुङधारा, मस्याम, कोलडाँडालगायतका क्षेत्रमा दैनिकजसो आगलागी भइरहेको छ । डिभिजन वन कार्यालय, स्थानीय तहबाट सरकारी रकम खर्चेर हुने डढेलो व्यवस्थापन सचेतना कार्यक्रम प्रभावकारी हुन सकेको छैन । तिनाउ गाउँपालिकाका विभिन्न स्थानमा डढेलो लागेर आफैं नियन्त्रणमा आएको छ ।


माथागढी, निस्दीका विभिन्न चुरे क्षेत्रमा पनि अवस्था उस्तै छ । रैनादेवी छहराका चुरे र तराईसँग जोडिएका जंगलमा पनि डढेलो लागिरहेको छ । डढेलो व्यवस्थापन, समुदायमा आधारित डढेलो व्यवस्थापन, डढेलो नियन्त्रण सप्ताह, सन्जाल निर्माण र परिचालनजस्ता कार्यक्रमका रकम खर्च गरे पनि हरेक वर्ष यस्ता डढेलो लागिरहेको छ । ‘प्रत्येक वर्ष डढेलो सप्ताह, सभा, गोष्ठीजस्ता सचेतनामूलक कार्यक्रम गरिहेका छौं,’ तिनाउ वन समन्वय समितिका अध्यक्ष अमर प्रधानले भने, ‘तर, झुक्याएर आगो लगाइदिने गर्छन् ।’


समितिकै उपाध्यक्ष दलबहादुर गुरुङका अनुसार तराईतर्फबाट जंगलमा बढी आगो लगाइदिने गर्छन् । जनचेतना कार्यक्रमका लागि वन कार्यालयमार्फत पाँच लाख बढी रकम खर्च हुन्छ । सबै सब–डिभिजन कार्यालयमार्फत यस्ता सचेतनामूलक कार्यक्रम हुने गर्छन् । डढेलो सप्ताह मनाउने, सन्जाल गठन गर्नेलगायतका कार्य गर्न केही रकम खर्च हुन्छ ।


संचार माध्यममा समेत बर्सेनि लाखभन्दा बढी रकम खर्च हुन्छ । ‘सिमानाबाट आउने डढेलो नियन्त्रण गर्ने गरी रुपन्देही र पाल्पातर्फका सामुदायिक वनका पदाधिकारीसँग छलफल गरेका हौं,’ तिनाउ वन समन्वय समितिका अध्यक्ष प्रधानले भने ।

प्रकाशित : जेष्ठ ९, २०७६ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?