३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

शिक्षक एक, विद्यार्थी शून्य

विद्यालयलाई गुणस्तरीय बनाउन अंग्रेजी माध्यमबाट पढाइसमेत सुरू गरियो तर कुनै प्रभाव भएन
मधु शाही

बाँके — शिक्षक जगदीश रोका बिहानै विद्यालय आउँछन् । १० बजेसम्म बस्छन् र हाजिरी गरेर घर फर्किन्छन् । यहीँ उनको दैनिकी हो । डुडुवा गाउँपालिका–५ नुना पूर्वास्थित श्री जनता कल्याण प्राथमिक विद्यालयमा १ जना शिक्षक छन् ।

उनले पढाउने विद्यार्थी संख्या शून्य छ । चालु शैक्षिक सत्रमा २ दिन घरदैलो भर्ना अभियान सञ्चालन गर्दा पनि विद्यार्थी नआएको उनले बताए । त्यसैले सबै कक्षाकोठामा ताला लागेका छन् ।


दुईवटा कोठामा भने वडा कार्यालय सञ्चालन गरिएको छ । यसभन्दा एक सय मिटर दूरीमा दुई निजी विद्यालय सञ्चालन गरिएका छन् । त्यहाँ विद्यार्थीको चाप थेगी नसक्नु छ । वडाभरि ५ निजी विद्यालय, दुई मावि र १ प्रावि विद्यालय छन् ।


निजीप्रति अभिभावकको अभिरुचि बढेकाले सामुदायिकमा विद्यार्थी संख्या शून्य भएको शिक्षक रोकाले बताए । गत वैशाख १ गते प्रधानाध्यापक (प्रअ) शंकर सिंहको अवकाश भएपछि रोका नै निमित्त प्रअ बनेका छन् । एक जना अस्थायी शिक्षक लोकसेवामा अनुत्तीर्ण भएपछि अवकाश भए ।


कार्यालय सहयोगी र एक जना शिक्षक छन् । उनीहरू विद्यालयमा हाजिर गर्न मात्र आउँछन् । गत वर्ष विद्यालयमा बालविकास कक्षासहित २५ जना भर्ना भएका थिए । जम्मा १० जनाले परीक्षा दिएका थिए । अहिले ती बालबालिका निजीमा भर्ना भएको शिक्षक रोकाले बताए ।


उनका अनुसार सामुदायिकमा कक्षा ३ मा पढ्ने विद्यार्थी बोर्डिङ स्कुलमा गएर यूकेजीमा भर्ना भएका छन् । विद्यालयलाई गुणस्तरीय बनाउन अंग्रेजी माध्यमबाट पढाइसमेत सुरु गरियो । तर, प्रभाव भएन ।


विद्यालयको समस्या वडाध्यक्षसहित गाउँपालिकाको शिक्षा शाखामा गएर राखे पनि सुनुवाइ नहुँदा शिक्षक र कार्यालय सहयोगी अन्योलमा परेका छन् । ०३४ मा स्थापना भएको विद्यालय पुरानो हो । विद्यालय खुल्दा व्यवस्थापन समिति अध्यक्ष भएका नरबहादुर बोहराले उतिबेला २ सय ५० भन्दा भन्दा बढी विद्यार्थी संख्या रहेको सम्झना गरे ।


उनको घर अगाडि विद्यालय छ । उनका नानी–नातिना निजीमै पढ्न रुचाउँछन् । ‘कस्तो स्कुल थियो, कस्तो भन्यो,’ उनले भने, ‘मन खिन्न हुन्छ ।’ ४ वर्षअघि विद्यालय व्यवस्थापक समितिका अध्यक्ष रहेका पदमसिंह बोहरा यस्तो हुनुमा शिक्षा नीतिलाई दोष दिन्छन् ।


पहिले विद्यालय व्यवस्थापक समितिको अध्यक्ष हुन आफ्ना छोराछोरी सामुदायिकमा पढाउनुपर्ने नियम थियो । अहिले सामुदायिक शिक्षकले नै निजीमा छोराछोरी पढाउने गरेको उनले बताए । ‘हामी जान्ने, बुझ्ने अभिभावक नै निजीमा आफ्ना सन्तान पढ्न पठाउँछौं,’ उनले भने, ‘अरू सर्वसाधारण कसरी प्रभावित हुन्छन् ।’


वर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुमबहादुर बुढाथोकीले धेरै पटक प्रयास गर्दा पनि जनतामा सामुदायिक विद्यालयप्रति आकर्षण बढाउन नसकिएको बताए । विद्यालय समायोजन नहुँदा कार्यालय सहयोगीलाई तलबसमेत खुवाउन कठिन भएको उनले सुनाए ।


कार्यालय सहयोगी उमा बुढाथोकीलाई मासिक ४ हजार ५ सय रुपैयाँ सरकारी तलबमा विद्यालयले १ हजार ५ सय रुपैयाँ थप दिने गरेको छ । शिक्षकले दिनभरि खाली कोठा हेरेर दिन बिताउँदा व्यवस्थापक समितिसमेत चिन्तित छ । उनका अनुसार गाउँपालिकालाई पटक पटक सूचना दिएको र समस्याको टुंगो लगाउन भनिरहेको बताए । ‘तर, कुनै ठोस निर्णय आएको छैन,’ उनले भने, ‘छिट्टै टुंगो लागे हुन्थ्यो ।’


वडाध्यक्ष परशुराम बुढाथोकीका अनुसार शिक्षा समितिको बैठक बसेर विद्यालय समायोजन गर्नुपर्ने बताए । ‘सामुदायिक विद्यालय जोगाउन नसक्दा दुःख लागेको छ,’ उनले भने, ‘यो हाम्रो शिक्षिक चुनौती हो ।’

प्रकाशित : जेष्ठ १०, २०७६ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?