कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संकटमा चलचित्र घर

दुर्गालाल केसी

दाङ — चलचित्र हल (घर) को अवस्था सुधार हुन नसक्दा दर्शक घट्दै गएको कलाकार, निर्माता र समीक्षकले गुनासो गरेका छन् । चलचित्र निर्माणमा लगानी ५० हजारबाट डेढ करोड रुपैयाँ पुगेको छ । चलचित्र प्रदर्शन हुने हलको अवस्था ४० वर्षअघिकै रहेको उनीहरूले बताएका छन् ।

चलचित्र पत्रकार संघले तुलसीपुरमा आयोजना गरेको ‘दाङका चलचित्र हलको अवस्था, व्यवस्थापन र चुनौती’ विषयक छलफलमा सहभागीले सुधार नगर्दासम्म दर्शक बढ्न नसक्ने धारणा व्यक्त गरे ।


उनीहरूले हलका सिटमा कपडा च्यातिने, चुइगम टाँसिएको भेटिने, दर्शकलाई राम्रो व्यवहार नहुने, परिवारसहित बसेर हेर्न नमिल्ने, गर्मीले बस्न कठिन हुने जस्ता समस्या रहेको गुनासो गरे । हलमा पस्दा कुखुरा या सुँगुरको खोरमा गएजस्तो महसुस हुने गरेको चलचित्र निर्माता सन्दीप भुसालले बताए । ‘हलमा गएजस्तो महसुस हुन सक्दैन, जथाभावी सामान राखिएको छ, छेउमा बाख्रा, कुखुरा पालिएका छन्,’ उनले भने,‘वर्षौं पुराना सिट छन् । परिवारसँग बस्ने वातावरण हुँदैन, अनावश्यक होहल्ला र बबाल हुन्छ ।’


चलचित्रमाथिको लगानी र उत्पादनको प्रविधि धेरै अघि बढिसक्दा पनि हलको अवस्थामा केही सुधार नभएको कलाकार कमल गाउँलेले बताए । ‘चलचित्र क्षेत्रले धेरै फड्को मारिसक्यो । लगानी, प्रविधि र विषयवस्तुमा धेरै परिवर्तन आइसकेको छ,’ उनले भने, ‘तर हलहरू ४० वर्षअघि जस्तो बनेका थिए, अहिले पनि उस्तै छन् ।सिट पनि फेरिएका छैनन् ।’ राम्रो हल नहुँदा दर्शक घट्दै गएको चलचित्र निर्माता तथा कलाकार मनोज लामिछानेले बताए ।


‘हिजो हामीले ५० लाखमा चलचित्र तयार गर्थ्यौं अहिले डेढ करोड लाग्छ । समय धेरै अघि बढिसक्यो,’ उनले भने, ‘तर हलमा केही पनि लगानी छैन । वर्षौं पुरानो हलमा कामचलाउ काम भइरहेको छ । यो तरिकाले कसरी दर्शक आउँछन् ?’


हलको अवस्था सुधार नभएकै कारण जिल्लामा दर्शकहरू घट्दै गएको कलाकार तथा निर्माता मुनाल घिमिरेले बताए । ‘हिजो धेरै मानिस फुसको घरमा बस्थे, अहिले धेरै घर पक्की भइसके तर चलचित्र हलहरू फुसको घरजस्तै छन्,’ उनले भने,‘समयअनुसार परिमार्जन हुन नसके हलको भविष्य छैन । हलको स्तरवृद्धि गर्न र लगानी बढाउन व्यवसायी तयार हुनुपर्छ ।’


हलमा लाइट र आवाजको व्यवस्थासमेत राम्रो नभएको चलचित्र पत्रकार संघका जिल्ला अध्यक्ष ध्रुवराज न्यौपानेले बताए । ‘कतिपय फिल्म बीचमै छाडेर हिंड्नुपर्ने हुन्छ । न लाइट मिल्छ, न आवाज,’ उनले भने,‘व्यवस्थापनमा हल निकै कमजोर छन् । यसले दर्शक घटाउँदै लगेको छ ।’


अबस्था कसरी सुधार्ने भन्ने विषयमा हल सञ्चालकसँग छलफल गर्न खोजे पनि चासो नदिइएको उनले गुनासो गरे । ‘हामीले सञ्चालकसँग बसेर छलफल र अन्तर्क्रिया गर्न खोजे पनि धेरैले चासो दिएका छैनन्,’ उनले भने, ‘हलको अवस्थामा सुधार गर्न नसक्दा जिल्लामा चलचित्रको प्रवर्द्धन हुनसक्ने देखिँदैन ।’


सञ्चालकले भने हलको अवस्थाका कारण दर्शक नघटेको दाबी गरे । दर्शक बढी पैसा तिर्न तयार नहुँदा हलहरू संकटमा पर्दै गएको विष्णु चलचित्र हल तुलसीपुरका प्रबन्धक रमेश पोख्रेलले बताए । ‘एक सय रुपैयाँको टिकट काट्न पनि मानिसहरू गाह्रो मान्छन् । एक सय रुपैयाँमा त एक छाक खान पुग्छ भन्छन्,’ उनले भने,‘मानिसहरू हलमा पैसा तिर्न तयार नहुँदा आर्थिक संकट बढेको छ ।’


पहिले दैनिक ५०/६० हजारको कारोबार हुने गरेकोमा अहिले १० हजार पनि गाह्रो भइरहेको पोख्रेलले बताए । ‘दिनदिनै दर्शक घटिरहेका छन् । दर्शक नै नआउने र आएकाले पनि पैसा तिर्न गाह्रो मान्ने भएकाले थप लगानी गर्न तयार भएका छैनौं,’ उनले भने,‘हामीले स्तरवृद्धिका लागि लगानी गर्ने प्रयास पनि गरेका हौं तर दर्शक आउने अवस्था नदेखेर पछि हटेका छौं ।’


घोराहीमा एसी सुविधासहितको मनकाशी हल सञ्चालनमा आए पनि दर्शक सुविधाअनुसार पैसा तिर्न तयार नभएको उनले बताए । ‘सेवा सुविधाअनुसार दर्शकहरू पैसा तिर्न तयार नभएपछि कसरी लगानी गर्नु ?’ उनले भने,‘एसी हलहरू पनि राम्रोसँग नचलेपछि सबै लगानी गर्न डराइरहेका छन् ।’


अहिले घोराहीमा चार, तुलसीपुरमा दुई, नारायणपुरमा एक, लमहीमा एक र भालुबाङमा एक चलचित्र हल सञ्चालनमा छन् । लमहीमा दुई, घोराहीमा एक र गढवामा एक हल बन्द भइसकेका छन् ।

प्रकाशित : जेष्ठ १०, २०७६ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?