१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

व्यक्तिको नाममा दर्ता गाउँ फिर्ता भएन

नवीन पौडेल

परासी — पश्चिम नवलपरासीको पाल्हीनन्दन–६, सनहीमा व्यक्तिका नाममा दर्ता भएको बस्ती फिर्ता भएको छैन । चार महिनाअघि बस्ती व्यक्तिका नाममा दर्ता भएको पत्ता लागेको हो । 

जिल्लादेखि केन्द्रसम्म धाउँदा पनि न्याय नपाएको स्थानीयले गुनासो गरेका छन् । कागजपत्र जुटाएर जिल्ला प्रशासन, नापी, मालपोत र भूमि सुधार मन्त्रालयमा डेलिगेसन गए पनि पहल नभएको भन्दै स्थानीयले अदालतमा जान लागेका छन् ।


बसोवास र भोगचलनका आधारमा लालपुर्जा पाउनुपर्ने माग पाल्हीनन्दन–६, सनही गाउँका बासिन्दाले गरेका छन् । स्थानीयले नापी, मालपोत, जिल्ला प्रशासन कार्यालय र भूमिसुधार मन्त्रालयमा हस्ताक्षर र गाउँ ब्लक पुर्जासहित निवेदन दिएका छन् । स्थानीय ८९ घर–परिवारले वर्षौंदेखि भोगचलन गर्दै आएको जग्गा अहिले स्थानीय भोनु थारुका नाममा दर्ता भएको पाइएको छ ।


गाउँ ब्लक पुर्जाधनीलाई सरकारले लालपुर्जा वितरण गर्न नाप नक्सा गरेको थियो । कित्ताकाट गर्न नापी कार्यालयमा कागजात आएपछि कित्ता नम्बर ३३५ मा २ बिघा १० कट्ठा ५ धुर जग्गामा रहेको बस्ती पहिले नै व्यक्तिका नाममा दर्ता देखिएको थियो ।


पूर्वगाविस अध्यक्ष राजेन्द्र सहानीका अनुसार गाउँ व्यक्तिका नाममा दर्ता हुँदा पनि सरकारले अहिलेसम्म रद्द गर्न पहल नगरेको बताए । ‘हामीसँग गाउँ ब्लक पुर्जा छ । बसोबास गरेको प्रमाण हुँदा पनि रद्द गर्नेतर्फ अहिलेसम्म ठोस पहल गरेको पाइएन,’ उनले भने, ‘अहिले प्रक्रिया मिलाएर गाउँपालिकादेखि केन्द्रसम्म प्रमाणसहित निवेदन पेस गरेका छौं ।’


०२४ सालमा नापी गर्ने कर्मचारीको मिलेमतोमा यसरी व्यक्तिका नाममा दर्ता गरिएको उनले बताए । ‘भूमिसुधार मन्त्रालयले निर्णय गर्न नसके अब हामी अदालत जान्छौं,’ उनले भने । नापी कार्यालयमा थारुका नाममा फिल्डबुक भए पनि तत्कालीन गाउँ पन्चायतले ०४३/०४४ सालमा स्थानीयलाई गाउँब्लकको जग्गा पुर्जा प्रदान गरेको थियो । सोही अनुसार बेचबिखन र भोगचलन गर्दै आएका छन् । नापी कार्यालयमा दाखिला भएका व्यक्तिको मृत्यु भइसकेको छ ।


गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताले कागजपत्रसहित केन्द्रमा पक्राचार र व्यत्तिगत रूपमा पनि स्थानीय समुदायको न्यायका लागि पहल गरिरहेको बताए । ‘गाउँ नै यसरी व्यक्तिका नाममा दर्ता भएको फिल्डबुकमा देखिनुले यसअघि बेइमानी भएको स्पष्ट हुन्छ,’ उनले भने, ‘कानुनी बाधा हटाएर मन्त्रिपरिषद्स्तरीय निर्णय गराएर भए पनि अहिलेको फिल्डबुक रद्द गरेर नयाँ कायम गरिनेछ । तर, केही समय लाग्न सक्छ ।’


नापी कार्यालय प्रमुख सुग्रिम यादवले स्थानीय र गाउँपालिकाको निवेदनअनुसार स्थलगत निरीक्षण र नाप नक्सा गरेर फाइल तयारी गरेर विभागमा पठाएकाले केन्द्रबाट छिनोफानो हुने बताए ।

प्रकाशित : जेष्ठ १०, २०७६ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?