बाबुको हत्या गरी आफैँ प्रहरी चौकीमा

हरि गौतम

रुकुम पूर्व — बाबुको हत्या गरेर एकजना आफैँ प्रहरी चौकीमा आएका छन् । भूमे गाउँपालिका-७ गुनामका २० वर्षीय विरज विक बाबुको हत्या गरेर भूमे–६ महतमा रहेको प्रहरी चौकीमा आएका हुन् । 

४१ वर्षीय बाबु रमन विकको हत्या गरी उनी बिहीबार बिहान ६ बजेमहतस्थित प्रहरी चौकी पुगेका थिए । बिहान ५ बजे खुकुरी प्रहार गरी बाबुको हत्या गरेका उनी आफैँ प्रहरी चौकीमा आएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक वीरबहादुर सुनारले बताए ।

'मैले बाबुको घाँटी रेटेर हत्या गरेँ, थोरै छालाले मात्रै घाँटी छुटि्टन सकेको छैन भनेर आफै प्रहरीमा आएको हो, घटनाको विस्तृत अनुसन्धान हुँदैछ,' प्रहरी निरीक्षक सुनारले भने ।घरायसी विवादको कारण घटना भएको र थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

प्रकाशित : जेष्ठ ९, २०७६ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्

शान्ति लुकाऊँ कहाँ !

कान्तिपुर संवाददाता

शान्ति प्रक्रियाको डेढ दशक बितिसक्दा पनि मुलुकमा कुनै न कुनै रूपमा हजारौंको ज्यान गएको छ  । सरकार भने गम्भीर देखिँदैन  ।

नागरिकको जीवन विगतभन्दा सस्तो भइसकेको छ । कहिले बलात्कार, कहिले बालक हत्या, कहिले दाइजो प्रथा, कहिले प्राकृतिक प्रकोप, कहिले दुर्घटना त कहिले आमहत्या जस्ता हिंसात्मक घटना समाचारका प्रमुख शीर्षक बन्दै आएका छन् । समाजमा यतिसम्म अराजकता छ कि चार हजार रुपैयाँ तिर्न नसक्दा आफ्नै साथीलाई क्रूरतापूर्वक हत्या गरिएको छ ।


कान्तिपुरमा ‘दुई परिवारको संहार’ पढ्दा समाजमा हिंसाले जरा गाडेको प्रतित भयो । सरकार आफ्ना नागरिकको सुरक्षामा गम्भीर देखिँदैन । जबकि सरकारले नागरिकबाट लिएको कर संसारकै महंँगो मध्येको छ । त्यस अनुसार अरु सुविधा त पर जाओस्, जीउधनको सुरक्षा पनि छैन । कस्तो असफल छ, सरकार । आफ्नै नागरिकको सुरक्षा दिन सक्दैन । खुकुरी बोकेर निर्धक्क परिवारै सखाप पार्ने आँट अपराधीहरूले कसरी गर्नसकेको हो ? कानुन र सुरक्षा निकायमा कुन कमजोरी छ ? सरकारले पत्ता लगाएर सच्याउनुपर्छ । सरकारले ठूला कुरा गरेर यस्ता घटनाबाट पन्छिन मिल्दैन । धेरै ठाउँमा अनुसन्धानकै नाममा हजारौं नागरिकलाई पीडित बनाइएको छ । हाम्रो अनुसन्धानमा भएको कमजोरीले एउटा दोषी पता लगाउन कैयौं निर्दोषलाई दुःख दिन्छ । सरकारले नागरिकको सुरक्षाको ग्यारेन्टी गर्नुपर्छ । पाँचथरको मिक्लाजुड– ३ मा भएको हृदयविदारक घटनाको दोषी पता लगाई कडा कारबाही गर्नुपर्छ ।
– राजेश विद्रोही, लहान, सिरहा

पाँचथरको हत्या सम्बन्धी समाचार सुन्दा–पढ्दा आङ नै सिरिङ्ग भयो । कल्पनै गर्नै नसकिने निकै दुःखदायी उक्त घटनाले पुरै देशलाई मर्माहत बनाएको छ । देश शोकमा डुबेको छ । नेपाली समाजमा चिन्ता र त्रास थपेको छ । अनेक शङ्का–उपशङ्काहरू फैलिएको छ । देशमा शिक्षाको स्तर बढ्दै गएको भनिए पनि समाजमा यस्ता खाले डरलाग्दा विकृति, विसंगतिका घटनाहरू बढ्दैछन् । लुटपाट, बलात्कार, हत्या, हिंसाको भयावह स्थिति देखापर्दैछ । मानिसहरूले क्रूरताको हद पार गर्दैछन् । दानवीय प्रवृत्ति हावी हुँदैछ । भावनामा बहकिने विक्षिप्तहरूको जमात बढ्दो छ । समाजमा हिजोआज विचलन बढ्दै गएको देखिन्छ । माया, प्रेम, मोह, लोभ, इर्ष्या, काम, क्रोधजस्ता संवेगहरूलाई आवश्यक नियन्त्रणमा राखिनुपर्ने हो, तर नियन्त्रण गुमाएर बरालिँदैछ, समाज ।


पाँचथर हत्याकाण्ड अति नै हिंस्रक घटना हो । यसको शब्दमा जतिसुकै र निन्दा र घृणा गरे पनि कमै हुन्छ । मानसिक सन्तुलन गुमाएका मान्छेबाट मात्रै यस्तो घटना हुनसक्छ । दुनियाँकै सबैभन्दा चेतनशील प्राणी भएर पनि यो हदसम्मको कुकृत्य मानिसले गर्न सक्छ ? हाम्रो समाज हिजोआज कता जाँदैछ ? अपराधीले पनि आत्महत्या गरेको हो भने यो घटना कता जानेछ ? यसले समाजमा कस्तो खाले सन्देश प्रवाह गरिरहेको छ ? पक्कै पनि यस घटनाले प्रशासन र सरकार, मनोविद र हरेक नेपालीलाई गम्भीरतार्पूवक सोच्न बाध्य पारेको हुनुपर्छ ।


सुरक्षा निकायको प्रारम्भिक अनुसन्धानले घटनास्थल २५ किलोमिटर टाढा झुन्डिएको अवस्थामा फेला परेका मानबहादुरले घटना घटाएको अनुमान गरेको छ । उनी मात्रै यस घटनाका दोषी हुन् वा उनको साथमा अरु पनि कोही थिए वा अरु कसैले यस घटना घटायो भन्नेबारे सत्य–तथ्य बाहिर आएको छैन । यस्तो जघन्य अपराधको अनुसन्धान त्यो शवसँंगै कदापि बन्द हुनुहुँदैन । घटनाको सम्पूर्ण तहको छानबिन हुनैपर्छ ।
– सन्तोष सिम्खडा,भीमसेन थापा गापा–२, गोर्खा

प्रकाशित : जेष्ठ ९, २०७६ १०:१२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT