कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

घरमै उपचार

माधव अर्याल

पाल्पा — पूर्वखोला गाउँपालिका–२, जल्पा दद्राकी एक सय वर्षीया चन्द्रकला न्यौपाने छोरीसँग बस्छिन् । केही वर्षअघिसम्म एक्लै बस्ने उनी पछिल्लो समय कमजोर भएपछि छोरीको सहारामा पुगेकी हुन् ।

घरमै उपचार

उपचारका लागि उनी स्वास्थ्यचौकी र अन्य अस्पताल गएकी थिइनन् । ढाड, ग्यास्ट्रिक, कानको पुरानै बिराम भए पनि उपचार पाइनन् । अहिले घरमै उपचार पाउँदा न्यौपानेको खुसीको सीमा रहेन । पूर्वखोला गाउँपालिकाबाट खटिएका स्वास्थ्यकर्मीले घरमा पुगेर उपचार गर्दा उनले हर्षको आँसु बगाइन् । ‘मलाई घरमै भगवान् आएको अनुभव भयो,’ उनले भनिन्, ‘घर–घरमा जाँच्न आउने डाक्टर साहेबको पनि फलिफाप हुनेछ ।’


जल्पाकै ८१ वर्षीय भूपाल ठाडा मगरका पनि ४ छोरा छन् । तर बृद्ध गाउँमा एक्लै बस्छन् । उनले अहिलेसम्म एलोपेथिक औषधि प्रयोग गरेका थिएनन् । घरमा जडीबुटी खाने र बस्ने उनलाई जटिल रोग पनि छैन । ‘अहिलेसम्म औषधि खानुपरेको छैन,’ उनले भने, ‘यसरी घरघरमा उपचार गर्न आउँदा भने खुसी लागेको छ ।’


उनका छोरा जिल्ला बाहिर बस्छन् । बुढेसकालमा रेखदेख गर्ने कोही छैन । गाउँपालिकाले यसरी ज्येष्ठ नागरिकको उपचारका लागि घरघरमै पुग्ने नीति गत वर्षदेखि लिएको हो । स्वास्थ्यकर्मी घरमै पुग्न थालेपछि न्यौपाने र ठाडा जस्ता धेरैले सुविधा पाएका छन् । वर्षमा दुई पटक ८० वर्ष उमेर पार गरेका व्यक्तिको उपचार गर्ने घोषणाअनुसार जेठ पहिलो साताबाट स्वास्थ्यकर्मी खटिएका छन् ।


गाउँपालिकाले ६ वटै वडाका २ सय ५० भन्दा बढी ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा दिएको छ । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख श्रीराज आचार्यका अनुसार गाउँपालिकाको नीतिअनुसार स्वास्थ्य परीक्षण सुरु गरिएको हो । यसमा दुई/तीन टोली बनेर स्वास्थ्य उपचार गरिन्छ ।


सामान्यतयाः रक्तचाप जाँच गर्ने, सम्बन्धित स्थानमै सुगरका बिरामी चेक गर्ने, कतिपयलाई औषधि दिने र सामान्य उपचार गर्ने गरिएको उनले बताए । उमेरले समेत पाका भइसकेका ज्येष्ठ नागरिकलाई उनीहरूका घरमै पुगेर स्वास्थ्य सेवा दिँदा धेरै खुसी मानेको गाउँपालिका प्रमुख नुनबहादुर थापाले बताए ।


‘हरेक वर्ष ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाइएको छ,’ उनले भने, ‘अघिल्लो वर्ष प्रभावकारी भएकाले यसलाई निरन्तरता दिइएको छ ।’ ज्येष्ठ नागरिक सामान्य उपचारका लागि स्वास्थ्य संस्थासम्म पुग्न मन पराउँदैनन् । त्यसैले पनि ज्येष्ठ नागरिक खुसी भएको प्रतिक्रिया आएको उनले बताए ।


भौगोलिक विकटताका कारण कतिपयले उपचारसमेत नगरी बसेका छन् । स्वास्थ्य संस्था हिंडेर जान धेरै समय हिंड्नुपर्ने र उपचार सेवा राम्रो पाइँदैन भन्ने भ्रम रहेको छ । जसले गर्दा घरघरमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्दा ज्येष्ठ नागरिक खुसी भएका छन् ।


गाउँपालिकाका सूचना अधिकारी मोहन ढकालका अनुसार पहिलो पटक प्रत्येक ६ महिनामा घरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने निर्णयको कार्यान्वयन प्रभावकारी भएको गाउँपालिकाका सूचना अधिकारी मोहन ढकालले बताए । ‘अघिल्लो वर्षको प्रभावकारिताबाट राम्रो पृष्ठपोषण आएको छ,’ उनले भने, ‘त्यसैले पुनः सुरु गरिएको छ ।’


ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणमा ६ वडाका सबै स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।

प्रभावकारी होस् भनेर फरक वडामा रहेका स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई परिचालन गरिएको छ । दैनिक भ्रमण भत्ता प्रोत्साहन स्वरूप दिएर स्वास्थ्यकर्मीलाई खटाइएको छ ।


स्वास्थ्यकर्मीले स्वास्थ्य परीक्षणका साथै निःशुल्क औषधि प्रदान गर्छन् । घरमै उपचार हुन नसक्नेहरूलाई रिफरको पनि सुविधा दिइएको गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ । औषधि खरिद, उपकरण, प्रोत्साहन भत्ताका लागि ३ लाख ५० हजार रुपैयाँ गाउँपालिकाले विनियोजन गरेको छ ।


सूचना अधिकारी ढकालका अनुसार ज्येष्ठ नागरिकमा उमेरसँगै रोगले पनि चाप्ने गरेको र टाढा रहेका स्वास्थ्य संस्थासम्म उपचारका लागि जानसमेत नसक्ने भएकाले यो अभियान प्रभावकारी भएको हो । अभियानका क्रममा आर्थिक अवस्था कमजोर भएका परिवारका ज्येष्ठ नागरिकले बढी फाइदा लिएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित : जेष्ठ १०, २०७६ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?